शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोकिने, बिक्री गर्नेलाई रु. एक लाखसम्म जरिवाना

Advertisement

काठमाडौं । वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माईकिङ तथा अनुगमन गर्ने भएको छ । 

तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताएका हुन् । 

Advertisement

उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताए । घिमिरेले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए । 

उनले गत साउनदेखि नै  प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको बताए । घिमिरेले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १  लाख रुपियाँसम्म जरिवाना गरिने बताए । 

उनले अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को  खण्ड (क) वा (ख) बमोजिम १५ हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपियाँसम्म जरिवाना हुने सुचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताए । 

घिमिरेले प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीवितरण गर्ने र प्रयोग गर्नेहरुको लागि बिहीवार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रवार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारी विभागको रहेको बताए । उनले सरकारले प्लाष्टिकजन्य फूलमालाहरु आयात गर्ने नै प्रतिवन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारी भन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने पनि बताए । 

Advertisement

Advertisement