निजामती प्रशासनमा हार्दिकता र औपचारिकताको मिलन कहाँनेर छ ?

Advertisement

कुमार दाहाल
हार्दिकता हृदयमा पैदा हुन्छ । हार्दिकतामा उत्प्रेरणा, मनोबल, उत्तरदायित्व, जिम्मेवारी देखिन्छ।  हार्दिकताले प्रश्न गर्दैन् । उत्तरको खोजी गर्छ र नयाँपन देखाउँछ ।  हार्दिकतामा उत्सुक्ता, उच्च नैतिकता हुन्छ। औपचारिकता मस्तिष्कबाट सुरू हुन्छ र तर्कमा गएर टुंगिन्छ । औपचारिकताले नतिजामा पनि प्रश्न गर्छ । मस्तिस्कले उत्तर खोज्दैन । प्रश्न गर्छ । सार्वजनिक व्यवस्थापनका सबै सिद्धान्त र व्यवहार हार्दिकता र औपचारिकताको खोजीमा अभिमुख छन् । आजसम्म सार्वजनिक प्रशासनको सिद्धान्त यसैमा अल्झिएको छ । उत्प्रेरणा, मनोबल, सहभागिता, समन्वय, नेतृत्व, निर्णय प्रक्रिया, सबैमा हार्दिकता र औपचारिकता झल्किन्छ। देखिन्छ। जहाँ  हार्दिकता छ त्यहाँ उत्तरदायित्व छ । जिम्मेवारी छ । जहाँ औपचारिकता छ व्यवस्थापन गतिलो छैन् । ढिलासुस्ती छ । चाकरी छ। भ्रष्टाचार छ । अनियमितता छ । मास्लो, हेनरि फेवेल, सबै व्यवस्थापनभित्र हार्दिकता र औपचारिकताको संश्लेषण गर्छन् । औपचारिकतालाई हार्दिकतामा कसरी परिवर्तन गर्ने ? भन्ने विषयमा थुप्रै सिद्धान्त प्रतिपादन भएका छन् । उत्प्रेरणाको एक्स–वाई सिद्धान्त ,आवश्यकताको सिद्धान्त, औपचारिकतालाई हार्दिकतामा परिणत गर्ने व्यवहारिक आधार हुन् । 

नेपालको निजामती सेवामा यी दुई तत्वको मिलन कहाँनेर छ ? हेर्नु जरुरी छ । यसको अनुभूति नहुँदा निजामती सेवाले नतिजा दिन सकेको छैन । कर्मचारितन्त्र जनताको नजरमा सच्चा सेवक बन्न सकेको छैन् । सही नेतृत्व स्थापित पहिचान हुन सकेको छैन् । झण्डै सात दशक पार गरेको निजामती सेवा आज हार्दिकताभन्दा औपचारिकतामा गुज्रिरहेको छ । कर्मचारी र नेतृत्व, राजनीति र प्रशासन, कर्मचारीतन्त्र र जनताको बिचमा हार्दिकता कायम हुन सकेको छैन । दुवैले एक आपसमा शंका गर्छन्  । कानुन, नीति, नियमको औपचारिकताभित्र सेवा प्रभाव परेको छ । त्यहाँ दुबैको बीचमा मुस्कान छैन् । दुवैको बीचमा विश्वास संकट छ । 

Advertisement

भारतमा मोदी प्रशासनलाई भारतीयहरु सम्मान गर्छन्। सि जिनपिङ टिभीमा उपस्थित हुँदा क्यान्टिनमा खाँदै गरेका नागरिकहरू उठेर आदर दर्शाउँछन । अमेरिकनहरु आवर पेर्सिडेन्ट भन्छन् । यो नेतृत्वप्रतिको हार्दिकता हो। औपचारीकता होइन। सद्भाव हो । सद्भाव र विश्वासले कामलाई परिणाममुखी बनाउँछ ।    कहिलेकाहीँ हार्दिकताका लागि औपचारिकता पूरा गर्नुपर्छ । यस्तो औपचारिकता स्वार्थबिहीन र व्यक्ति, संस्था र नीतिको हितमा हुन्छ । यसलाई औपचारिकता भनिदैन । यो स्वयंमा हार्दिकता हो । 

हार्दिकता बनाउनलाई पैसा खर्च गर्नुपर्दैन । सकारात्मक सोच भए पुग्छ । कानुनलाई पूर्णरूपमा पालना गरिदिए पुग्छ । आफ्नो मान्छे र परको मान्छे नछुट्याइदिए पुग्छ । कर्मचारीतन्त्रभित्र  राजनीति नगरिदिए पुग्छ । सरकारी खर्च शीर्षकअनुसार खर्च गरिदिए पुग्छ । राजनीतिले कर्मचारीका सरुवा बढुवा लगायतका विषयमा हस्तक्षेप नगरिदिए पुग्छ । कर्मचारीतन्त्रले राजनीतितिर हैन आफ्नै योग्यतामा ध्यान दिए पुग्छ । कर्मचारीले आफ्नो अगाडिका जनतालाई सेवा दिए पुग्छ । बिल भर्पाइमा कमिशन नलिए पुग्छ । जनताले कर्मचारीलाई यो राष्ट्र सेवक हो सम्म भनिदिए पुग्छ । तर औपचारिकताका लागि पैसा खर्च हुन्छ । समय खर्च हुन्छ । सम्मान खर्च हुन्छ । अभिमान समाप्त हुन्छ ।  त्यसैले हार्दिकता बढाउन औपचारीकता सिमित गरिदिए पुग्छ।

कर्मचारीलाई तलबभत्ता, स्वास्थ्य, बीमा, उपचार खर्च, विदा सबै सुविधा प्राप्त छ । हामी यो विषयमा गौरव गर्छौं ? जुन दिनदेखि गौरव गर्छौं, त्यो दिनबाट हामी नतिजामा केन्द्रित हुन्छौ । जब हामी हार्दिक हुन्छौं, सेवाग्राही, जनताको आशिर्वाद प्राप्त हुन्छ । आत्मसन्तुष्टि प्राप्त हुन्छ।  नतिजामा शंका हुँदैन् । जब कुनै काम औपचारिकतामा पुरा गर्छौ। स्वार्थ हुन्छ । सरुवा, बढुवा, वृत्तिविकास ,अतिरिक्त फाइदाको स्वार्थ रहन्छ । जब हार्दिकतामा काम गर्छौ, हामीले परिश्रमको फल पाउँछौ। अब भनौ हामी कहाँ छौ । अन्य सरकारी सेवामा पनि  हार्दिकताभन्दा औपचारिकता बढेको देखिन्छ ।

कुनै कर्मचारी सरुवा माग्न आउँछ, उसलाई हामी प्रश्न गर्छौ । उसको उत्तर खोज्दैनौ । एकातिर सरुवा माग्दा अर्कातिर पठाइदिन्छौ। त्यसपछि कर्मचारीको कार्यसम्पादन औपचारिकतातिर जान्छ । आफ्नो संगठनप्रति हार्दिक हुँदैन। जब वृत्तिविकासमा योग्यताले काम गर्दैन, कर्मचारी संगठनप्रति हार्दिक हुनसक्दैन् । भ्रष्टाचार लाग्छ भनेर निर्णय गर्दैनौ । विभागीय कारबाहीबाट बच्न जिम्मेवारी पन्छाउँछौ । पारदर्शी हुँदा गोप्यता भङ्ग हुन्छ भन्ने डर मान्छौं । भोली काम लाग्छ भनेर भेटघाट गर्छौं । अवकाश भइहाल्छ नि भनेर वास्ता गर्दैनौ । अवकाशपछि लाभको पदको आशा गर्छौ। सरुवा बढुवा नहोला कि भनेर राम्रो काम देखाउँछौं। कसैको भनसुनमा राम्ररी काम गरिदिन्छौ । तर भनसुन विनाको जनतालाई वास्ता गर्दैनौ । त्यहाँ हार्दिकता हुँदैन ।यो औपचारिकतामा निजामती सेवाले स्पष्ट कार्यदिशा दिँदैन र नतिजामुखी बनाउँदैन ।

तपाईंलाई कसैले नमस्कार गर्छ। किनभने तपाईं पदमा हुनुहुन्छ । कुर्सी र पदमा बसुन्जेल हामीलाई हार्दिकता र औपचारिकता थाहा हुँदैन । जब कुर्सीबाट बाहिर जान्छौं । जब हामी स्वतन्त्र हुन्छौँ, त्यसपछि हामीलाई हार्दिक र औपचारिकताको बोध हुन्छ ।  हामीले चिनेका मान्छेहरु बाटोमा उल्टो फर्किन्छन ।  नचिनेकाहरु त चिन्दै चिन्दैनन् । बुझ्नोस् म औपचारिक थिएँ । जब उल्टो फर्किनेहरु तपाईंलाई नमस्कार गर्न आउँछन्, तपाईंको कुर्सी र पद पछी पनि सम्मान गर्छन्। कुर्सी अघि र पछि समान व्यवहार गर्छन् । बुझ्नुहोस् तपाईं पद र कुर्सीमा हार्दिक हुनुहुन्थ्यो । तर हामीलाइ यसको लेखाजोखा कुर्सी र पदमा बसुन्जेल थाहा हुँदैन् । समाज टाढा भइसकेको हुन्छ । हामी  कानुन, नियम, आदेश, चाकरीलाई जोगाउन थाल्छौ  । अवसर पद र प्रतिष्ठाले होइन हाम्रो परिणामले हामीलाई उच्च बनाउँछ।

औपचारिकताले प्रतिफल राम्रो दिँदैन । पुँजीगत खर्च वर्षेनी झण्डै ३०.५ प्रतिशतमाथि पुगेको छैन् । वित्तीय र भौतिक प्रगतिमा उल्लेख्य सुधार भएको छैन् । यसले भौतिक पूर्वाधार, विकास, रोजगारी सिर्जना, गरिबी निवारण जस्ता विषयलाई प्रत्यक्ष प्रभाव पारेको छ जहाँ हार्दिकता छ । भ्रष्टाचार कम हुन्छ । पुँजीगत खर्च बढ्छ  । व्यवस्थापन सुमधुर सम्बन्ध हुन्छ । देखिएको छ  । यी विषय नेता, नेतृत्व, अनुभव, क्षमतामा पनि फरक पर्छ ।निजामती प्रशासनभित्र हामी पूरानो नेतृत्वलाई स्मरण गरौं । पूराना नेतृत्व धरोहरहरुमा गौरव गर्छौं । किनभने उनीहरूमा हार्दिकता थियो । यसपछि पनि थुप्रै नेतृत्व जन्मिए । तर उनीहरूको नाम लिँदैनौ । किन ? प्रश्न अस्वाभाविक होइन । जसले इतिहासमा नाम लेखाउन चाहन्छन्, जो आफैंमा गौरव हुन्छन्, उनीहरुले हार्दिकता बढाउँछन् । जब हामी कामलाई सम्मान गर्छौं, औपचारिकता समाप्त हुन्छ । राम्रो र नराम्रो छुट्याउँछौ, व्यक्तिगत स्वार्थबाटबाट बच्छौ । हार्दिकता सुरु हुन्छ ।

दाहालको फेसबुक एकाउन्टबाट साभार

Advertisement

Advertisement