इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

Advertisement

कोलम्बो, श्रीलङ्का । चरम इन्धन र औषधि  अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग  ठप्प भएपछि  अस्पतालहरूको यस्तो  नाजुक अवस्था आएको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । 

श्रीलङ्काले  ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन ।   देशको अर्थव्यवस्था  अत्यन्त  नाजुक अवस्थामा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाहरूको वर्तमान अवस्थाको बारेमा  सत्यतथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् ।  यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् जसको अवस्था अहिले कन्त बिजोक बनेको छ ।

Advertisement

सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आपतकालीन शल्यक्रिया गर्न समेत कटौती गर्न बाध्य भएको बताएका छन् । त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ ।  

‘श्रीलङ्काको कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणाली  समेत अहिले खतरामा छ’, संयुक्त राष्ट्रसंघ निवासी संयोजक हाना सिंगर(हाम्डीले एक विज्ञप्तिमार्फत जनाएकी छन् । ‘सबैभन्दा कमजोरहरूले र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेका छन्’, उनले भनिन् ।

विश्व बैंकले श्रीलङ्कालाई एन्टि-रेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ। यसैबीच भारत, बङ्गलादेश, जापानलगायत देशले पनि श्रीलङ्कालाई स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।  यद्यपि यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थामा भने तत्काल सुधार देखिएको  छैन ।  

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सुधारका निम्ति कडा कदम नचाले आगामी वर्षको अन्त्यसम्ममा मुलुकको आर्थिक सङ्कट झनै बिग्रदै जाने देखिन्छ ।  जारी चरम मुद्रास्फीतिले खाद्यान्नको मूल्यहरू यति उच्च बनाएको छ कि धेरै घरपरिवारहरू छाक टार्न समेत संघर्ष गरिरहेका छन् ।  

सन् २०२२ को शुरुवात देखि नै श्रीलङ्काले बढ्दो आर्थिक सङ्कटको सामाना गरिरहेको छ।  यसै बीच संयुक्त राष्ट्र संघले चेतावनी दिदै  ५७ लाख मानिसहरूलाई ‘तत्काल मानवीय सहायता आवश्यक रहेको’ बताएको छ । 

श्रीलङ्काको अर्थतन्त्रले उत्पादनको लागि आधारभूत सामग्रीको अनुपलब्धता, मार्च २०२२ देखि मुद्राको ८० प्रतिशत अवमूल्यन, विदेशी सञ्चितिको अभाव र अन्तरराष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण तीव्र सङ्कूचनको सामना गरिरहेको छ ।  थुप्रै श्रीलङ्कालीहरूले खाद्यान्न र इन्धन लगायतका अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहँदा मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन शुरु भएको थियो जसले राजनीतिक परिवर्तन ल्याएको भए पनि आर्थिक अवस्थामा बने सुधारात्मक परिवर्तन  भने ल्याउँन सकेको छैन ।  

आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षेले मे ९ मा राजीनामा दिएका थिए भने उनका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा देश छोड्न बाध्य भए र त्यसको भोलिपल्ट राजीनामा दिएका थिए । रासस/एएनआई 

Advertisement

Advertisement