आर्थिक मन्दीको असरः तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले गिरावट

Advertisement

काठमाडौं । आर्थिक मन्दीका कारण घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जग्गाको कित्ताकाट ८६.२४ प्रतिशतले कमी आएको छ । 

गत आर्थिक वर्ष २०७८–७९को साउन, भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९–८० को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो । 

Advertisement

आर्थिक वर्ष २०७८–७९ को साउन, भदौ र असोज महिनामा चार लाख ४१ हजार ७७० भएको कित्ताकाट आर्थिक वर्ष २०७९–८० को सोही तीन महिनामा ५६ हजार ३६० कित्ताकाट भएको विभागले बताएको छ । घरजग्गाको कित्ताकाटमा गिरावट आउनुमा भू–उपयोग नियमावलीको असर पनि देखिन्छ । यो नियमावली लागू भएसँगै शहरी क्षेत्र र बाहिर जिल्लाहरुमा समेत जग्गाको कित्ताकाट घट्न सहयोग गरेको हो । 

विभागका सूचना अधिकारी विष्णुकुमार महतले भू–उपयोग नियमावली अनुसार स्थानीय तहहरुले जग्गा वर्गिकरण गर्न नसक्दा कारोबार तथा कित्ताकाटमा कमी आएको बताए । उनले चालु आर्थिक वर्षको तीन महिनामा गत आर्थिक वर्षको तुलनामा घरजग्गाको कित्ताकाट, कारोबार र राजश्व संकलनमा समेत कमी आएको स्वीकार गरे । महतले चालु आर्थिक वर्षको साउन महिनामा ९८ हजार ६४ कारोबार हुँदा ९ अर्ब ९३ करोड ४२ लाख ४१ हजार राजश्व भएको बताए । 

उनले भदौ महिनामा १ लाख ८ हजार ८८१ कारोबार हुँदा ३ अर्ब ५६ करोड रुपियाँ राजश्व उठाएको पनि बताए । महतले पछिल्लो महिना विभिन्न चाडपर्वका कारण सरकारी कार्यालयहरुमा बिदा हुँदा कारोबारमा कमी आएको दाबी गरे । उनले घरजग्गाको कारोबार र कित्ताकाट घट्दै जानुमा भू–उपयोग नियमावली लगायत बैंकिङ प्रणालीले लिएका नीतिहरु बढी प्रभाव पार्ने बताए । 

महतले पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएको मन्दी, बैंकहरुले घरजग्गा कारोबारमा गरेको कर्जाको व्यवस्था, राष्ट्र बैंकले लिएको नीति, सरकारले नयाँ शहर निर्माण गर्ने लिएका नीतिहरु र पुँजीगत खर्चको नीतिले पनि घरजग्गा कारोबारमा प्रत्यक्ष प्रभाव पर्ने उल्लेख गरे । उनले भू–उपयोग नियमावली अनुसार स्थानीय तहले भू–उपयोग परिषद्मार्फत तत्काल जग्गाको वर्गीकरण गरे मात्रै घरजग्गाको कित्ताकाट तथा कारोबार बढ्ने बताए । 
 

Advertisement

Advertisement