पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावः यस्तो आयो प्रारम्भिक प्रतिवेदन

Advertisement

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अध्ययन शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रभावका विषयमा अध्ययन शुरु गरेको दुई सातापछि प्रारम्भिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा कूल गार्हस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सीमित भएको थियो । यसैगरी आव २०७२÷७३ मा आर्थिक वृद्धिदर इतिहासमै न्यून अर्थात् ०.२० प्रतिशत भएको थियो । भूकम्पले ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो । जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको थियो । भूकम्पपछिको पुनःनिर्माणका गतिविधिबाट आर्थिक वृद्धिमा सकारात्मक योगदान रहेको देखाएको प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अध्ययनले पुनःनिर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको देखाए पनि यसलाई थप अनुसन्धान गरेर हेर्नुपर्ने बताए । “निजी आवास पुनःनिर्माणका लागि स्थानीयस्तरमा ६ लाखसम्म कामदार लागेका छन्, पुनःनिर्माणमा करीब रु ६०० अर्ब खर्च निजी क्षेत्रबाट भएको छ, यसले अर्थतन्त्र चलायमान भएको छ”–उनले भने ।

भूकम्पपछि लगत्तै पुनःनिर्माण शुरु गर्ने क्रममा दातृ निकायबाट प्रि–फ्याब भवन बनाउन आएको दबाब स्वीकार नगर्दा राम्रो गरिएछ भन्ने अहिले आएर अझ बढी महसुस भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए । पछिल्लो समय सांस्कृतिक सम्पदा पुनःनिर्माणले गति लिँदा भक्तपुर, पाटनलगायत सम्पदास्थलमा पर्यटकको सङ्ख्या बढेको उनले बताए ।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले पुनःनिर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको भन्ने विषयमा थप गहिराइसम्म गएर अध्ययन हुनुपर्ने बताए । “निजी क्षेत्रले पुनःनिर्माणमा कति खर्च गरे भन्ने खोजी हुनुपर्छ, पुनःनिर्माणले तल्लो तहका विपन्न नागरिकसम्म आर्थिक सामाजिक गतिविधि बढाएको छ, जुनसुकै संरचना भूकम्प प्रतिरोधी बनाउनुपर्छ भन्ने जागरण फैलिएको छ”,उनले भने । पूर्वाधार, स्वास्थ्यलगायत क्षेत्रमा पुनःनिर्माणले पारेको प्रभावका बारेमा अझै सूक्ष्म तरिकाले अध्ययन गर्न पनि पोखरेलले सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा गोविन्द नेपालले हाल पुनःनिर्माणमा रोजगारी पाइरहेकाहरुले काम सम्पन्न भएपछि के गर्छन् भन्ने विषयलाई अहिलेदेखि नै विचार पुर्याउनुपर्नेमा उनको जोड थियो । भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अध्ययन गर्नुभएका डा निर्मलकुमार राउतले १४ लाख २० हजार मानिसले पुनःनिर्माणका क्रममा रोजगारी पाएको तथ्याङ्क प्रस्तुत गरे ।

हाल रोजगारीको सात प्रतिशत पुनःनिर्माणमै रहेको तथ्य प्रारम्भिक अध्ययनका क्रममा भेटिएको पनि उनले सुनाए । कार्यक्रममा प्राधिकरणका कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठ, विष्णु भण्डारी, ध्रुवप्रसाद शर्मा, सेजनका अध्यक्ष भीम गौतमलगायतले गरीबी निवारणलगायत विविध क्षेत्रमा पुनःनिर्माणले पारेको प्रभावका बारेमा विस्तृत अध्ययन गर्दा समावेश गरिने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा थप अध्ययनका लागि प्राधिकरणले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइएको थियो ।

Advertisement

Advertisement