‘यान्त्रिका’ रोबोट निर्माण गर्ने टोली नेता भन्छन्– हाम्रा प्राविधिकहरु जति पलायन हुँदा समस्या भयो

Advertisement

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा विगत आठ वर्षदेखि कार्यरत युवा वैज्ञानिक रोशन पाण्डे एक प्रतिभाशाली व्यक्ति हुन् । साना जलविद्युतको क्षेत्रमा अनुसन्धान गर्दै आएका उनी नेपालमा संचालित साना जलविद्युत आयोजनाहरुको स्थलगत अध्ययन तथा अनुगमन कार्यमा लामो समयदेखि संलग्न छन् । पाण्डेले विज्ञान तथा प्रविधिका अन्य विधाहरुमा पनि योगदान पुर्याइरहेका छन् । नाष्टद्वारा निर्मित यान्त्रिका नामक रोबोट निर्माण गर्ने टोलीको नेतृत्व गरेका साथै नेपालले प्रक्षेपण गरेको प्रथम न्यानो सेटलाइटको ग्राउण्ड मोनिटरिङको कार्यसमेत गरेको अनुभव उनीसँग छ । कोभिडको समयमा यान्त्रिकाले जनमानसमा सन्देशमूलक जानकारी पुर्याउनुका साथै मास्क तथा सेनिटाइजर वितरण गरेको थियो । नेपालबाट थुप्रै दक्ष प्राविधिक जनशक्ति तथा युवाहरु विदेश पलायन भइराखेको वर्तमान अवस्थामा पाण्डेले स्वदेशमै बसेर पनि आफ्नो अनुभव, दक्षता र ज्ञानको उपयोग गर्न तथा देशविकास कार्यमा योगदान दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । जलस्रोत इन्जिनियर पाण्डे चीनको होहाई विश्वविद्यालयबाट गत वर्षको सेप्टेम्बरमा ‘योङ टेलेण्ट अन स्मल हाइड्रोपावर इन साउथ एशियन कन्ट्री अवार्ड’ पाउने तीनजना नेपाली तथा १० जना दक्षिण एशियाली युवा वैज्ञानिकभित्र पर्छन् । हाइड्रोलिक इन्जिनियरिङ तथा जलसन्साधनसम्बन्धी चीनमै उच्चस्तरीय मानिने सो युनिभर्सिटीमा नेपालका यु्वा वैज्ञानिकहरुले यसरी अवार्डसँगै तालिम लिने अवसर प्रथम पटक उनले प्राप्त गरेका हुन् । उनै युवा वैज्ञानिक पाण्डेसँग कर्पोरेट नेपालले गरेको कुराकानीः

देशमा साना जलविद्युत आयोजनाको अवस्था कस्तो छ ?
म विगत साढे आठ वर्षदेखि नाष्टमा प्राविधिक अधिकृत (कार्यक्रम प्रमुख)को हिसाबले नेपालको साना जलविद्युतको क्षेत्रमा कार्यक्रम चलाइराखेको छु । नेपालमा १० मेगावाटभन्दा कम आयोजनाका जलविद्युतलाई साना जलविद्युत आयोजना भनिन्छ । भारतमा २५ मेगावाटभन्दा कम र चीनमा ५० भन्दा कम मेगावाटका आयोजनालाई साना जलविद्युत भनिन्छ । यसरी साना जलविद्युत आयोजनालाई क्षमताअनुसार विभिन्न देशमा आफ्नै तरिकाले परिभाषा गरिएको छ । हाल नेपालमा करिब ७० देखि ७५ प्रतिशत जलविद्युत आयोजना साना जलविद्युत आयोजना छन् । तर, त्यसबाट उत्पादन हुने इनर्जी २५ प्रतिशत अर्थात् पाँच सय मेगावाट बिजुली उत्पादन भइराखेको छ । अरु बाँकी मझौला र ठूला आयोजनाबाट आपूर्ति भइराखेको छ । कम लगानीमा अर्थात् निजी क्षेत्रले लगानी गर्न सक्ने भएकाले पनि साना जलविद्युत आयोजना नेपालमा धेरै छन् । हुनत १० मेगावाटभित्रका आयोजनाहरु पनि लगभग एक–डेढ अर्ब रुपियाँकै आयोजना हुन् । त्यो भएकोले लगानीको हिसाबले जलविद्युत आयोजना ठूलो क्षेत्र हो ।

Advertisement

नेपालमा साना जलविद्युत आयोजनाले कस्ता समस्याको सामना गरिराख्नुपरेको छ ?
आजभन्दा सात वर्ष अगाडि साना जलविद्युत आयोजनामा समस्याहरु थिए । निजी क्षेत्रले गर्दै आएका साना जलविद्युतलाई २५–३० वर्षपछि अर्थात् सम्झौता सकिएपछि राष्ट्रलाई हस्तान्तरण गर्नुपर्छ, जुन त्यसबेला धेरै भएका थिए । हस्तान्तरणको समयमा ती आयोजना कुन अवस्थामा कस्ता थिए र स्थिति के छ आदि हेरेर तत्कालिन ऊर्जा मन्त्रालय र नाष्ट दुबैको आपसिमा लगानी गरेर चलाउने भन्ने थियो । त्यसमा पनि हामीले विभिन्न आयोजनाको परीक्षणलाई बाधा नपुग्ने गरी अर्थात् नभाचिकन, नफोडिकन ट्रान्सफर्मर, इन्डिकरेन्ट, अल्टासोनिक टेस्ट गर्ने जस्ता कार्यहरु गर्दै आइराखेका पनि थियौं । त्यो समयमा पुल्चोक क्याम्पसलाई पनि ट्रान्सफर्मर टेस्ट गर्न दिइएको थियो । त्यही बिचमा नाष्टले विभिन्न तालिम, सेमिनार, विदेशी प्रोजेक्टहरु आफ्नै बलबुतामा ल्याएर चलाएको थियो । त्यतिबेला कत्तिको सफल हुन्छ भनेर चीनबाट टर्वाइनमा कोड गर्ने एउटा प्रोजेक्ट लिएर आएका थियौं । तर, कोरोनाका कारणले संचालन गर्न पाएका छैनौं । त्यही सिलसिलामा नेपालको जनशक्तिलाई चाइनीज, भारतीहरुले विभिन्न ट्रेनिङहरु दिएका थिए । त्यसमा पनि विशेष चाइनीजले अलि बढी सक्रिय भएर ट्रेनिङ दिइराखेको हुन्छ । त्यही भएर हामी चाइना जाने र चाइनीजहरु यहाँ आउने भएकाले सात वर्षको दौरानमा १४–१५ वटा सेमिनार÷ट्रेनिङहरु आदानप्रदान गर्यौ । यसरी ट्रेनिङहरु गरेर हाल साना जलविद्युत आयोजना अगाडि बढिराखेएको अवस्था छ । साना जलविद्युतमा ठूलो सिभिल कम्पोनेन्ट, स्टक्चरहरुमा त्यति समस्या हुँदैन तर जेनेटर, बेरिङ्ग, साफ, टर्वाइनमा समस्या आइराख्छ । यसमा मर्मत कम हुन्छ, दुर्गम ठाउँमा भएकाले त्यहाँ स्कील म्यानपावरका मान्छे राखिदैन । कसैकसैले भर्खरै पासआउट भएका इन्जिनियरहरु राख्ला, जसले धेरै कुरा जानेको हुँदैन । त्यसले गर्दा सानो मिस्टेकले पछि गएर ठूलो समस्या निम्तिन्छ । यसरी समस्या भनेको इलेक्ट्रो मेकानिजम कम्पोनेन्टहरुमा छ ।

साना जलविद्युत आयोजनामा प्राविधिकहरु कति संख्यामा छन्, नेपाललाई प्रयाप्त पुग्छ ?
यति नै भन्न गाह्रो छ । हामीसँग उत्पादन गर्ने टेक्निसियन इन्स्टिच्युटहरु छन् । सरकारकै नेतृत्वमा रहेको बुटबल टेक्निकल इन्स्टिच्युटले पनि वल्डर, इलेक्ट्रिकल, मेकानिकल गरी तीन वटा विधामा प्राविधिकहरु उत्पादन गरिराखेको छ । त्यस्तै गरी सीटीईभीटीका पनि छन् । मागको हाराहारीमा स्किल्ड म्यानपावर उपलब्ध नहुने होइन । वर्षको तीन–चार सय उत्पादन हुन्छन् । हाइड्रोपावर सेक्टरमा मेकानिकल इन्जिनियरहरु दुई सय जति छन् होला, अझ सिभिलकै जोड्यो भने पाँच सय पुग्लान । तर, समस्या भनेको उनीहरु नेपालमा बस्दैनन् । एउटा राम्रो वल्डरले पनि अष्ट्रेलियामा मासिक ६ लाख कमाउने भएर उतै बसेको अवस्था छ । जहाँ उसको काम भनेको एकदमै राम्रो वल्डिङ गर्ने हो । त्यति राम्रो पारिश्रमिक विदेशमा सिप सिकेर गएको वल्डरले पाउछ । यहाँ सिप भएका पढेका मान्छे नटिक्ने भनेको पारिश्रमिकले गर्दा पनि हो । त्यही सिप भएका व्यक्तिलाई हामीले विदेशबाट बढि पारिश्रमिक दिएर ल्याइराख्नु परेको छ । नेपालमै कमसेकम एक लाख मासिक पाएको भए विदेश नगएर उ स्वदेशमै बस्थ्यो नि । साना जलविद्युतमा सिटीभिटीबाट पास भएका र विदेश जान नसकेका अर्थात् यही बस्न बाध्य भएका टेक्निसियनहरु छन् । कसैले इन्जिनियर पनि राखेका हुन्छन भने कुनै निजी क्षेत्रले समस्या आएको बेलामा बाहिरबाट हायर गर्छन । नभए पनि डिप्लोमा गरेका, सिटीभिटीका मान्छेहरु राखेर काम चलाउने गरिराखेका छन् । विद्युत प्राधिकरणले प्रयाप्त प्राविधिकहरु राखेको हुन्छ तर निजी क्षेत्रलाई निश्चित वर्षभित्रमा लगानी उठाएर कसरी नाफा कमाउ भन्ने भएकाले उनीहरुले काम चलाउन मान्छे राख्ने गर्छन् । 

विकासको परिप्रेक्ष्यमा साना जलविद्युतको भूमिका कस्तो हुन्छ, निर्यातको अवस्था रहन्छ ?
२०६१–६२ को जनआन्दोलनभन्दा अगाडि औद्योगिकीकरण खासै भएको थिएन । त्यसपछि भने यस क्षेत्रमा परिवर्तन नै हुने भयो भन्ने हिसाबले उद्योगहरु २२ प्रतिशतले बढे । त्योबेला विशेष सिमेन्ट र स्टिल फ्याक्ट्री बढ्यो र एउटै फ्याक्ट्रीले दिनकै २२–२५ मेगावाट बिजुली खान थाल्यो । फ्याक्ट्री बढ्ने बित्तिकै लोडसेडिङ बढ्न थाल्यो । त्यसरी लोडसेडिङ बढ्न थालेपछि साना जलविद्युतमा लगानी गर्ने क्रम बढेको हो । दुई चार वटा बैंकहरु मिलेर साना जलविद्युतमा लगानी गर्न सक्ने भएकाले पनि यसको संख्या बढ्न थालेको हो । धेरै ठूलामा लगानी गर्न त विदेशी कम्पनी वा सहयोग चाहिने हुन्छ । यसरी साना जलविद्युत फस्टाएको वा संख्या बढी देखिएको कारण पनि यही हो । आउने आर्थिक वर्षमा साना र मझौला जलविद्युत गरी दुई हजार मेगावाट थप हुँदैछ । यो जोडियो भने नेपाललाई सुख्खा मौसममा पनि यहीको बिजुलीले धान्छ । हामीले बिजुली बेच्ने भनेको भारत र चाइनालाई हो । तीन सय मेगावाटभन्दा माथिका आयोजनाहरुले अहिले पनि निर्यात गरिराखेका छन् । तर, नेपालबाट प्रयाप्त निर्यात भइराखेको छैन । पहिला हामीले बेच्ने भन्दा पनि खपत बढाउनेतिर लाग्नु पर्छ जस्तो लाग्छ । मान्छेहरुले घरमा वासिङ्गमेशिन, इन्डक्शन चुलो आदि राखेका छन तर अझै पनि बिजुलीको भर पर्न सकेका छैनन, कतिबेला लाइन जान्छ भन्ने त्रासमा रहिरहने अवस्था छ । 

तपाईंले पाउनु भएको कस्तो अवार्ड हो र त्यहाँ सिकेको ज्ञानले नेपाललाई के फाइदा हुन्छ ?
चाइनाको जलश्रोत मन्त्रालयअन्तर्गतको नेशनल रिसर्च इन्स्टिच्युट फर रुलर इलेक्ट्रिफिकेशन र होवाई युनिभर्सिटीको संयुक्त लगानीमा त्यहीको प्रोफेसरहरुले ट्रेनिङ आयोजना गरेको थियो । तर, त्यो तालिम गर्नुभन्दा अगाडि साउथ एसियन देशहरुबाट एप्लाई गर्न भनिएको थियो । त्यसमा एप्लाई गरेका प्रतिस्पर्धि ३०–३५ जनामध्ये पाकिस्तान, बंगलादेश, नेपाल, चाइनालगायतको गरी १० जनाको नाम छनौट गरिएको थियो । नाष्टबाट म र इन्ष्टिच्युट अफ इन्जिनीयरिंगका नीरज अधिकारी र राजकुमार चौलागाईं नेपालबाट छनौटमा परेका थियौं । छनौटमा परेका हामीलाई यस्तो प्रकारको ट्रेनिङ दिदैछौं भनेर योङग ट्यालेन्ट अवार्ड २०२१ दिइएको थियो । त्यो अवार्ड पैसाको हिसाबले ठूलो नभएपनि होवाई युनिभर्सिटीको प्रोफेस्नल ट्रेनिङ थियो । विद्यार्थीहरुलाई दिइने मास्टरपछि र पीएचडी अगाडीको जस्तै ट्रेनिङ हो । जुन ट्रेनिङ कोरोनाका कारण नेपालबाटै अनलाइनमार्फत दिएको हो । उनीहरुले सिटी, हाइड्रोपावर टुर भिडियोबाटै गराए । सो तालिम २०२१ को सेप्टेम्बर महिनामा सुरु भै गत जनवरीको मध्यतिर समापन भएको थियो । जुन, एकदमै काम लाग्ने व्यवहारिक ट्रेनिङ हो । नेपालले हालैका दिनहरुमा भारतलाई विद्युत बेच्न थालेको र विद्युतको नयाँ उत्पादनहरु थपिदैँ गएको सन्दर्भमा यो तालिमले निकै ठूलो महत्व राख्दछ । आगामी दुई वर्षभित्र नै नेपालको पावर ग्रीडमा दुई हजार मेगावाटभन्दा बढी बिजुली थपिंदै छ र नेपालले यसरी उर्जा क्षेत्रमा गर्दै गएको प्रगतिलाई दीगो बनाउन पनि जलविद्युतसम्बन्धी उच्चस्तरीय प्राविधिज्ञहरुको स्वदेशमै उत्पादन गर्नुपर्ने हुन्छ । नेपालमा फस्टाउँदै  गएको जलविद्युतको व्यापारलाई गुणस्तरीय र दीगो बनाउन हामीले लिएको तालिमले ठूलो टेवा पुर्याउछ । समस्या परिचान गरी समाधानका साथै साना जलविद्युत क्षेत्रमा हामी कन्सल्ट्यान्ट, विशषज्ञको रुपमा काम गर्न सक्छौं । हामीले सिकेको ज्ञान वा ट्रेनिङले अरुलाई पनि राष्ट्रियस्तरको तालिमहरु दिन सक्छौं । जुन, बेलाबेलामा दिइराखेका पनि छौं । 

अन्त्यमा साना जलविद्युतका सम्बन्धमा केही भन्न चाहनु हुन्छ ?
साना जलविद्युतमा मात्र नभएर ठूलो र मझौला जलविद्युतमा पनि नेपालीले नै लगानी गर्नुपर्छ । हुनत विदेशी लगानी गर्ने वातारण नबनाइकन र विदेशी पैसा नल्याइकन हामीले सानो जलविद्युत मात्र भनेर हुँदैन । खपतमा पनि हाम्रै आन्तरिक खपत बढाउनु पर्छ । वर्षमा प्रति व्यक्तिको विद्युत खपत १८० देखि २०० युनिट मात्रै छ । चाइनामा औसतमा चार हजार छ भने साउथ एसियाकै औसत हेर्ने हो भने प्रतिव्यक्ति बिजुली खपत हजार युनिटको आसपास छ । यसरी प्रति व्यक्तिको इनर्जी खपतबाटै थाहा हुन्छ, देश कत्तिको विकसित छ भन्ने कुरा । नेपालीसँग जति पनि पैसा छ भनिन्छ तर ठूला आयोजना निर्माण गर्न पुग्ने पैसा छैन् । हामीले हरेक सामान बाहिरबाट किन्नु पर्छ, बाहिरबाट किन्नलाई त विदेशी विनिमय चाहियो । हामीलाई तलब खुवाउन त ऋण लिएको भन्ने सुनिन्छ भने यस्तो अवस्थामा ठूला आयोजनामा सरकारले पनि लगानी गर्न सक्ने अवस्था छैन । 

Advertisement

Advertisement