सिट बाँडफाँटको किचलोले सत्ता गठवन्धन टुट्यो, जसपाका मन्त्रीहरु बिलखबन्दमा

Advertisement

काठमाडौं । आसन्न संसदीय निर्वाचनमा सिट बाँडफाँटको किचलोका कारण सत्ता गठवन्धन टुटेको छ । सत्ता गठवन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेसँगै गठवन्धन टुटेको हो । 

गठवन्धनमा सत्ता बाहिर रहेको अर्को मधेसी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेको छ । जसपा गठवन्धनबाट बाहिरिएसँगै सो पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु बिलखबन्दमा परेका छन् । 

Advertisement

स्थानीय चुनावपछि गटबन्धनप्रति असन्तुष्ट देखिएको उपेन्द्र यादव नेतृत्वको जसपा अन्ततः गठवन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेको हो । यद्यपि यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । सत्ता गठवन्धन र एमालेसँग बार्गेनिङ गरिरहेको जसपालाई गठवन्धनले १४ देखि बढीमा १६ सिटसम्म दिन तयार देखिएको थियो । तर उसले त्यसको झण्डै दोब्बर सिट दावी गर्दै आएको थियो । एमालेले बढीमा २२ सिट दिन तयार भएको छ । 

आज शुक्रबार जसपाका नेता सत्ता गठवन्धनको बैठकमा नगएपछि लोसपाका नेताहरुलाई बोलाएर छलफल गरिएको हो । छलफलपछि लोसपा सत्ता गठवन्धनमा सामेल हुन तयार भएको छ । उसले मुख्यमन्त्रीसहित १५ सिट दावी गरे पनि गठवन्धनले भने आठ सिट मात्रै दिन तयार भएको छ भने मुख्यमन्त्रीमा लचक हुन सकिने संकेत दिएको छ । 

अहिलेसम्म कांग्रेसको ८४, माओवादी केन्द्रको ४७, एकीकृत समाजवादीको २० र राष्ट्रिय जनमोर्चाको २ सिट टुंगिएको छ । बाँकी सिटमा शनिबारसम्म सहमति खोज्ने तयारी गरिएको छ । आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । अन्तिमसम्म पनि सिट बाँडफाँटमा तलमाथि हुनसक्ने देखिन्छ । 

सरकारमा अहिले जसपाबाट चार जना मन्त्रीहरु छन् जसमा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्रकुमार सिंह, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव छन् ।

Advertisement

Advertisement