विकास गर्न छोडेर ब्याज खाँदै काठमाडौं महानगरपालिका

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर नौ प्रतिशत ब्याज उठाइरहेको छ । 

महानगरको विकास खर्च स्थिति दयनीय छ । चालू आर्थिक वर्ष ०७७–७८ का लागि १६ अर्ब ४२ करोड बजेट छुट्याएको महानगरले विकासतर्फ (पुँजीगत बजेट) नौ अर्ब ६ करोड ४७ लाख विनियोजन गरेको थियो । तर, ६ महिनामा ६९ करोड ६२ लाख अर्थात् ७.६९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विकासतर्फ कामै गर्न नसकेपछि महानगरले आर्थिक स्रोतबाट ब्याज उठाउने रणनीति लिएको छ । यही क्रममा नबिल बैंकमा एक अर्ब रुपियाँ राखिएको छ ।

Advertisement

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पर्याप्त तरलता भएपछि ब्याज आर्जन हुने गरी रकम मुद्दतीमा राखिएको बताए । ‘यसरी राख्दा नौ प्रतिशत ब्याज आउँछ,’ उनले भने । महानगरपालिकाको राजस्व विभागका अनुसार हाल महानगरसँग आठ अर्ब तरलता छ, जसमध्ये एक अर्ब मुद्दती र बाँकी सात अर्ब विभिन्न कोषमा छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement