रवीन्द्र मिश्रको समूहलाई भित्राएपछि लिङदेनले भने– अबको चुनावपछि पहिलो शक्ति राप्रपा हो

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन् । 

मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउनसक्ने उनको भनाई थियो । रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार आयोजित कार्यक्रममा लिङदेनले पार्टीका अगुवा नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढन पनि निर्देशन दिए । 

Advertisement

उनले सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । लिङदेनले भने, ‘हामीले ठिक ढंगले अगाडि गयौं भने म फेरि पनि भन्छु– राष्ट्रिय प्रजातन्त्र पाटी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ । हारिन्छ कि भन्ने हिन मानसिकतालाई त्यागेर अगाडि जानुपर्यो । म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेर अगाड बढन आग्रह गर्दछु । पछाडि हट्ने होइन्, भाग्ने होइन् ।’ 

उनले थपे, ‘म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरु, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस् । हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं । हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेश सभाको निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेर जान्छौं । त्यसकारण सबैलाई उच्च मनोबलका साथ अगाडि बढन आग्रह गर्दछु । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’

Advertisement

Advertisement