गोलकिपर किरण चेम्जोङले बंगलादेशविरुद्धको खेलमा कप्तानी गर्ने, के भन्छन् चेम्जोङ ?

Advertisement

काठमाडौं । मंगलवारलाई तय भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको खेलमा गोलकिपर चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रंगशालामा मंगलवार  साढे ५ बजे हुनेछ । सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईसँगै कप्तानका रुपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे । 

Advertisement

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए । प्रशिक्षका हुमागाईले नेपाली टोलीको तयारी राम्रो भएको बताए । 

यसअघि एशिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् । 

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी  २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५  खेल बराबरीमा सकिएको छ ।

Advertisement

Advertisement