ऊनका उत्पादन एउटै कारखानाबाट करोडौंको निर्यात, कोरोनाले पनि हामीलाई छोएनः श्रेष्ठ

Advertisement

काठमाडौं । नेपालमा हस्तकलाका सामग्रीहरु धेरै प्रकारका बन्ने गर्छन् । तर, खपतको लागि विदेशै पठाउनुपर्ने हुन्छ । विदेशीले मन पराउने हस्तकलाका सामानहरु विदेश पठाउने र यहाँ घुम्न आउने विदेशीले नै बढी रुचाउने हुनाले यसको माग पनि विभिन्न देशबाट हुने गर्छ । 

नुप्से क्राफ्टकी संचालिका शान्ति श्रेष्ठले नेपाली हस्तकलाको सामानप्रति विदेशीको चासो देखेर नै आफू हस्तकलाप्रति आकर्षित भएको बताउँछिन् । उनका अनुसार ऊनबाट बनेको नेपाली हस्तकलाका सामग्रीहरु नेपाली उपभोक्ताहरुले खासै किन्न रुचाउँदैनन् । 

Advertisement

श्रेष्ठले २५ वर्ष अगाडि करिब ५ हजार रुपियाँ लगानीमा एउटा कोठाबाट सुरु गरेको व्यवसाय अहिले दुई करोडभन्दा बढी पूँजीको भएको छ । उनले आफ्नो कारखानाको लागि बनाएको भवनलगायतका संरचना मात्रै एक करोड पूँजीको भएको बताइन् । 

श्रेष्ठले भनिन्, ‘मैले विवाहपछि केही न केही काम गर्नु पर्यो भनेर सुरुमा हस्तकलासम्बन्धी तालिम लिएँ । पछि एउटा सानो कोठाबाट थोरै लगानीमा काम सुरु गरेको हो ।’

श्रेष्ठको कारखाना कपनस्थित शिवपुरी चोकमा साढे दुई रोपनी जग्गामा फैलिएको छ । उनका अनुसार नुप्से क्राफ्टले भेंडाको ऊनबाट विदेशीलाई मनपर्ने विभिन्न प्रकारका सामानहरु बनाउँदै निर्यात गर्छ । यस्ता सामान बनाउन श्रेष्ठको कारखानामा दुई जना पुरुषसहित १२५ जना कार्यरत छन् । 

उनी भन्छिन्, ‘मैले कम आम्दानी भएका परिवारका महिला, दुःख परेका दिदीबहिनीलाई कामको प्राथमिकता दिने गर्छु ।’ वातावरणलाई हानी नपुर्याउने, बालश्रमिक प्रयोग नगरी  कारखाना संचालन गर्दै आएको सुनाउँदै श्रेष्ठले आफ्नो कारखानामा काम गर्ने महिलाहरुले मासिक ५० हजारसम्म कमाउने गरेको बताइन् । 

उनले भनिन्, ‘मेरोमा प्रायःले पिसको आधारमा तलब खाने हुनुहुन्छ । उहाँहरुले कम्तिमा पनि ३० देखि ३५ हजार प्रतिमहिना कमाउनु हुन्छ । दैनिक रुपमा काम गर्ने ९५–१०० जनालाई मैले खाजा, बोनस, आवश्यकतानुसारको यातायात खर्चसमेत दिने गर्छु ।’ 

तर, कामदारको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भने आफ्नो जस्तो हस्तकलाका उद्योगलाई निकै गाह्रो भएको श्रेष्ठको गुनासो छ । उनले भनिन्, ‘प्रायःले एक–दुई महिना काम गर्ने, छोडने भइराख्ने भएकाले समस्या भएको हो । दुई चार वर्ष काम गर्नुभयो भने त समस्या हुँदैन्थ्यो । तर, यस्तो खासै हुँदैन ।’ 

श्रेष्ठले नुप्से क्राफ्टले बनाएका सामानहरु विशेष युरोप र अमेरिका निर्यात हुने गरेको बताइन् । उनले भनिन्, ‘हाम्रो उत्पादन भनेको भेडाको ऊनबाट सामान हातले नै बनाउने हो । मेसिन केही पनि छैन् र चाहिँदैन पनि । खेलौना, झोला, पर्स, जुत्ता, ब्याग, क्रिसमसका आइटम, बल, फलफूल, विभिन्न प्रकारका जनावर–किराका किरिङहरु, सजावटलगायत धेरै प्रकारका सामानहरु हातले नै बनाउँछौं । ती सामान बनाउन कच्चा पदार्थ न्युजिल्याण्डबाट आउँछ । र, हामीले बनाएका सामानहरु युरोप, अमेरिका र कहिलेकाहीँ जापान निर्यात हुन्छ ।’

उनका अनुसार नुप्सेले उत्पादन गर्ने सामानहरुमा न्यूजिल्याण्डबाट ल्याइएको भेडाको ऊन धेरै खपत हुन्छ भने अन्य कच्चा पदार्थमा भारतबाट आयात गरिने धागो, जिपर, ब्यागको भित्री कपडा प्रयोग हुने गर्छ । तर, ती सामग्रीहरु बनाउन चाहिने कच्चा पदार्थ भने आफूले सिधै विदेशबाट खरिद नगरेर आयातकर्ताहरुसँग लिने गरेको उनले बताइन् ।

गत आर्थिक वर्ष (२०७८–७९)मा भेडाको ऊनबाट बनेको सामान मात्रै पाँच अर्ब रुपियाँको निर्यात भएको थियो । हस्तकलाको सामानमध्ये सबैभन्दा बढी निर्यात हुने सामानमा श्रेष्ठका जस्तै उद्योगीले बनाएका सामान हुने गरेको छ । 

आफ्नो उद्योगले बनाएका सामान उच्च कोटीको रहेको र विदेशीले धेरै मनपउने गरेको अनुभव सुनाउँदै उद्यमी श्रेष्ठले ऊनबाट बनेका सामानहरु पस्मिनाभन्दा पनि बढी निर्यात हुने गरेको बताइन् । उनले सबैभन्दा बढी आफ्नो फ्याक्ट्रीले बनाएको सामानमध्ये पछिल्लो समय विशेषगरी फूल र बिरालो बस्ने घर अमेरिका, जापान, अफ्रिकालगायतका देशबाट माग आउन थालेको बताइन् । 

गत आर्थिक वर्षमा भेडाको ऊनबाट बनेका सामानहरुको कूल निर्यातमा एक प्रतिशत नुप्से उद्योगको योगदान रहेको श्रेष्ठले बताइन् । कोरोनाको समयमा समेत आफ्नो उद्योगलाई कुनै हानी नोक्सानी नभएकोले गर्दा श्रेष्ठले संक्रमणको बेला समेत कोही पनि बेरोजगार भएर बस्नु नपरेको सुनाइन् ।

विदेशीको मागलाई नेपालका उद्योगीहरुले धान्न सके पनि पछिल्लो समय भने भारतले समेत भेडाका ऊनबाट विभिन्न सामग्री उत्पादन गर्न थालेको उनले बताइन् । श्रेष्ठका अनुसार अब भने भारतीय बजारसँग नेपालका उद्योगीहरुले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

Advertisement

Advertisement