बीमा कम्पनीलाई राम्रो ढंगले चलाउनका लागि जनशक्ति व्यवस्थापन विभागको सञ्चालन विधिमा सुधार, आन्तरिक लेखापरीक्षण र बीमांकीय मूल्यांकनको प्रभावकारिता, सञ्चालक समिति र व्यवस्थापनबीच हार्दिकतापूर्ण सम्बन्ध, पारदर्शिताजस्ता कुराले संस्थागत सुशासन कायम गर्न ठूलो बल पुग्छ ।

बीमा क्षेत्रमा ‘कर्पोरेट कल्चर’ र जनशक्तिको सशक्तीकरण

Advertisement

–पोषकराज पौडेल
अध्यक्ष, जीवन बीमक संघ
बीमा कम्पनीहरूले समग्र अर्थतन्त्रमा योगदान पु¥याउँदै आएका छन् । सहरीकरणको विकास, मध्यमस्तरीय आर्थिक अवस्थामा वृद्धि, खर्चिलो उपचार तथा मर्मत लागत, बढ्दो दुर्घटना र जोखिमका घटना वृद्धिले बीमाको पहुँच र जनचेतना विस्तारमा प्रगति भइरहेको अवस्था छ । बीमा कम्पनीले ल्याउने नयाँ–नयाँ योजनासँगै अभिकर्ता र शाखा सञ्जाल, बीमा प्राधिकरणको स्थानीय सरकारसँगको कार्यक्रम, सञ्चारमाध्यममार्फत हुने चर्चा र प्रचारप्रसारले बीमासम्बन्धी चेतना बढ्दै गएको पाइन्छ । 

हामीले अझै पनि बीमाको जनचेतनाबारे थुप्रै काम गर्न बाँकी छ । एकातिर बीमाको पहुँच बढाउन काम गर्नुपर्ने छ भने बीमालेखअनुसारको भुक्तानी दिने सवालमा देखिने गरेका असझदारी र समस्याका कारण बीमा क्षेत्रप्रतिको गलत धारणरूलाई चिर्दै अगाडि बढ्नु पनि छ । यो समग्र बीमा क्षेत्रको चुनौती हो । यसमा नेपालका जीवन बीमा कम्पनीहरूले धेरै सुधार गर्नुुपर्ने अवस्था छ । कम्पनीहरूले क्रमिक रूपमा ‘कर्पोरेट कल्चर’ को विकास गर्दैछन् । विभिन्न क्षेत्रका कम्पनीको राम्रा अभ्यासको अनुशरण गर्नु राम्रो कुरा पनि हो । बैंकिङ र बहुर्राष्ट्रिय कम्पनीले अवलम्बन गरेका कुराहरूबाट हामीले सिक्दै जानुपर्छ । साथै, बीमा कम्पनीको महत्व बढाउने कुरामा पनि ध्यान दिन जरुरी छ । 

Advertisement

एउटा कम्पनीमा काम गरिरहेको कर्मचारी त्यो कम्पनी छोडेर अर्कोमा जाँदा राम्रोसँग बिदाइ गर्नुपर्ने हो । तर, यस्तो खालको संस्कृति हामीले स्थापित गर्न सकिरहेका छैनौं । कतिपय कम्पनीमा त उल्टै लामो समयसम्म ‘क्लियरेक्स’ का लागि झुलाउने परिपाटी छ । कम्पनीमा प्रवेश गर्दाको अवस्था, एउटा कर्मचारी कार्यरत भइरहेको अवस्था र ऊ त्यो कम्पनी छाडेर अर्को कम्पनीमा जाँदासम्मको अवस्थामा हामीले गर्ने व्यवहारमा सुधार गर्नुपर्छ । यता, कर्मचारीले पनि कार्यालय छोडेर जाँदै गर्दा ‘पहिलेको कम्पनीको वातावरण राम्रो थियो, त्यहाँबाट धेरै कुरा सिकेँ’ भनेर भन्दा त्यसले व्यावसायिक संस्कारको विकासमा सहयोग नै गर्दछ । 

अहिले पनि एउटा ‘ग्र्याजुएट’ ले बीमा क्षेत्रलाई दोस्रो–तेस्रो प्राथमिकतामा राख्ने गरेका छन् । बीमा क्षेत्र पहिलो रोजाइको क्षेत्र बनाउन, कम्पनीहरूमा ‘कर्पोरेट कल्चर’ को विकास गर्न जरुरी छ । अझ भन्ने हो भने कम्पनीले जिम्मेवार व्यावसायिक संस्कार विकास गर्न जरुरी छ । त्यसैगरी, बीमा क्षेत्रमा काम गरिरहेकाहरूलाई नेतृत्वले प्रोत्साहित गर्ने कुरामा बीमा क्षेत्र अझै पछाडि छ । कम्पनीलाई राम्रो बनाउने सवालमा तल्लो तहका कर्मचारीको सुझाव पनि सुन्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने कुरामा बीमा क्षेत्रले सुधार नगरी सुखै छैन । 

कम्पनीमा कर्मचारीलाई कामदारभन्दा पनि परिवारिक सदस्यसरहको वातावरण दिन सक्नुपर्छ । किनकि, ऊ भोलि छाडेर जाँदै गर्दा पनि पहिलो कम्पनीमा के–के राम्रा पक्ष थिए ? सो कुरा भन्न सक्ने अवस्था निर्माण गर्न जरुरी छ । बीमा कम्पनीलाई राम्रो ढंगले चलाउनका लागि एचआर डिपार्टमेन्ट (जनशक्ति व्यवस्थापन विभाग) को सञ्चालन विधिमा सुधार, आन्तरिक लेखापरीक्षण र बीमांकीय मूल्यांकनको प्रभावकारिता, सञ्चालक समिति र व्यवस्थापनबीच हार्दिकतापूर्ण सम्बन्ध, पारदर्शिताजस्ता कुराले संस्थागत सुशासन कायम गर्न ठूलो बल पुग्छ । 

हाम्रो बीमा उद्योगको संस्थागत सबलीकरणमा धेरै काम गर्न बाँकी छ । यसमा नेपाल बीमा प्राधिकरणको भूमिका पनि महत्वपूर्ण हुन्छ, जुन खेल्दै पनि आएको छ । मूल कुरा मान्छेलार्य कसरी बीमाप्रति आकर्षित गर्ने ? कसरी यसको दायरा बढाउने ? र, नेपालमा विश्वस्तरको बीमा कसरी कसरी प्रदान गर्ने ? भन्ने नै मुख्य विषय हो । यसका लागि बीमा क्षेत्रमा काम गर्नेहरूलाई नै दक्ष बनाउनुका साथै प्रोत्साहन गर्न जरुरी छ । कर्मचारीको स्वास्थ्य, उनीहरूको परिवारको स्वास्थ्य उपचार सुविधादेखि ‘कस्टुमर फस्र्ट’ का लागि ‘नमस्ते’ कल्चरको विकासजस्ता कुरामा सबै कम्पनीको ध्यान पुगिरहेको छैन । काममा मात्रै ‘फोकस’ हुने तर त्यसको नतिजा  नआउँदा समग्र बीमा क्षेत्र पछाडि पर्नेमा दुईमत छैन ।  

समाजले जसरी बीमा क्षेत्रलाई ‘बिजनेस’ दिइरहेको छ, त्यसैगरी हामीले समाजलाई के दिइरहेका छौं ? सामाजिक उत्तरदायित्वका कुरालाई कसरी अगाडि बढाइरहेका छौं ? भन्ने कुरा ध्यानमा राख्नुपर्छ । कर्मचारीका लागि बेलाबेलामा तालिम र ‘एक्सपोजर भिजिट’, ‘रिफ्रेसमेन्ट’ जस्ता कुरालाई पनि प्राथमिकतामै राख्नुपर्छ । यसले भोलिका दिनमा कम्पनीको कार्यप्रगति बढाउन मद्दत गर्दछ । 

व्यावसायिक संस्कृतिले काम मात्रै होइन, भोलि गएर निर्णय गर्ने क्षमता र कम्पनीको ‘ग्रोथ’ लाई पनि सहयोग गर्छ । धेरैजसो कम्पनीमा ‘टप डाउन एप्रोच’ अर्थात् माथिबाट निर्णय गर्ने र तलकाले कार्यान्वयन गर्ने विधि विद्यमान छ । त्यसले सधैंभरि ‘टिम डेभलपमेन्ट’ मा सहयोग गर्दैन । ‘बटम अप एप्रोज’ ले तलका कर्मचारीले पनि कामप्रति ‘अनरसिप’ लिने अवस्था बन्छ । ‘यो काम मेरो जिम्मेवारी हो, मैलै निर्णय गरेको, म सहभागी भएको’ भन्ने पर्छ । यसले कम्पनीलाई नै फाइदा पु¥याउँछ । 

बीमा क्षेत्रको कुरा गर्दा करिब १२ हजार कर्मचारी कार्यरत छन् । कर्मचारी यताबाट उता सर्ने क्रम पनि छ । छाडेर विदेश जाने क्रम पनि उत्तिकै छ । कोही छाडेर जाँदा होस् वा अन्तबाट अर्को संस्कृति लिएर आउँदा, हामीकहाँ गर्व गर्न लायक यस्तो संस्कृति छ भन्ने कुराको विकास गर्ने सवालमा बीमा कम्पनीले सुधार गर्नुपर्छ । बीमा सेवाको आधुनिकीकरण र प्रभावकारिताका लागि पनि हामीले हाम्रा जनशक्तिलाई सशक्तीकरण गर्नुपर्ने हुन्छ । 

दीर्घकालीन विकासका लागि ‘कर्पोरेट कल्चर’
विश्व परिवेश र नेपालको सन्दर्भमा हेर्दा व्यावसायिक संस्थाहरूमा ‘कर्पोरेट कल्चर’ (व्यावसायिक संस्कार) को अभ्यास फरक–फरक छ । यस्तो संस्कारको मूल मान्यता एउटै भए पनि यसलाई अभ्यास गर्ने शैलीमा भने फरकपन देखिएको हो । कर्पोरेट कल्चरलाई कम्पनीको ‘ग्रोथ ड्राइभर’ (विकासको संवाहक) का रूपमा र कर्मचारी तथा कामदारलाई ‘मोटिभेट’ गर्ने अन्तिम ‘टुल’ का रूपमा पनि हेर्ने गरिएको छ । ‘पे र पोजिसन’ भन्दा लामो समयसम्म टिकिराख्ने ‘कर्पोरेट कल्चर’ नै हो । 

सिटिजन्स लाइफ इन्स्योरेन्सको कुरा गर्दा एउटा कर्मचारी नियुक्त गर्दा ऊभन्दा माथिका सबै कर्मचारीलाई सहभागी गराइन्छ । उसका ‘रिपोर्टिङ लाइन’ सहभागी भएर कर्मचारी नियुक्त गर्दा उसलाई यो कम्पनीमा पारदर्शिता रहेछ भन्ने पर्छ । एउटा ‘व्यवस्थित प्रणाली’ छ भन्ने महसुस हुन्छ । कर्मचारी भर्ना र उसको कार्य प्रगतिबारे एउटा पद्धति विकास गर्न सकियो भने भोलिका दिनमा त्यस कम्पनीको प्रगतिमा भूमिका निर्वाह गर्न सक्छ । कुनै पनि निर्णय प्रक्रियामा कम्पनीले अपनाएको बिधि कस्तो छ ? त्यहाँको ‘कल्चर’ के छ ? कामअनुसारको जिम्मेवारी दिइएको छ कि छैन ? भन्ने विषयले कर्मचारीलाई जिम्मेवार र जवाफदेही हुन मद्दत गर्छ । संस्थाको विधिका बारेमा हरेक मानिस जागरुक हुनुपर्छ । 

हाम्रो कम्पनीमा सीईओले त्रैमासिक रूपमा कम्पनीको विकास र विस्तारका बारेमा तथा आगामी दिनमा लिने रणनीतिका बारेमा जानकारी गराउने व्यवस्था छ । त्यसले तलदेखि माथिसम्म ‘कम्युनिकेसन ग्याप’ हुँदैन । तलदेखि माथिसम्मका सबैलाई कम्पनीको बारेमा थाहा हुन्छ र आ–आफ्नो हैसियतअनुसारको निर्णय लिन सहज हुन्छ । यसले हरेकलाई भोलि यही कम्पनीमा रहँदा आफ्नो वृद्धि विकास हुँदै जान्छ भन्ने आत्मविश्वास हुन्छ । 

एउटा कर्मचारीको आजको दिनमा कार्य प्रगति देखिएको छैन, तर भविष्यमा कार्यप्रगति गर्न सक्ने सम्भावना छ भने उसलाई हौसला प्रदान गर्न पनि कम्पनीको लिडरसिप तयार हुनुपर्छ । हामीकहाँ धेरै कम्पनीको लिडरसिपमा यो कुराको कमी देखिन्छ । यसलाई सुधार गर्न सकियो भने भोलिका दिनमा ती कम्पनी पनि प्रगति गर्न सक्ने हुुन्छन् । कम्पनीलाई राम्रो बनाउन एउटा उच्च तहको कर्मचारीले कनिष्ठलाई ‘रेकग्नाइज’ गर्ने र कनिष्ठले पनि वरिष्ठलाई ‘रेस्पेक्ट’ गर्ने संस्कृति कस्तो छ ? त्यसले पनि उक्त कम्पनीमा कर्पोरेट कल्चर कस्तो छ भन्ने कुराको संकेत गर्छ । 

बीमा क्षेत्रको अवस्था पहिलेजस्तो छैन । यो क्षेत्रमा पनि युवापिँढी आइरहेको छ । उनीहरूको सोच फरक छ । उनीहरूले छिटो परिणाम दिन खोजे पनि दीर्घकालीन कुरालाई कम ध्यान दिएको भेटिन्छ । यो कुरालाई कसरी मिलाएर लाने ? यो नै अहिलेको चुनौती हो । त्यसैले अहिलेका युवापुस्ताको चाहना र भावनालाई बुझ्नुपर्ने हुन्छ । त्यसका लागि ‘ग्याप अनालाइसिस’ गर्न जरुरी छ । उसले के कसरी काम गर्न खोजेको छ ? भन्ने बुझ्न जरुरी छ । 

अहिले निर्णय गर्नेहरू सोच, उमेर र अनुभवले पनि पुराना छन् । अनि नयाँ आउने युवाको सोचबीच ‘ग्याप’ देखिँदा केही–केही समस्या निम्तिने गरेका छन् । त्यसका लागि पुरानो सोच भएकालाई पनि नयाँ तरिकाले अब यसरी चल्नुपर्छ भन्ने दिशामा ल्याउने र नयाँलाई पनि कर्पोरेट कल्चरको विकास गराउँदै लैजानु अहिलेको अवश्यकता हो । यसो गर्न सकिने भयो कम्पनीले राम्रो प्रगति गर्ने निश्चित छ ।  

कर्पोरेट नेपालको दशौं वार्षिकोत्सवमा प्रकाशित जर्नल बुक ‘कर्पोरेट कल्चर’बाट

Advertisement

Advertisement