सिंहदरबारभित्रका मन्त्रालय र निकायलाई ग्यास सिलिण्डर विस्थापित गर्न उद्योग मन्त्रालयले पत्र पठायो

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्र रहेका क्यान्टिनमा भएका ग्यास चुल्होलाई विस्थापित गर्ने भएको छ । उद्योग मन्त्रालयले सबै मन्त्रालय तथा निकायलाई ग्यास चुल्हो हटाई विद्युतीय चुल्हो प्रयोग गर्न पत्राचार गरेको छ । 

साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापन गर्ने सरकारको उद्देश्यअनुरूप उद्योग मन्त्रालयले अरु मन्त्रालय तथा निकायलाई विद्युतीय चुल्हो प्रयोग गर्न अनुरोध गरेको हो ।

Advertisement

मन्त्रालयको पत्रमा भनिएको छ, ‘ग्यासको उपभोग न्यूनीकरण गरी व्यापार घाटा कम गर्न तथा नेपाल आयल निगमको सञ्चित नोक्सानीमा कमी ल्याउन चालू आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यको बुँदा नम्बर ३५३ महत्वपूर्ण रहेको हुँदा यससम्बन्धी कार्य गर्न अन्य मन्त्रालय निकायमा समेत उक्त बुँदाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन लेखी पठाउने भनी माननीय मन्त्रिस्तरको मिति २०७९–२–२३ मा भएको निर्णयअनुसार अनुरोध छु ।’ 

आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेका तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले एलपी ग्यासको अनुदान कटौती गरी विद्युतीय चुल्होमा अनुदान बढाउने व्यवस्था मिलाइएको उल्लेख गरेका थिए । साथै, बजेटमा आगामी तीन महिनाभित्र महानगर र उपमहानगरबाट समेत ग्यास सिलिण्डर विस्थापित गर्ने र यसलाई राष्ट्रव्यापी अभियानका रूपमा लैजाने भनिएको छ । 

Advertisement

Advertisement