विप्लव नेकपाले यस पटक पनि सलमानको ‘दबंग द टुर’ कार्यक्रम आयोजना हुन नदिने

Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सलमान खानसहित भारतीय कलाकारहरुलाई ल्याउन दशरथ रंगशालामा आयोजना गर्न लागिएको कार्यक्रम यस पटक पनि आयोजना हुन नदिने स्पष्ट पारेको छ । 

उक्त पार्टीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले नेपालको कला, संस्कृतिलाई उपेक्षा गरी विदेशी संस्कृति लाद्ने नियतले कार्यक्रम गर्न लागिएको भन्दै यस पटक पनि कार्यक्रम आयोजना हुन नदिने बताएका छन् । 

Advertisement

उनले ‘श्रेष्ठ भारत’ नामक भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साँस्कृतिक अतिक्रमणको योजना विश्वभर लैजाने क्रममा सलमानको ‘दबंग द टुर’ कार्यक्रम नेपालमा पनि गर्न लागिएको तर्क गर्दै यस कार्यक्रमले नेपाली कलाकारलाई पनि उपेक्षा गरेकोले रोक्ने निर्णय भएको बताएका छन् । 

ओडीसी नामक संस्थाले यसअघि यो कार्यक्रम गर्न लागेकोमा विप्लव नेकपाकै चेतावनीका कारण रोक्किएको थियो । यस पटक जेठ १४ मा दशरथ रंगशालामा यो कार्यक्रम गर्न लागिएको छ । कार्यक्रममा एक दर्जन बलिउड कलाकार आउने जनाइएको छ । आयोजकले कोरोनापछि नेपालको अवस्था सामान्य भएको सन्देश दिन यो कार्यक्रम गर्न लागिएको जनाएको छ । 

खेम थपलियाको भनाईः

यो कार्यक्रम रोक्ने भन्ने नै छ हाम्रो । अहिले पार्टीको केन्द्रीय समिति बसिरहेको छ । त्यहाँ पनि यो विषयमा छलफल हुँदैछ । हामीले कुरा पुर्याएका छौं । हामीले व्यवस्थित तरिकाले आवाज पनि उठाउँदैछौं । यो कार्यक्रम त हुन दिइँदैन् हेर्नुस् । 

हुन नदिने दुई–तीन वटा कारण छन् । एउटा कारण चाहीं यो कार्यक्रमको अन्तरवस्तु गलत छ । तपाईंहरुले पनि थाहा पाउनुपर्ने कुरा के हो भने अमेरिकाले ‘अमेरिका फष्ट’ भन्छ । डोनाल्ड ट्रम्पले ल्याएको नारा । त्यो भनेको फाँसीवाद हो । भारतमा मोदी सरकारले ‘श्रेष्ठ भारत’ भनेका छन् । त्यो भनेको पनि फाँसीवाद हो । श्रेष्ठ भारत भन्ने अनि कवि वर्वर रावलगायत थुप्रैलाई जेलमा हालेको छ । दमन चर्को छ भारतमा । त्यही श्रेष्ठ भारतलाई समेट्ने गरी भारतीय केन्द्रीय सरकारले एउटा एउटा प्लान के बनायो भने ‘दबंग द टुर’ । विश्वभरी नै यो कार्यक्रम लैजाने । कार्यक्रममार्फत भारतीय कलाकारहरु श्रेष्ठ हुन् । भारतीय संस्कृति श्रेष्ठ हो भनेर यसको संरचना बनेको हो । यसले अरु कलाकार खत्तम हुन् । गतिला छैनन् । अरु देशको संस्कृति राम्रो छैन् भन्ने भावमा यो कार्यक्रम निर्माण भएको हुनाले, यसको अन्तरवस्तु नै गलत भएको हुनाले हामी विरोध गर्नु परेको हो । 

नेपालमा सबैभन्दा पहिला विरोध कस्ले गर्यो त ? हामीले नै गर्यौं । त्यति नेपाली सेनाले तालिम गर्ने टुंडिखेलमा रक्सीको विज्ञापन, रक्सीको विज्ञापन भएका गञ्जी हाम्रा छोराछोरी भाईबहिनीलाई लगाएर उफार्ने कुरा मान्य हुने कुरा नै भएन् । त्यो पनि २५ हजार रुपियाँसम्मको टिकट बिक्री गरेर । त्यो भएकाले राष्ट्रियताको सवालमा नेपाली सेना देशको सेनाले तालिम लिने ठाउँमा त्यो गर्ने कुरा हामीलाई स्वीकार्य थिएन् । त्यही भएर हामीले विरोध गर्यौं । र त्यो कार्यक्रम रोक्कियो । त्यो कुरा दक्षिण एशियामै चर्चाको विषय बनेको थियो सामाजिक सञ्जालमा । 

जुन प्रकृतिको कार्यक्रम बनाइएको थियो, त्यही प्रकृतिको कार्यक्रम अहिले ल्याउन खोजिएको रहेछ । अब हेर्नुस पाँच हजारदेखि २५ हजार रुपियाँसम्म टिकटको मूल्य छ । सरदर १५ हजार रुपियाँ राख्दा ३० हजारबाट ४५ करोड रुपियाँ हाम्रै जनताको पैसा संकलन हुन्छ । प्रायोजकहरुबाट समेत आउने विज्ञापनको पैसा हिसाव गर्दा ६० करोड रुपियाँभन्दा बढीको संकलन हुन्छ । त्योमध्ये अधिकांश पैसा उनीहरुले नै लिएर जाने हो । कलाकारहरुले मात्रै १४–१५ करोड लैजाने रहेछन् । फेरि प्रविधि र प्राविधिकहरु पनि उनीहरुले नै ल्याउने रहेछ । सलमानले नै पूरै हवाई जहाजमा सेटिङ भएको चिज ल्याउने रहेछ । यो सबै कुरा हेर्दा सबै पैसा उता जाने । 

हाम्रा नेपाली कलाकार कतिजना जोडिन्छन् ? हाम्रा जीवन शर्मा, भुवन केसी, राजेश हमाल, हाम्रा नायक नायिकाहरु, रेखा थापा जोडिन्छन् कि जोडिदैन् ? भन्दा जोडिदैन् । नेपाली संस्कृति केही होइन् । नेपाली कला केही होइन् । नेपाली कलाकार केही होइन् । यसरी दादागिरी गर्ने तरिकाले त कसरी मानिन्छ त । देश भुगोलमा सानो ठूलो हुनसक्छ । तर राष्ट्रियताको मानेमा सानो ठूलो हुनसक्दैन् । त्यो भएकाले हामी विरोध गछौं । हुन कुनै हालतमा दिँदैनौं । 

मैले पनि सुने नेपालमा पर्यटन प्रवर्द्धनको माहौल बनाउन यो कार्यक्रम गर्न लागिएको भनेर । सलमानलाई ल्याएपछि ह्वार्रर्र पर्यटक आएर डलर र भारु भर्दिन्छन् भन्ने कुरा भन्ने किसिमले कुरा गरेको सुनें । यो हाँस्यास्पद कुरा हो । बरु एउटा कुरा के हो भने जस्तो पहिला हामीले विरोध गरेपछि आयोजक ओडीसीका साथी सिमान्त (सिमान्त गुरुङ)सँग कुरा भइरहेको थियो हाम्रो । उनले भेटन् खोज्दा मैले नभेटेकै हो । दुई–तीन पटक उनले प्रयास गरेका हुन् । फोनमा मैले कुराकानी गरेको हो । तपाईंले कार्यक्रमको मोडल हेर्नुस् । भारतीय कलाकार सलमान त हाम्रा सबै प्रिय कलाकार हुन् । उनी नेपाल आउनु हामी सबैको खुशीको कुरा हो । हामी पनि भारत जान्छौं । हाम्रा नेपाली कलाकार संसारभरी पुग्नुहुन्छ । जहिले पनि सलमान खाललाई स्वागत नै गछौं नेपालमा । तर उनी जुन भूमिकाका साथ जुन उद्देश्यका साथ आउन खोजिरहनुभएको छ, त्यो गलत छ । त्यस कारण यो कार्यक्रमको फर्मेट परिवर्तन गर्नुपर्छ । परिवर्तन गरेर नेपाली कलाकारहरुलाई पनि जोड्नुपर्छ । नेपाली कलाकारले पनि उचित पारिश्रमिक पाउनुपर्छ । नेपाली कलाकारको पनि सम्मान हुनुपर्यो भन्ने कुरा हो हाम्रो । 

हामीलाई अहिलेसम्म विश्वास के छ भने आयोजक समझदार हुनुहुन्छ । पहिला पनि हाम्रो कुराकानी भएको हो । जबरजस्ती उहाँहरुले गर्नुहुनेछैन् । साँस्कृतिक कार्यक्रम जबरजस्ती गर्ने भन्ने कुरा नै हुन्न । त्यो उहाँहरुले बुझ्नुपर्छ । त्यो भएकाले सलमानको कार्यक्रम रंगशालामा हुने संभावना छैन् । दबंग द टुर जुन कार्यक्रम छ ओडीसीको व्यवस्थापनमा हुन लागेको, यो कार्यक्रमको पर्मेच परिवर्तन गर्नुभयो भने नेपाली कलाकारहरुलाई उचित पारिश्रमिकसहित सहभागी गराउने कुराको सुनिश्चितता गर्नुभयो भने विचार गर्न सकिन्छ । अहिलेकै मोडलमा यो कार्यक्रम हुने संभावना छैन् । भारतीय कला संस्कृतिलाई डोमिनेशन गर्ने र भारतीय साँस्कृतिक साम्राज्यवाद लाद्ने तरिकाको कार्यक्रम गर्न दिइन्न । बरु मर्न तयार भइन्छ । हामी नेपाली हो । अब हामी पार्टी केन्द्रीय समितिको बैठकलगत्तै साँस्कृतिक मोर्चाको बैठक बस्छौं । अरु सबै साँस्कृतिक घटकसँग छलफल गछौं । अन्तरक्रिया गछौं । के के गर्नुपर्छ गछौं । र सबै विधि अपनाएर त्यो कार्यक्रमलाई अहिलेकै रुपमा हुन दिँदैनौं । 

Advertisement

Advertisement