तीन सरकारी बैंकः राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाउँदा अरु दुईको अवस्था कस्तो ?

Advertisement

काठमाडौँ । २६ वटा वाणिज्य बैंक मध्येमा तीन वटा सरकारी बैंकले पनि आव २०७८/७९ को वित्तीय विवरण प्रकाशित गरेका छन् । 

राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा ३७.३८ प्रतिशत नाफा बढाउँदा अर्को सरकारी बैंक नेपाल बैंकले १०.२१ प्रतिशतले नाफा बढाएको छ । तेस्रो सरकारी बैंक कृषि विकास बैंकको भने अघिल्लो आवमा भन्दा गत आवमा २६.१६ प्रतिशत ले नाफा घटेको छ । 

Advertisement

राष्ट्रिय बाणिज्य बैंक २६ वटै क वर्गका बैंक मध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको हो । 

हेरौँ तीन सरकारी बैंकको वित्तीय अवस्थाः  

१. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २१ करोड ४२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेको छ ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपियाँ ३७ पैसा घटेर ३४ रुपियाँ ९० पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ ।

नाफा बढी कमाउने ‘टप फाइभ’ बैंकः कुन बैंकको वित्तीय सूचक कस्तो ?

२. नेपाल बैंक 
नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपियाँ नाफा कमाएको थियो । 

बैंकको नाफा बढेपनि करिब ६१ करोड रुपियाँ रेगुलेटरी रिजर्भमा छुट्याउदा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेको छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ । हाल १४ अर्ब ४० करोड रुपियाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपियाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ २४८.४२ रुपियाँ छ ।

मर्जर/प्राप्ति सम्झौता गरेका आठ वाणिज्य बैंकले कति कमाए नाफा ?, कस्तो छ वित्तीय अवस्था ?

३. कृषि विकास बैंक
कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३६ करोड ४० लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.१६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि अन्य आम्दानी कमजोर भएसँगै बैंकको खुद नाफामा दबाब पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपियाँ ९३ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपियाँ २५ पैसा रहेको छ । यद्यपि बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपियाँ छ । यस अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ०.३१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २.२६ प्रतिशत र कर्जा १८.५४ प्रतिशत बढेको छ ।

प्राप्ति सम्झौता गरेका दुई वाणिज्य बैंक नाफा बढाउनेमा पहिलो र दोस्रो, यस्तो छ वित्तीय अवस्था

Advertisement