बाणिज्य बैंक विश्लेषणः १० बाणिज्य बैंकले नाफा बढाउँदा दुई वटाको किन घट्यो ?

Advertisement

काठमाडौं । सत्ताइस बाणिज्य बैंकमध्ये वैशाख १४ गतेसम्म १२ वटा बाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७७–७८ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण सार्वजनिक गर्नेमध्ये १० बैंकको वित्तीय सूचक सकारात्मक देखिएको छ । 

बैंकहरूले खुद नाफालगायत सबै खालको वित्तीय सूचक गत वर्षको यसै अवधिको भन्दा यस त्रैमाससम्म बढाउन सफल भएका छन् । कोरोना भाइरस (कोभिड १९) महामारीको प्रतिकुल परिस्थितिका बीच पनि बैंकहरूको प्रगति सन्तोषजनक देखिन्छ । 

Advertisement

अघिल्लो आर्थिक बर्षको पहिलो नौ महिनाको तुलनामा यस आर्थिक बर्षको सोही अवधिमा बैंकहरूको प्रतिसेयर आम्दानी, रिजर्भ, नेटवर्थ लगायतका सूचक सुधार आएको छ । यता हिमालयन बैंक र एभरेष्ट बैंकको वित्तीय सूचक भने केही खस्किएको छ ।

कुन बैंकले कति नाफा कमायो ? 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यस बैंकको नाफा तीन अर्ब रुपियाँभन्दा माथि छ । तर, गत वर्षको यसै अवधिको भन्दा नाफा धेरै बृद्धि गर्ने बैंकमा कुमारी बैंक रहेको छ । यस बैंकले गत वर्षको तेस्रो त्रैमाससम्मको भन्दा ७८ दशमलव ५८ प्रतिशतले नाफा बढाएर एक अर्ब ८० करोड ८४ लाख रुपियाँ भन्दा धेरै नाफा आर्जन गरेको छ । यता, दुई बैंकको खुद नाफा भने घटेको छ ।

के कारण घट्यो दुई बैंकको नाफा ? 
नौ महिनाको वित्तीय विवरणमा हिमालयन र एभरेष्ट बैंकको नाफामा भारी गिरावट देखिएको छ । यी बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । यसकारण पनि यी बैंकहरुको नाफा लगायत अन्य सूचक पनि खस्केको छ । हिमालयन बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब २८ करोड ७१ लाख ५७ रुपियाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ४५ प्रतिशत कम हो ।

समीक्षा अवधिसम्ममा हिमालयनको खुद ब्याज आम्दानी २९ दशमलव ४५ प्रतिशत घटेको छ । त्यसैगरी, खुद फि तथा कमिशन आम्दानी चार दशमलव ७४ प्रतिशत र सञ्चालन मुनाफा ३९ दशमलव ०८ प्रतिशत घटेको छ । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७६ लाख रुपियाँ रहेको छ । 

यता एभरेष्ट बैंकको खुद नाफा चैत मसान्तसम्ममा एक अर्ब ५० करोड ७४ लाख रुपियाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९३ प्रतिशत कम हो । खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । 

समीक्षा अवधिमा एभरेष्टको खुद ब्याज आम्दानी ३५ दशमलव २५ प्रतिशत घटेको छ । त्यसैगरी, खुद फि तथा कमिशन आम्दानी २८ दशमलव ०६ प्रतिशत र सञ्चालन मुनाफा ३५ दशमलव ९३ प्रतिशत घटेको छ । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब छ करोड ५३ लाख रुपियाँ छ । 

कृषि विकास बैंकले नाफा गरे पनि उसको नाफा नगन्य मात्रै रहेको छ । नौ महिनामा उसको नाफा दुई अर्ब सात करोड रुपियाँ मात्रै छ जुन अघिल्लो बर्षको तुलनामा एक दशमलव २९ प्रतिशत मात्रै बढि हो । 

Advertisement

Advertisement