अब जो पनि बीमा अभिकर्ता बन्न पाउँदैन, योग्य हुनुपर्छः सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले अब जोकोही पनि सहजै बीमा अभिकर्ता बन्न नपाउने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नयाँ बीमा ऐनले नै यस्तो व्यवस्था गरेको बताउँदै हरेक अभिकर्ता एउटा कम्पनीमा मात्रै आवद्ध हुन पाउने बताए । 

सिलवालले भने,  ‘अहिलेसम्म जे जे भयो भयो, त्यो सक्कियो । तर, अबदेखि बीमा अभिकर्ता भनेको जो पनि बन्न पाउँदैन । यसमा कम्पनीले राम्रा व्यक्ति छान्नुपर्छ । जसलाई पनि अभिकर्ता बनाउनु पर्यो भन्दै हामी कहाँ पठाउने भन्दा पनि क्षमता भएका व्यक्तिलाई नै जिम्मेवारी दिनुपर्छ भन्ने मेरो भनाई हो ।’

Advertisement

यता जीवन बीमा कम्पनीहरुले ऐन ऐनलाई देखाउँदै अभिकर्ताको लाइसेन्स प्रक्रिया रोक्दा नयाँ अभिकर्ता भर्ना गर्न नपाएको गुनासो गरेका छन् । अभिकर्ताहरु जति धेरै भयो, त्यति नै व्यवसाय बढ्ने सम्भावना हुने कम्पनीहरुको भनाई छ । तर प्राधिकरणले संख्या धेरै बनाउने भन्दा पनि अब अभिकर्ताको दक्षता बढाउनेतिर ध्यान दिन सुझाव दिएको छ । 

तर जीवन बीमा कम्पनीहरुले भने अहिले व्यवसाय लिएर कम्पनीमा आइरहेका अभिकर्तालाई फर्काउनुपरेको भन्दै दुखेसो पोखेका छन् । उनीहरुले नयाँ बीमा ऐनका कारण आफूहरुको व्यवसाय गुमेको बताएका छन् । 

के भन्छन् सिलवाल ?
अहिलेको नयाँ ऐनले अभिकर्तालाई अब आफ्नो रुचीको कम्पनी छान्ने अधिकार दिएको छ । कुन अभिकर्ता कहाँ बस्ने ? भन्ने पनि अब मापदण्ड चाहिने भएको छ । खाली अभिकर्ता भर्ना मात्र गरेर बस्ने काम बीमा कम्पनीहरुले गर्न हुन्न । 

अभिकर्ताको पूरा निरीक्षण गर्न जरुरी छ । दक्षता हेर्नु जरुरी छ । सबै काम प्राधिकरणले मात्रै गरेर हुँदैन् । कम्पनीको पनि जिम्मेवारी हुन्छ । अभिकर्ताको नयाँ भर्ना लिन समस्या भएको भन्दा पनि प्राधिकरणले बीमाको विशेष ज्ञान भएका र बीमा गराउने योग्यता भएकालाई मात्र अभिकर्ता बनाउनु भनेको छ ।  

अब हामीले पनि अभिकर्ताका लागि केही विशेष व्यवस्था सुरु गर्न मात्रै बाँकी हो । यही बेलामा बीमा कम्पनीहरुले पनि कुन कुन अभिकर्ताहरुलाई कहाँ कहाँ काम लगाउनुपर्ने हो ? त्यसको लिस्ट निकाल्नु पर्ने हो नि । बीमा प्राधिकरणको तर्फबाट हुने काम हामी गर्छौ । कम्पनीले पनि त आफ्नो तर्फबाट हुने काम गर्नु पर्यो । 

Advertisement

Advertisement