पुरातात्त्विक अध्ययनअनुसार टुकुचाको सुरुङ भत्काउन नपाइने, बालेनलाई धक्का

Advertisement

काठमाडौं । पुरातात्विक अध्ययनले टुकुचाको सुरुङ भत्काउन नमिल्ने देखिएको छ । काठमाडौं महानगरपालिकाले सुरुङ भत्काएर खोलालाई प्राकृतिक स्वरुपमा फर्काउने तयारी गरेको बेला पुरातत्व विभागले टुकुचाको सुरुङ पुरातात्विक भएको बताएको हो । 

सुरुङ भत्काउने क्रममा महानगरपालिकाले हात्तिसारका केही स्थानमा सुरुङ खोतल्ने कामसमेत गरेको थियो । विभागले आफूले गरेको अध्ययनअनुसार टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएकाले यसलाई संरक्षण गर्नुपर्ने ठहर गरेको छ ।

Advertisement

विभागले टुकुचा भूमिगत सुरुङ अध्ययन गर्न पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनमा उक्त सुरुङ पुरातात्विक सम्पदा भएको ठहर गर्दै भत्काउन नमिल्ने सुझाव दिएको हो । 

महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा टुकुचाको सुरुङ उत्खनन् सुरु भएपछि जनमत विभाजित भएको थियो । सुरुङ निर्माण राणाकालिन समयमा भएका तथ्यहरु भेटिन थालेपछि विभागले अध्ययन गर्न समिति बनाएको थियो । समितिले अध्ययन सकेर समितिलाई बुझाएको प्रतिवेदनले टुकुचा भत्काउने अभियान अघि बढाएका बालेनलाई धक्का लाग्ने देखिएको छ । 

ईंटा र सुर्की चुना प्रयोग गरेर निर्माण गरिएको टुकुचाको सुरुङमा अहिलेसम्म पानी जमेर खोतल्नुपरेको पाइएको छैन् । गुम्बज आकारमा ईंटाहरु जोडेर निर्माण भएको यो सुरुङ हात्तिसारको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म रहेको छ । 

विभागको अध्ययन प्रतिवेदनाई महानगरपालिकाले कसरी लिन्छ ? त्यो भने हेर्न बाँकी छ । महानगरपालिकाले खोला अतिक्रमण गरेर संरचना बनाइएको भन्दै ती संरचना भत्काउने र टुकुचा किनारलाई नयाँ ढंगबाट विकास गर्ने यसअघिको योजनालाई कार्यान्वयन अघि बढाउने बताएको थियो । 

टुकुचा उत्खनन् गरे पनि लक्ष्मी बैंक नभत्किने

यदि महानगरपालिकाले टुकुचा खोला उत्खनन गरे पनि सोही खोलाको मार्गमा पर्ने लक्ष्मी बैंकको भवन भने नभत्किने गरी निर्माण भएको पाइएको छ । 

लक्ष्मी बैंकसहित विभिन्न कम्पनीहरुको कार्यालय रहेको भवनमा टुकुचा बग्ने खण्डमा भवनको मुख संरचना नरहेको र खोला माथी पनि सिमेन्टिको स्ल्याबहरु राखीकाले सो ठाउँ खाली गरेर भवनलाई दुई खण्डमा छुट्टाउन सकिनेगरी यसअघि निर्माण भएको पाइएको हो । 

यदि टुकुचा खोला उत्खनन गरियो भने एक भवनबाट अर्कोमा जान आउन पुल निर्माण गर्न दिनुपर्ने, त्यस्तो पुल आवश्यक परे आफूहरुले बनाउन र बगैंचासहितको सजावट गर्न तयार रहेको लक्ष्मी बैंक स्रोतको भनाई छ । 

लक्ष्मी बैंक बसेको जग्गाको क्षेत्रफल ५८ आना छ । उनीहरूले यो जग्गा २०५७ र २०६३ गरी दुईपटक गरेर सुनीलकृष्ण ताम्राकार, निलिकृष्ण ताम्राकार, महेश्वरराज वैद्य, डा. सच्चेकुमार पहाडीबाट किनेका थिए । तर यी जग्गाको मूल स्रोत ओमकारशमशेर जंगबहादुर राणा भएको मालपोतको लालपुर्जाबाट देखिन्छ । ओमकार शाम्बशमशेरका छोरा र वीरशमशेरका पनाति हुन् । 

Advertisement

Advertisement