काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक प्रयोग गरी राजश्व छलि गरेको भन्दै राजश्व अनुसन्धान विभागले अभिनाश इन्टरनेशनल प्रालिका सञ्चालक प्रविन्द्र शाह गोडलगायत विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । प्रविन्द्र पर्सा बेलवा– ५ का हुन् ।
उनीहरूबाट पाँच करोड २९ लाख ८५ हजार १२९ रुपियाँ विगो असुल गरी जरिवाना र कैद गर्दै मुद्दा दायर गरिएको हो । प्रविन्द्र र अभिनास इन्टरनेशनलका अर्का खाता सञ्चालक मोहमद जाबिर अन्सारीसमेतले मालवस्तु स्थानीय खदरीद तथा आयात नगरी, झुट्टा खरीद देखाई विभिन्न फर्मलाई बिक्री बिजक जारी गरी उक्त कम्पनीहरूबाट भुक्तानी लिई सो बिजकबापत असुल भएको रकम सरकारी कोषमा दाखिला नगरेको विभागको भनाई छ ।
विभिन्न कम्पनीलाई नक्कली बिजक उपलब्ध गराई जालसाची गरेर भ्याट र आयकर छलेको भन्दै विभागले उनीहरूलाई राजश्व चुहावट ऐनअनुसार एक करोड ८९ लाख ४२ हजार ९३२ भ्याट, दुई करोड ९७ लाख १५ हजार ८३२ रुपियाँ आयकर र ४३ लाख २६ हजार ३६५ लाभांश करसमेत कुल जम्मा बिगो पाँच करोड २९ लाख ८५ हजार १२९ माग दावी हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरिएको जानकारी दिएको छ ।