स्वदेश फर्किन हतारिनेको संख्या लाखौं, सरकारले तोकेको कोटा जम्मा दैनिक पाँच मात्रै

Advertisement

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका लाखौँ नेपाली आफ्नै खर्चमा समेत स्वदेश फर्कन पाएका छैनन् । खर्च नहुने नेपालीको अवस्था त झन् दयनीय छ । तर, सरकारले १६ भदौदेखि नियमित उडान खोल्ने भने पनि ५ सयजनाको कोटा निर्धारण गरेको छ । उडानको तालिका र व्यवस्थापन मिलाउने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ । तर, दैनिक ५ सय यात्रु मात्रै ल्याउन पाउने कोटा तोकिएका कारण कुन एयरलाइन्सलाई कसरी व्यवस्थापन गर्ने भन्नेमै मन्त्रालय अलमलमा परेको छ ।

हालसम्म सरकारले ३ सय २८ उडानमार्फत झन्डै ५३ हजार नेपालीलाई उद्धार उडानमार्फत स्वदेश फर्काइसकेको छ । तर, अझै पनि मध्यपूर्वमा मात्रै १ लाख नेपाली उद्धारको प्रतीक्षामा रहेको गैरआवासीय नेपाली संघले जनाएको छ । सरकारको पछिल्लो निर्णयले मध्यपूर्वका १ लाख नेपाली ल्याउन मात्रै दैनिक ५ सयका दरले २ सय दिन लाग्ने देखिएको छ । यसअघि ३२ जेठदेखि गरिएको उद्धार उडानमा दैनिक १२ सयदेखि २ हजारसम्म यात्रु एयरलाइन्स कम्पनीहरूले ल्याएका थिए । 

Advertisement

परराष्ट्र मन्त्रालयले २ लाख १० हजार ८ सय ७१ जनालाई तत्काल उद्धार गर्नुपर्ने र त्यसबाहेक ३ लाख ७७ हजारजना नेपाली विदेशबाट आउन चाहेको तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ६ लाख श्रमिक नेपाल फर्कन चाहेको तथ्यांक दिएको छ । वैदेशिक रोजगार विभागले ८ लाख ९० हजार श्रमिकसहित १५ लाख ९० हजार नेपाली कोभिड–१९ का कारण फर्कने अनुमान गरेको छ । 

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement