समस्या परेपछि अभिकर्तालाई दोष थुपार्ने होइन्, बरु दक्षता बनाउन ध्यान दिइयोस्ः तिवारी

Advertisement

काठमाडौंं । पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले गुणस्तरीय अभिकर्ताको सधैं अभाव हुने गरेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अभिकर्ताहरुलाई उपयुक्त तालिमको खाँचो रहेको बताए । 

अभिकर्ताहरुलाई दोष थोपर्न अग्रसर हुने तर उनीहरुलाई तालिम दिएर दक्षता बढाउन भने सरोकारवाला उदासिन हुने गरेको बताउँदै तिवारीले अभिकर्ताको मागलाई जहिले पनि प्राधिकरणले बेवास्ता गर्दै आएको गुनासो गरे । 

Advertisement

उनले भने, ‘अहिले बीमा अभिकर्ताहरुलाई लक्षित गरेर नयाँ नियमावली बन्दै गरेको अवस्था छ । नियमावलीले अभिकर्ताहरुको क्षमता वृद्धिलाई ध्यानमा राखोस् भन्ने हाम्रो माग छ । नेपाल बीमा प्राधिकरणले पहिलेदेखि नै अभिकर्ताहरुको मागलाई बेवास्ता गर्दै आयो । नेपालका कसरी दक्ष अभिकर्ता उत्पादन गर्ने ? उनीहरुको पेशागत अधिकार कसरी सुरक्षित र व्यवस्थित गर्ने ? भनेर कहिल्यै चासो दिएन् । बरु समस्या पर्दा दोष चाहिं थोपर्न अग्रसर भयो ।’

बीमा क्षेत्रले नयाँ ऐन पाएको अवस्थामा बिगतमा पूरा गर्न नसकेका कुरा अब गर्छ कि ? भन्ने आशा पलाएको बताउँदै तिवारीले बीमा क्षेत्रको विकास गर्ने भन्दैगर्दा यस क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने अभिकर्ताहरुको हक हितमा बीमा प्राधिकरणले नयाँ निर्देशिका जारी गर्नु आवश्यक रहेको बताए । 

समय अनुसार प्राधिकरणका नीति नियम परिमार्जन हुन आवश्यक रहेको उनको भनाई छ । त्यसमा आफूहरुको पनि भनाई पनि सुनुवाई हुनुपर्ने तिवारीले जोड दिए । आफ्नो कमजोरीको दोष अभिकर्तामाथि थोपरेर नेपालको विकास विकास हुन नसक्दैन र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धी पनि हुनसक्दैन भन्दै उनले बीमा क्षेत्र नियमन गर्नेदेखि व्यवसाय गर्नेसम्मले नयाँ ढंगबाट सोच्नुपर्ने बताए । 

अन्य देशका अभिकर्ताहरुले अन्तर्राष्ट्रियस्तरको तालिम लिने गरेको तिवारीले उदाहरण दिए । नेपालमा भने अभिकर्ताले तालिम देख्न पाउनु पनि ठूलो कुरा उनले बताए । तिवारीले भने, ‘मैले बारम्बार भन्दै आएको कुरा के हो ? भने अभिकर्ताहरुलाई बीमा कम्पनीले छनोट गर्ने र लाइसेन्स चाहिं बीमा प्राधिकरणले दिने व्यवस्था सही होइन । यो सच्याउनु पर्छ । अब बीमा अभिकर्ता छान्ने काम र लाइसेन्स दिने दुवै काम बीमा प्राधिकरणले गर्नुपर्छ ।’

साथै, अध्यक्ष तिवारीले अभिकर्ता एकभन्दा बढी कम्पनीमा काम गर्न नपाउने कुरा जबर्जस्ती पास गरिएको पुनः बताए । व्यवहारिकरुपमा सो कुरा लागू गर्न धेरै कठिनाई हुने उनको भनाई छ । अभिकर्तालाई व्यवसाय पाइँदैन भन्ने डर र कम्पनीहरुलाई पाएको व्यवसायसहित अभिकर्ता गुमाउनुपर्छ भन्ने अवस्था सिर्जना हुन थालेको तिवारीले बताए । 

Advertisement

Advertisement