नेपालमा भारतीय बिषाक्त माछाको बिगबिगी, तपाईंले पनि कतै उपयोग त गर्दै हुनुहुन्न ?

Advertisement

काठमाडौं । चाडपर्वलाई लक्षित गरी विशेषगरी भारत (इण्डिया)बाट खाद्यान्नलगायतका उपभोग्य वस्तुहरुको आयात पछिल्ला दिनमा बढेको छ । तर त्यसरी आयात हुने अधिकांश वस्तुहरु भन्सार नाकाहरुमा चेकजाँच नै नभई निर्वाधरुपमा प्रवेश हुन्छन् । 

चेकजाँच गर्ने प्रयास गरिए माथिको दबाबमा रोक्नुपर्ने बाध्यता नेपाली पक्षको छ । आयातित खाद्यवस्तु चेकजाँच गरेर मात्रै खानयोग्य भए भित्राउनुपर्ने नियम भए पनि त्यसको पालना नहुँदा नेपाली जनता बिषाक्त र गुणस्तरहीन वस्तुहरु उपभोग गर्न बाध्य हुँदै आएका छन् । त्यसमाथि भन्सार छली गर्ने र चोरीपैठारीबाट सामान आयात गर्ने परिपाटीका कारण नेपाली उपभोक्ताको स्वास्थ्य झन ठूलो जोखिममा पर्दै आएको छ । 

Advertisement

भन्सार नाकामा हुने चेकजाँच नहुने मात्रै होइन्, खुद्रा बिक्रीस्थलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता आयातित वस्तुको खासै चेकजाँच गरेको देखिन्न । गरे पनि आक्कलझुक्कल गर्ने, कैफियत भेटिए पनि कडाई कारवाही नगर्ने चलन छ  । यसरी इण्डियाबाट आयात हुने एक वस्तु हो माछा । 


नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र महतोले इण्डियाबाट नेपालमा माछा आउने क्रम पहिलेदेखि नै भएपनि खाद्य–अखाद्यको चेकजाँच भने हालसम्म पनि खासै नहुने गरेको बताए । संघको नेतृत्वमा २०६९ भदौ २१ गते इण्डियाबाट आएको दुई गाडी माछा समाती विभागलाई परीक्षण गर्न लगाउँदा फर्मालिन (मरेको माछालाई लामो समयसम्म ताजा राख्नको लागि प्रयोग गरिने बिष, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ)को अधिक मात्रा भेटिदासमेत उक्त माछालाई सरकारले खानयोग्य बनाएको स्मरण गर्दै सरकारले नै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको बताए । 

उनले भने, ‘त्यसबेला त्यो माछा खानयोग्य छ छैन भनेर टेष्ट गर्नुपर्यो भनेर सीडीयो कार्यालयमार्फत विभागलाई बुझायौं । माछामा फर्मालिन भेटियो भनेर विभागले प्रमाणित गरेको कुरा मिडियामार्फत समेत प्रचारप्रसार भयो । तर, उहाँहरुले निकालेको रिपोर्टमा ०.२५ मिलिग्राम फर्मालिन भेटियो, यो माछा ६० केजी तौल भएको व्यक्तिले खाँदा स्वास्थ्यमा केही फरक पर्दैन भनेर प्रमाणित गरिदिनु भयो । विष भनेको त विष होला नि । रोगीहरुले माछा खाँदा फाइदा गर्छ भनेर खाने गरिन्छ । तर म ६० केजी तौलको छु, खाँदा केही फरक पर्दैन भनेर खाने हो र ? यस्तो किसिमको रिजल्ट त गैरजिम्मेवार भएन र ?’

महतोका अनुसार त्यसबेला पक्राउ गरिएका दुईवटा गाडीमध्ये एउटामा १४० कार्टुन माछामध्ये ५० कार्टुनको भन्सार कर तिरिएको थियो भने अर्को गाडीको १२० कार्टुन माछामध्येबाट ६० कार्टुनको मात्र भन्सार तिरिएको थियो । यसरी भन्सार कार्यालयको मिलेमतोमा केही मात्रामा भन्सार प्रक्रिया पूरा गर्ने र अरु त्यत्तिकै नेपाल छिराउने गरेको सुनाउँदै उनले त्यसरी पक्राउ गरिएकोमध्ये १३० वटा रहुँ माछा टेष्ट गर्दा ०.२५ मिलिग्राम फर्मालिन पाइएको थियो ।

महतोले भन्सारको मिलेमतोमा पनि अखाद्य माछा नेपाल भित्रिराखेको गुनासो गर्दै भने, ‘एक त भन्सारमा त्यस्तो टाइट छैन अर्को नेपालको क्वारेन्टाइनको चेकपोष्टमा जानुस उनीहरुले छाम्ने र सुघ्नेबाहेक अरु केही गर्दैनन् । त्यो पनि कुर्सीमै बसेर, गाडीसम्म पनि जाँदैन । यसरी सबै कुराहरु हामीले छर्लङ्ग देखेका छौं ।’

त्यतिबेला माछामा नेपाल आत्मनिर्भर नभए पनि अहिले भने सामुन्द्रिक माछाबाहेक रहु, भाकुरलगायत थुप्रै माछा स्वदेशमै उत्पादन बढेको महतोले बताए । करोडौंको लगानी गरेर देशमै उत्पादित ताजा माछालाई भने सरकारले प्राथमिकता नदिएको र इण्डियाबाट आयात हुने कयौं दिनदेखिको बिषाक्त माछालाई भने निर्वाधरुपमा प्रवेश दिने गरेको उनले गुनासो गरे । 

नेपालमा माछाको उत्पादन गर्ने र आत्मनिर्भर हुने प्रचुरसम्भावना भए पनि सरकारले भने इण्डिन माछालाई नै प्रवद्र्धन गर्न खाजेको भन्दै उनले थपे, ‘यो सम्भावनालाई विभिन्न व्यवसायी साथीहरुले बैंकबाट लोन लिएर माछा उत्पादन गरिराख्नु भएको छ । तर, बिक्री हुन नसकेर अहिले सबैको पोखरीमा माछा त्यत्तिकै थन्किएर बसेको छ । यो सिजनको बेलामा भारतबाट धमाधम सस्तो मूल्यमा बिषाक्त माछा आइराखेको छ ।’

महतोले भारत सरकारले आफ्नो कृषकलाई दाना, पानी आदि हरेक चिजमा सुविधा दिने भएकाले भारतबाट सस्तो मूल्यमा माछा नेपाल भित्रिएको सुनाए । उनका अनुसार नेपाल र भारतको एकै प्रजातीको माछा भएपनि भारतबाट ल्याइएको माछा किन्दा नेपाली उपभोक्तालाई सस्तो पर्न जान्छ । तर, आयात गरिएका ती माछा खानयोग्य भने हुँदैनन् । 

महतोले भने, ‘उनी (भारत)हरुको उत्पादन नै सस्तो पर्छ । त्यसैले २२० रुपियाँ किलोमै माछा नेपालमा झर्छ । तर, त्यही माछा हाम्रोमा अलि महङ्गो पर्छ । हाम्रो माछालाई मारेर एक ठाउँमा राख्नु र अर्को ठाउँमा उनीहरुको माछा राख्नुस् । दुई–तीन घण्टापछि हाम्रो माछामा झिङ्गा लाग्न, गल्न सुरु गर्छ । तर, उनीहरुको माछामा न झिँगा लाग्छ न गल्छ । त्यो माछा त्यत्तिकै महिनौं दिन राख्नुस्, केही पनि हुँदैन । ताजा देखिन्छ । भनेपछि त्यो माछालाई केही न केही त गरिएको होला । त्यत्तिकै राख्दा पनि नसड्ने, नगल्ने त माछा हुँदैन । नबिग्रिने नयाँ खालको केमिकल हाल्छन् रे । अब यथार्थ के हो । त्यसको टेष्ट पनि गर्दैन सरकार ।’

आफ्नै देशमा स्वस्थकर माछा उत्पादन गरिराख्दासमेत कतैबाट प्रोत्साहन नभएको गुनासो गर्दै महतोले नेपालमा छ लाखभन्दा बढी जनशक्ति माछा उत्पादनको क्षेत्रमा आवद्ध भएको बताए । उनले भने, ‘यत्रो ठूलो सम्भावना बोकेको क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण एकदमै फितलो छ ।’ 

आजै मात्र माछा व्यवसायीहरुले फोन गरी महोत्तरी, सिन्धुलीमा ‘हाम्रो माछा बिक्री हुँदैन्, भारतीय माछा बिक्री भइराखेको छ’ भनेर आफूलाई जानकारी गराएको भन्दै महतोले अहिले भारतीय माछाको बिक्रीलाई नियन्त्रण गर्न संघ लागिपरेको जानकारी दिए । नेपाली व्यवसायीहरुले माछा बिक्री हुने यो सिजनमा भारतीय माछाले गर्दा लागत पनि नउठ्ने भयो भनेर गुनासो गरेकोले केही ठाउँमा भारतका अखाद्य माछा बिक्रीमा रोक लगाएको उनले बताए । 

राज्यले प्रतिबन्ध गरेको मागुँर माछा (अन्य जातको माछालाई खाइदिने अर्थात् माछा उत्पादनमा बाधा पुर्याउने) समेत भारतबाट धमाधम भित्रिराखेको सुनाउँदै महतोले भने, ‘नेपालमा मागुँर माछा कानुनी रुपमा प्रतिबन्ध छ । यसलाई हामीले चितवनमा पूरै प्रतिबन्ध लगाइसक्यौं । तर पनि चोरी मार्गबाट अन्य ठाउँमा अवैद्य रुपमा भित्रिराखेको छ ।’ 

मगुँर माछामा प्रतिबन्ध लगाए पनि सरकारी निकायका केही कर्मचारीमार्फत नै आयातमा सहजता अपनाइराखेको उनले गुनासो गरे । यससम्बन्धमा संघ तथा माछा व्यवसायीहरुले माथिल्लो निकायलाई जानकारी गराई सबै ठाउँमा पूरै प्रतिबन्ध गर्ने जमर्को गरिराखेको महतोले बताए । साथै, भारतबाट कतिपयले जानेर वा नजानेर मागुँर माछाको भुराहरु ल्याएर नेपालको खोलानालामा छोडिदिने प्रवृत्तिले गर्दा हाम्रो खोलाका अरु थुप्रै प्रजातीका माछाहरु मासिदै गएको उनले सुनाए ।

पछिल्लो समय व्यवसायीको माग माछाको आयातलाई पूरै प्रतिबन्ध गर्नु नभएर अखाद्य, प्रतिबन्ध र अवैद्य माछा नेपालमा नभित्रियोस भन्ने चाहना भएको महतोले बताए । उनले भने, ‘हामी डब्लुटीओमा हस्ताक्षर गरेको मुलुक हो, आयात रोक्नै त मिल्दैन होला । तर, अखाद्य चिज मिसाएर पठाउनु पनि कत्तिको उचित हो ? जनस्वास्थ्यको विषयलाई सरकारले बेवास्ता गर्ने गरेको भन्दै उनले अहिलेसम्म अखाद्य वस्तुहरु टेष्ट गर्ने कुनै पनि बलियो संयन्त्रण र पूर्वाधार नेपालसँग नगरेको बताए । 

महतोका अनुसार नेपालको उत्पादित माछाले यहाँका उपभोक्ताहरुलाई पुग्ने भएपनि अहिले काठमाडौंमा भित्रिएका माछामध्ये ९० प्रतिशत माछा भारतबाट ल्याइएका हुन् । बजारमा नेपालीहरुले राखेका जिउँदो माछाबाहेक अरु मरेका पूरै माछा भारतीय भएको उनले बताए । 

उनका अनुसार हालै चितवनको आपटारी क्वारेन्टाइन चेकपोष्ट, हेटौडाको रातोमाटे चेकपोष्ट, सिन्धुलीको चेकपोष्टमा सुरक्षा निकायसँग समन्वय गरी स्वयम् माछा व्यवसायसमेत अवैधानिक माछा आयातमा कडाइ गर्न लागिपरेको महतोले सुनाए ।

Advertisement

Advertisement