भारतीय नायकलाई भेट्न मन्त्री आले आफै सोल्टी होटल पुगे

Advertisement

काठमाडौं । बलिउड स्टार सलमान खानका भाई सोहेल खानले सर्वोच्च शिखर सगरमाथा हेरेर मात्रै स्वदेश फर्किने बताएका छन् । बलिउड अभिनेता तथा फिल्म निर्मातासमेत रहेका उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सगरमाथा हेर्ने आफ्नो इच्छा प्रकट गरेका हुन् । 

आउँदो जेठ १४ गते राजधानीको दशरथ रंगशालामा आयोजना हुने साँस्कृतिक प्रस्तुती ‘दबङ रिलोडेड टुर’मा भाग लिन आउने क्रममा उनले सगरमाथा अवलोकन गर्न जाने बताएका हुन् । उक्त कार्यक्रममा सलमान खानसहित एक दर्जन बलिउड कलाकार आउने आयोजकले यसअघि नै जानकारी दिएको थियो । 

Advertisement

सोहेलले भने, ‘मलाई नेपाल एकदमै राम्रो लाग्छ । सुन्दर छ। १०–१२ वर्षको उमेरको हुँदा स्कुल पढ्ने बेलामा म काठमाडौं आएका थिएँ । अहिले दोस्रो पटक आएको हो । त्यतिबेला एभरेष्ट देख्न पाइन। अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक सगरमाथा हेरेर मात्रै फर्कन्छु ।’ 

सोहेल खानलाई भेट्न पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आफै सोल्टी होटल पुगेका थिए । सलमान खान सहभागी हुने कन्सर्टको तयारीको सिलसिलामा नेपाल आएका सोहेललाई भेट्न आले आफ्नो पदीय तथा कुटनीतिक मर्यादाविपरित सोल्टी होटल पुगेका हुन् । त्यसरी पदीय मर्यादाविपरित सोल्टी पुग्नेमा अर्का पूर्वराज्यमन्त्री मोती दुगड पनि छन् । उनी भने पत्रकार सम्मेलनमा मञ्चमा नै बसेका थिए ।

सोहेलले मन्त्री आलेदेखि आफू निकै प्रभावित भएको बताए । उनले जेठ १३४ को कार्यक्रम हेर्न आउन सबैलाई आग्रह गर्दै कार्यक्रममा बालबालिका र महिलाको सुरक्षाको प्रवन्ध गर्न आग्रह पनि गरे । आयोजकले उक्त कार्यक्रम हेर्न टिकटको मूल्य ५ देखि २५ हजार रुपियाँसम्म कायम गरेर बिक्री गरिरहेको बताएको छ । ‘दबङ रिलोडेड टुर’ ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गर्न लागेको हो । 

सुरुमा नेपाली कलाकारको प्रस्तुती रहने जनाइएको सो कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुने र साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने बताइएको छ । नेपाल आएको बेला सलमान खान पर्वतीय उडानका लागि पनि जाने कार्यक्रम राखिएको छ । सोहेल आजै मुम्बई फर्किने आयोजकको भनाई छ । 

‘दबङ रिलोडेड टुर’ मा सलमानसँग कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेजलगायतका कलाकार आउने ओडीसीले जानकारी दिएको छ । कार्यक्रममा २५ देखि ३० हजार दर्शक हुने पनि सो कम्पनीको अनुमान छ । 

Advertisement

Advertisement