भिभान्त होटलमा बसेको त्यो पहिलो बैठक जसले नविल–एनबी मर्जरलाई सफल बनायो

Advertisement

काठमाडौं । नविल बैंक र  नेपाल बंगलादेश (एनबी) बैंकबीच आजबाट एकीकृत कारोबार भएको छ । नविलले युनाइटेड फाइनान्सलाई पनि गएको आर्थिक बर्षको अन्तिममा नै गाभेको थियो । त्यसको एक बर्षपछि आज एनबीलाई गाभेर आफूलाई बलियो बैंकको रुपमा प्रस्तुत गरेको छ ।  

व्यालेन्स सिट एउटै बनाउन साउन लागेपछि नमिल्ने र धेरै झन्झट हुने भएकाले हतार हतार एकीकृत कारोबार गर्न लागेको बैंक उच्च स्रोतले बतायो । तरलताको समस्या, बजारको प्रतिस्पर्धा र नेपाल राष्ट्र बैंकको नीतिका कारण उपयुक्त पार्टनर खोज्ने क्रममा नविल र एनबी दुवै थिए । दुवैले आ–आफ्नो ढंगबाट लाग्ने क्रममा नविल र एनबीबीच कुरा अघि बढेको हो । 

Advertisement

बंगलादेशको आईएफआईसी बैंकको मुख्य लगानी रहेको एनबी बैंकमा कोभिड महामारी सुरु भएपछि सञ्चालक समितिमा रहेका आईएफआईसी बैंकका प्रतिनिधि लामो समयसम्म नेपाल आउन सकेनन् । लामो समयसम्म हरहिसाव के भइरहेको छ ? हेर्न नसक्ने, व्यवसाय कसरी भइरहेको छ ? बुझ्न गाह्रो भएपछि आईएफआईसी बैंकले आफ्नो स्वामित्व बिक्री गरेर लगानी फिर्ता लैजाने सोच बनाउँदै गएको थियो । 

कोभिड महामारी र लकडाउनका कारण बैंकको व्यवसाय बढ्न नसकेपछि उनीहरु शेयर बिक्री गर्न थप हतारिएका थिए । त्यही क्रममा नविल बैंकका मुख्य लगानीकर्ता विनोद चौधरीलाई पनि मर्जरका लागि सबैभन्दा सजिलो बैंक खोज्ने क्रममा एनबी बैंक देखियो । आईएफआईसी एक्लैको शेयर खरीद गर्दा नै ४२ प्रतिशतभन्दा बढी स्वामित्व आफ्नो हुने र मर्जर पनि सहज हुने विश्लेषणका आधारमा चौधरी ग्रुपले कुरा अघि बढायो । 

उसलाई आफ्नो नम्बर वानको पहिचान कायम राख्न पनि मर्जरभन्दा अर्को सहज विकल्प थिएन् ।  त्योभन्दा अगाडि नविलले एनसीसी, सेन्चुरीलगायतका बैंकसँग कुरा गरे पनि कुरा मिल्न सकेन् । अन्तिममा एनबी र नविलबीच कुरा अघि बढ्यो । एनबीका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुगानासँगै आईएफआईसीका प्रतिनिधिले पनि चौधरी ग्रुपका विनोद चौधरी, निर्माण चौधरीलगायतसँग कुरा गरेका थिए । मर्जरको लागि पहिलो वार्ता करिव डेढ बर्षअघि सानेपास्थित भिभान्त होटलमा भएको थियो । 

त्यहीबाट सुरु भएको मर्जरको सुरुवातले आज सोमबार साकार रुप लिएको छ । त्यसपछि एनबी र नविल समूहबीच दर्जनौ मिटिङ भएका थिए । यसबीचमा एनबीको लक्ष्मीबहादुर श्रेष्ठ समूहदेखि सनराइज बैंकको मोतीलाल दुगडसम्मले मर्जरलाई रोक्ने र तोड्ने प्रयास गरे पनि प्रयास सफल हुन सकेन् । एनबीका कर्मचारीहरुको असन्तुष्टिदेखि मुद्दामामिलालाई किनारा लगाउँदै आज नविल र एनबी बैंकको एकीकृत कारोबार सुरु भएको छ । नविलले आफ्नो गुम्न लागेको नम्वर वानको पहिचान जोगाउन सकेको छ । यसमा सबैभन्दा ठूलो भूमिका र देन एनबीका सीईओ ढुंगानाको देखिन्छ । ढुंगानाले सक्रियता नदेखाएको भए र सहयोग नगरिदिएको भए चौधरी समूहको जोडबलमा मात्रै मर्जर कठिन हुनसक्थ्यो । सोही कारण चौधरी समूह उनलाई एनबीको सीईओ बनाउन पनि तयार भयो । त्यसमा दुवै बैंकका प्रोमोटरदेखि राष्ट्र बैंकसम्मले सहयोगी भूमिका खेले । अन्तिम समयमा एनबीका लक्ष्मीबहादुरलगायतका प्रोमोटरले मुद्दा फिर्ता लिएर मर्जरको स्वागत गरेका थिए । नविलसँगको मर्जरको फाइदा एनबीका प्रोमोटरदेखि सर्वसाधारण लगानीकर्ताले राम्रै लिने मौका पाएका छन् । नविलसँग मर्जरको कुरा अघि बढ्दा नविलको शेयर मूल्य १२ सय रुपियाँ थियो भने एनबीको करिव तीन सय मात्रै थियो । नविलसँग मर्जरको चर्चासँगै एनबीको शेयर मूल्य बढेर चारसय पुगेको थियो । मर्जरले नविललाई पनि आफ्नो प्रोफिटाविलिटि कायम राख्न सहयोग पुग्ने छ । मर्जरसँगै झण्डै साढे पाँच अर्ब रुपियाँ वितरणयोग्य नाफा थपिने छ भने बैंकको व्यवसायमा पनि उल्लेख्य वृद्धि हुनेछ । नविल र एनबीच १००ः४३ को अनुपातको स्वाप रेसियोमा मर्जर भएकाले एनबीको प्रतिशेयरमा ५७ रुपियाँ रिजर्भमा जान्छ जुन एकीकृत कारोबारपछिको नविलले बोनस बाँड्न पाउने छ । 

नविलका एक उच्च अधिकारी भन्छन, ‘नविल र एनबीको सिनर्जी पनि मिल्यो । नविल कर्पोरेट लोनमा निकै आक्रामक । एनबीको कन्ष्ट्रक्शनमा, एसएमईमा, नन फण्डेडमा भएकाले सिनर्जी मिलेको हो । दुवैलाई उपयुक्त पाटर्नर भेटियो । चौधरी ग्रुपका लागि पनि एनबी जस्तो विजनेश भएको अर्को बैंक भेट्न कठिन थियो । एउटै पार्टीसँग ४०–४२ प्रतिशत शेयर भएको बैंक अरु छैन् । एनसीसीमा कुरा गरेको भए पाँच–सात प्रतिशत पनि प्रोमोटर शेयर किन्न मुस्किल थियो । त्यो हिसावले झन्झटरहीतरुपमा शेयर किन्न चौधरी समूहलाई एनबीभन्दा अर्को कुनै पनि बैंक थिएन् । किन भने विनोद चौधरीलाई नविलमा आफ्नो शेयर स्वामित्वको प्रतिशत नघटोस भन्ने नै हो । त्यही क्रममा बंगलादेशीले सस्तोमै शेयर बिक्री गर्न सहजरुपमा तयार पनि भयो । एनबीलाई पनि नविल जस्तो बैंकसँग मर्ज हुन पाउनु राम्रै अवसर हो ।’

नविलले एनबीलाई गाभेसँगै दबाबमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मेगा बैंकसँग मर्जरको सम्झौता गरेको छ भने ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँग मर्जरको सम्झौता गरेको छ । अन्य बैंकले पनि मर्जरका लागि गृहकार्य जारी राखेका छन् । राष्ट्र बैंकले बाणिज्य बैंकहरुको संख्या घटाएर १५ वटाको हाराहारीमा ल्याउने लक्ष्य लिएको छ । 

Advertisement

Advertisement