विदेशमोहीलाई धरेलले देखाए सफल उद्यमको नमुना, सोफा व्यवसायबाटै मासिक लाखौं आम्दानी

Advertisement

काठमाडौं । सोफा व्यवसायमा राम्रो सफलता हासिल गरेका दिपेन्द्र धरेलले आफ्नो फर्निचर व्यवयायको नाम नै ‘सोफा स्टोर’ राखेका छन् । सोफा बिक्रीबाटै  मासिक ३० लाखसम्म  कारोबार गर्न सफल उनी नेपालमै संभावना धेरै रहेकाले विदेश नै जानु जरुरी नरहेको बताउँछन् । सोफा बिक्रीबाट उनले मासिक लाखौं आम्दानी गर्दै आएका छन् ।

हरेक युवाले जागिरभन्दा पनि उद्यमशीलतासँग जोडिन प्रयास गर्नुपर्ने धरेलको सुझाव छ । उनले धादिङ घर राजधानी काठमाडौंको शोभागभवती चमतीमा आकर्षक र आरामदायी सोफाहरु उत्पादन गरेर बिक्री गर्दै आएका छन् । 

Advertisement

सोफा स्टोरले सोफा खरीद गर्ने आफ्ना ग्राहकलाई होम डेलिभरीको सुविधासमेत प्रदान गर्दै आएको छ ।  गुणस्तरीय उत्पादन र सुविधाका कारण आफूहरुको ग्राहक बढ्दै गएको धरेलले बताए । सस्तोमा पाँच हजारदेखि महङ्गोमा एक–डेढ लाखसम्मको सोफा उनले बिक्री गर्दै आएका छन् । सोफा अर्डर आएको दुई दिनमै तयार हुन्छ र ग्राहकको घरसम्म डेलिभरी हुन्छ । 

व्यवसायमा प्रवेश 
एलसएसी दिएपछि काठमाडौं आएर दाईहरुसँग बस्न थाले र अमृत साइन्स क्यापसमा पढाई अघि बढाए । फुर्सदमा उनी दाईको कोल्ड स्टोरमा काम गर्थे । त्यसरी काम गर्दा धरेलले व्यापारको महत्व पनि बुझ्ने । बर्ड फ्लुका कारण दाई कोल्ड स्टोर व्यवसायबाट विस्थापित हुन बाध्य भए । त्यसपछि उनी फर्निचर व्यवसायमा लागे । बौद्धमा रहेको फर्निचर पसल दिपेन्द्र धरेललाई जिम्मा लगाएर दाई २०६९ साल चैतमा गाउँ फिर्किए । त्यही क्रममा फर्निचरमा ठूलो आगलागी पनि भयो र कारखाना पूरै खरानी भएको तीती सम्झना धरेलले सुनाए । 

उनी भन्छन्, ‘बौद्धको एउटा फाइनान्सबाट लिएको थोरै रकम तिर्न नसक्दा हाम्रो सामान पनि रोकिएको थियो । त्यो बेला हामीलाई थोरै पैसा पनि विश्वास नगर्ने अवस्था थियो । अहिले त्यो सम्झिँदा अच्चम्म लाग्छ ।’ त्यसपछि उनले सोफा स्टोर खोले । 

सोफा व्यवसायमा लागेपछि मिर्चैया, वीरगञ्ज, बुटवल गरी देशका विभिन्न ठाउँमा व्यवसाय विस्तार गर्न सुरु गरे । पुतलीसडक, डिल्ली बजारबाटै सोफाका लागि चाहिने कपडा ल्याउने र नेपालमै उत्पादन भएका वस्तुहरुबाट सोफा तयार गर्दै व्यवसायको दायरा बढाउँदै गए । व्यवसाय सुरु गरेको केही महिनामै एकदेखि दुई लाख रुपियाँको व्यापार हुन थाल्यो । मुसाले सोफा काटेर हैरान गर्ला कि भन्ने चिन्ता धरेललाई सधैं लाग्ने गरे पनि अहिलेसम्म त्यो समस्या भने नभएको उनले सुनाए । 

आवश्यकता र फेसन 
अहिले हरेक घर, कार्यालयमा सस्तादेखि महंगा र आधुनिक डिजाइनसम्मका सोफा देख्न सकिन्छ । सोफा कोठाको आकर्षणका लागि मात्रै नभएर आवश्यकताका लागि बढी हो भन्ने बुझाई धरेको छ । यद्यपि उनले फेसनका लागि पनि अहिले सोफा किन्ने चलन बढेको बताउँछन् । धरेल भन्छन्, ‘आफन्तले किनेको देखेर पनि सोफा किन्न आउनेहरु धेरै भेटिनुहुन्छ ।’

घरमा आउने पाहुनालाई सिधै भुईं वा खाटमा बस्नु भन्न अप्ठ्यारो हुने भएकाले सोफा नै सबैभन्दा सहज माध्यम हुने उनको सुझाव छ । ग्राहकले आफ्नो क्रयशक्तिअनुसार सोफा किन्न सक्ने बताउँदै धरेलले सबैलाई लक्षित गरेर आफूहरुले यसको उत्पादन गर्ने गरेको बताउँछन् । 

रंग लगाउनुनपर्ने भएकाले पनि सोफा चाँडै बनाउन सकिन्छ । बजारमा गुणस्तरमाभन्दा पनि मूल्यमा प्रतिस्पर्धा हुने गरेकोप्रति भने उनी सन्तुष्ट छैनन् । धरेलले सोफा स्टोरमा अनलाइन अर्डरको सुविधा पनि रहेको बताए । ग्राहकको चाहना अनुसारको कपडा र डिजाइनमा आफूहरुले सोफा तयार गर्ने गरेको बताउँदै उनले काठमाडौंको एक ठाउँबाटै भक्तपुर, ललितपुरसम्म व्यवसाय गर्न सफल भइरहेको बताए । 

सोफा स्टोरले सहुलियत दरमा नै सोफा बिक्री गर्ने भएकाले तोकिएको दाममा धेरै घटबढ नगर्ने धरेलको भनाई छ । सोफा स्टोरमा करिब ४० जनाले काम गर्दै आएका छन् । नेपालमै उद्यम गरौं भन्ने सोच हुनेका लागि यहाँ धेरै अवसर रहेको बताउँदै उनले भने, ‘मैले त अहिले पनि विदेश नगई यही काम गर्न सम्भव छ भन्ने देखेको छु । चटपटे व्यवसाय गरे पनि त्यसैबाट राम्रो आम्दानी हुन्छ । बाहिर गएर जसरी हामी काम गछौंं, त्यसरी नै यहाँ पनि काम गर्ने आँट गर्नुपर्छ ।’ 

धरेलले व्यवसायमा पनि धेरै युवाहरु आउन जरुरी रहेको बताउँछन् । उनले भने, ‘यो व्यवसाय दर्ता गर्नुअघि म कुर्सीको चक्का फेरेर दैनिक छ हजार कमाउँथे । मलाई धेरै देखाउनु पर्छ जस्तो लाग्दैन् । धेरैले गाडी किन्न सुझाव दिए पनि । मलाई मोटरसाइकलमै आवत जावत गर्न सहज लाग्छ ।’

धरेलले सोफा व्यवसायबाट आफूहरुले पाँच–दश प्रतिशत नाफा गर्दा पनि राम्रै भइरहेको बताए । उनको सुझाव छ, ‘ तपाईं १५ हजारको लागानी जुटाउनु हुन्छ भने ९ हजारको व्यवसाय गर्नुस । त्यस्तो गर्दा जोखिम कम हुन्छ । जहाँ जे कुराको माग छ, त्यही चिजको व्यापार गर्दा राम्रो ।’

उमेरले ३४ वर्ष मात्रै भएका दिपेन्द्र धरेलले आफै विस्तार गर्दै लैजाने योजना पनि सुनाए । मुख्य कुरा भनेको सोफा राख्नका लागि धेरै ठाउँ चाहिले भएकाले त्यस्तो ठाउँ भेट्न मुस्किल हुने गरेको धरेलले बताए । उनले सोझाको माग दिनप्रतिदिन बढ्दै गएकाले बजारको मागअनुसारका गुणस्तरीय सोझाहरु निर्माण गर्दै काठमाडौं उपत्यका बाहिरसम्म बजार विस्तार गर्दै जाने बताए ।  

Advertisement

Advertisement