इन्धनको मूल्यवृद्धि फिर्ता हुँदैन्ः निगमका प्रवक्ता, बीस बर्षदेखि बोनस खान नपाएको गुनासो

Advertisement

काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । रिेपोर्टर्स क्लबमा शुक्रबार उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताए । 

उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताएका हुन् । उनले भने, ‘समायोजना भन्नुहोस वा अरु केही भन्नुहोस, तर यो मूल्यवृद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन् ।’ उपाध्यायले पछिल्लो चार–पाँच वर्षको मूल्य हेर्दा पेट्रोलियम पदार्थको मात्रै मूल्यवृद्धि बढेको हो र ? भन्दै प्रश्न उठाए । आम उपभोक्तासँग जोडिएका अन्य वस्तुमा पनि मूल्यवृद्धि भएको उनको तर्क छ । 

Advertisement

उपाध्यायले भने, ‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजन नै भन्छौं, अनि घट्दा पनि समायोजन नै भन्छौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो । यो पूर्णरुपले अन्य मूलुकमा निर्भर हुने विषय हो । अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूची प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौं । सरकारको सम्बन्धित निकायले विश्लेषण गरेको हुन्छ । लेखापरीक्षणको रिपोर्टमा हाम्रो वार्षिक प्रतिवेदन आउँछ । हामीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नको लागि साधारणसभा आह्वान गर्दै आएका छौं । गत पुसमा हामीले साधारणसभा गरेका थियौं ।’

उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको दावी गरे । उपाध्याय पोडियममा बोल्दै गर्दा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता हुन्छ कि हुँदैन् ? ठ्याक्कै भन्नुहोस भनेर सोधेका थिए । सिटौला आक्रामक रुपमा प्रस्तुत भएपछि उपाध्यायले लोकतन्त्रमा सबैको बोल्ने अधिकार हुन्छ भन्दै सिटौला बोल्दै गर्दा आफूले धैर्यतापूवर्क सुनेको र  अब आफ्नो बोल्ने पालोमा पनि शान्त भईदिन आग्रह गरेका थिए । 

उपाध्यायलये थपे, ‘अहिलेसम्मको अवस्था हेर्दा मूल्यवृद्धि फिर्ता हुँदैन् । सरकारले त यातायातको भाडा वृद्धि गरेको छ । अब निगमले मूल्यवृद्धि फिर्ता गर्ने या नगर्ने भन्ने कुरा होईन । यो सरकारको रिलेटेड कुरा हो । पेट्रोलियम पदार्थमा नाफारहित मूल्य हुनुपर्छ । यो कुरा त हामी पनि भन्छौं । राज्यको पूर्ण स्वामित्व भएको संस्था हो– आयल निगम । पाईपलाईन आउँदा २ रुपियाँ घटाएका थियौं । यो त सुधारको कार्यक्रम हो ।’ उनले आफूहरुले गत २० वर्षदेखि बोनस नखाएको पनि गुनासो पोखे ।

Advertisement

Advertisement