पशुपति विकास कोषले शिवरात्रीका लागि छुट्टायो ८० लाख बजेट, गुरु नन्दस्वामी लागि ३५ लाख

Advertisement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि ८० लाख रुपियाँ विनियोजन गरेको छ । शिवरात्री आउने एक महिना अगाडी नै कोषले बजेट विनियोजन गरेर तयारी सुरु गरेको हो । 

शिवरात्रीलाई लक्षित गर्दै सडक छेउछाउ रङरोगन गर्ने, मन्दिर परिसरमा सरसफाई गर्ने, बत्तिहरु जडान गर्ने, फूलमायाबाट सजाबटका लागि तयारी गर्ने, मेला व्यवस्थापनका लागि अरु तयारी गर्ने काम गरेको बताउँदै कोषका प्रवक्ता रेवतीरमण अधिकारीले यस्ता कामहरुका लागि ८० लाख रुपियाँ विनियोजन गरिएको बताए । 

Advertisement

यस वर्षको महाशिवरात्रीमा जगत गुरु सरस्वती नन्दस्वामी आउने बताउँदै उनले यस बर्षको शिवरात्रीमा भीडभाड बढी हुने अनुमान गरे । गुरु नन्दस्वामीले आउँदो फागुुन ४ देखि शिवरात्रीसम्म वेद प्रवचन गर्ने कार्यक्रम छ । 

स्वामीको भोजन र कार्यक्रमका लागि कोषले छुट्टै ३५ लाख बजेट छुट्टाएको अधिकारीले बताए । शिवरात्रीमा भीड धेरै हुने भएकाले सुरक्षा व्यवस्था बलियो बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी आठ हजार, ५५ जना कोषका सुरक्षाकर्मी र विभिन्न संघसंस्थाले १० हजार स्वयम सेवक परिचालन गर्ने तयारी भइरहेको उनले बताए । 

पशुपतिमा महाशिवरात्री पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदन किरातीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ । उक्त दिन पशुपति दर्शन गर्न आउनेले बहुमूल्य गरगहना लगाएर नआउन अधिकारीले आग्रह गरे । 

शिवरात्रीको दिनदेखि पशुपतिमा सुरु हुने सात दिने बजारी मेलाको लागि २० लाख रुपियाँमा ठेक्का दिने तयारी भइरहेको पनि उनले बताए । अधिकारीले एक हजार जति साधुसन्त आउने अनुमान गरिएको बताउँदै उनीहरुका लागि भोजन र शिवध्वनी जगाउन दाउराको व्यवस्था कोषले गर्ने बताए । 

Advertisement

Advertisement