बीमामा नयाँ बदमासीः खसी आफू खाने, ‘बाघले खायो’ भन्दै ट्याग लिएर गएर बीमा दावी गर्ने

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा नयाँ नयाँ बिकृति देखिने क्रममा नयाँ खालको बदमासी पनि देखिन थालेको छ । खसीबोका लगायतका पशुहरु आफै काटेर खाएर त्यसलाई बीमा गर्ने क्रममा लगाइएको ट्याग देखाउँदै बीमा दावी गर्ने घटना देखिन थालेपछि बीमा कम्पनीहरु झस्किन थालेका छन् । 

बाघले खायो, चोरी भयो भन्दै बीमा गर्ने क्रममा लगाएको ट्याग मात्रै देखाएर दावी भुक्तानीका लागि मानिसहरु आउने क्रम बढेपछि पशु बीमा विवादमा परेको हो । नक्कली बीमाको समेत दाबीका लागि माग आउन थालेको भन्दै कम्पनीका सीईओहरुले गुनासो गरेका छन्  

Advertisement

दशैंमा बीमा गरेका खसी, बोका, राँगा, सुँगुर काटेर खाने र त्यस्ता पशुहरुको ट्याग आउने क्रम बढेपछि कम्पनीहरु सतर्क भएका हुन् । सोही कारण दशैपछि पशु बीमामा ह्वात्तै दाबी भुक्तानी पनि बढ्ने गरेको उनीहरु बताउँछन् । 

पशु बीमामा अवस्थ प्रतिस्पर्धा हुने सम्भावना भए यस्ता विकृति न्यूनीकरण गर्न आफूहरुले जोखिमाङकन र क्षतिको मूल्यांकन गर्ने कुरामा कडाई गरेको नेपाल इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ ईश्वर पोखरेलले बताए । 

उनले अहिले मात्रै नभएर विगतदेखि नै पशु बीमामा समस्या झेल्दै आएको बताए । पोखरेलले पशुबीमामा अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने ठाउँहरु रहेकाले पनि यस्तो समस्या आएको हुनसक्ने प्राविधिकहरुको भनाई उदृत गर्दै बताए । 

उन भने, ‘पशु बीमाको बारेमा बीमा कम्पनीहरुले राम्रोसँग जाँचबुझ गरेर मात्र भुक्तानी दिनुपर्छ । हामीले बीमा गरेको कुनै पनि पशुहरुलाई क्षति भएको खबर पाएमा त्यहाँ हाम्रा प्राविधिकहरु पठाउँछौं । त्यस्ता प्राविधिकले दिएको नतिजा अनुसार बीमितले दाबी भुक्तानी के कति पाउने वा नपाउने ? भन्ने निर्धारण हुन्छ ।’

पोखरेलले विशेषगरी विदेशबाट ल्याइने बोयर बोकाको हकमा प्राविधिकहरुले विशेष चेकजाँच गर्ने गरेको सुनाउँदै कम्पनीहरुले नै बोयर बोकाको नाममा ‘क्रस ब्रिड’ गरिएका हाईब्रिड पशुहरुको बिगबिगी बढेको जानकारी दिए ।

चोरी भएका पशु र बाघले खाएका पशुहरुको पनि बीमा कम्पनीले पूरै बीमांक दिनुपर्ने नियम छ । त्यही बहानामा यस पटकको दशैंमा पनि काटेर खाएका पशुहरुको पनि ट्याग बीमा कम्पनीमा आउने सम्भवना रहेको बताए । 

कुनै पनि पशु प्राकृतिकरुपले मरेको खण्डमा मात्रै आफूहरुले पैसा दिने भएकाले अन्य कारणले मरेका वा मारिएका पशुको बीमांकका लागि आउने, झुट्टा कुरा गरेर बीमा दावी माग गर्ने काम नगर्न कम्पनीहरुले आग्रह गरेका छन् । 

Advertisement

Advertisement