शासन भित्रका परजीवीहरू

Advertisement

कुमार दाहाल
शासन, राजनीति र प्रशासनको उर्वरभूमि हो जहाँ अनेक प्रवृत्ति जन्मन्छन्, बढ्छन्,र हुर्किन्छन् । चाडक्यले आफ्नो नीतिमा यो कुरा त्यतिखेरै भनेका छन् । शासनको प्रवृत्ति शुद्ध पार्न पूर्व र पश्चिममा राजनीति सिमारेखा तयार भए । यही उर्वरतामा समाजवाद ,पूँजीवाद र अनेक धर्म सम्प्रदायले शासन गर्दै गए, जसको प्रतक्ष्य प्रभाव अहिलेको विकास, समृद्धि, र गरिबीमा एकैचोटी देखिँदैछ । उपयोगितावादको परिवेशमा हाम्रो शासनभित्र अवसरवाद ,झुटतन्त्र र अविश्वासको प्रवृत्ति फरक तरिकाले बढ्दैछ, जसले जनताको राजनीति र शासनप्रतिको विश्वासलाई घटाउँदै लगेको छ । यसमा हामीमात्र दोषी छैनौ । सीमापारीको राजनीति र भूमण्डीकरणको स्वार्थ यसैभित्र छिपेको छ ।

हाम्रो शासनले स्वीकार गरेको राजनीतिभित्र सिद्धान्त छैन् । बाद मात्र छ। राजनीतिक दलहरुलाई यो विषयले चस्स दुख्न सक्छ । किनकि उनीहरु यो मान्न तयार छैनन् । राजनीतिको एउटा दृष्टिकोण हुन्छ । लक्ष्य हुन्छ । ध्येय हुन्छ । शासन र जनतालाई हेर्ने दृष्टिकोण प्रष्ट हुन्छ । हामीकहाँ शासन सञ्चालन गर्ने राजनीतिक पार्टीहरूको दूरदर्शिता धमिलो छ । त्यसैले हलक्क बढेको राजनीतिक संस्कार र सामाजिक संजालले प्रख्यात बनाएका अनुहारहरू राजनीतिको पृष्ठभूमिमा देखिन थालेका छन् । प्रजातन्त्रको परिभाषाले यसलाई गलत मान्दैन् । तर हुर्किंदै गरेको संस्कारले शासन प्रणालीलाई जनमुखी बनाउन कठिन छ ।

Advertisement

अहिले रवि लामिछाने प्रकरण पहिलो पंक्तिमा छ । यो विगत कै शासनप्रणालीको उत्पादन हो । नयाँ होइन । शासनलाई भजाएर कतिले आफूलाई पालेका छन ? र, कसरी देश आजको अवस्थामा छ ? भन्ने अरु प्रमाण खोज्नु पर्दैन । उनका भनार्इ पर्याप्त छन् । कानून बजारमा बिक्री भएको छ ।   खरिद र विक्रेता को को हुन् ? मोलमोलाइ पो नमिलेको हो कि ! उनको भनाइ अस्पष्ट छैन् । 
 
शासन प्रणाली दरिलो हुन राजनीति बलियो हुनुपर्छ । तर हामी सर्वोच्च अदालतको फैसलामाथि शंका गर्छौं । किनकि अनेकौं फैसलाहरु शंकाबाट मुक्त छैनन् । संवैधानिक अङ्ग, प्रशासनिक निकाय, न्यायालयका निर्णयलाई फाइदा बनाएर जिविका चलाउनेहरुको संख्या बढेपछि हुने यस्तै हो । व्यापारी, उद्योगपति ,मिडियाकर्मी, प्रशासक सबै शासनबाट प्रतिफल चाहान्छन् । यो प्रतिफल सर्वसाधारण जनताको घर दैलोसम्म पुगेकै छैन् ।सार्वजनिक पदमा नियुक्तिका फाइदा थुप्रै छन् । यहाँ अर्काको बाको श्राद्ध गर्न पाइन्छ । मैले नतिजा दिन सकिन, राजीनामा दिन्छु भन्ने कुनै मन्त्री, सचिव यहाँ भेटिदैन । तर हाम्रो सुशासन र समृद्धि कता जाँदैछ। देखेकै छौं । यी शासनका परजीवी नभए को हुन त ?  तर  हामी आफूलाई सधै गेम चेन्जर ठान्छौ ।

फौबन्जार असल कलाकार हो । नाफा र घाटा सधैभरी उसैको हातमा हुन्छ । क्रेता र विक्रेता दुवै उसका ग्राहक हुन‌ । अहिलेको राजनीति र शासन भित्रको प्रकरण यो भन्दा फरक छैन् । सबै आफ्नो ठाउँमा चुपचाप बस्ने र बेफाइदामा एकआपसको पोल खोल्ने प्रवृत्तिले शासनका परजीवीहरू झन् बढ्दै गएको भान हुन्छ । भ्रष्टाचार, अनियमितता, अपारदर्शिताको विरोध गर्नेले समय कुरेर बस्दैन् । हाम्रो राजनीति र प्रशासनमा एक्लो हुन चाहनेहरूको अभाव छ । जो स्वाभिमान र इमान्दारिताको भाषा बोलेर भीडमा रमाउन चाहन्छ, उ परिवर्तनको बहाक हुनसक्दैन ।

अहिले  केही स्वरहरु विभाजित छन् । मात्र केही दिनपछि एकरूपता आउने नै छ। हतारिनु पर्दैन ।  लेखक कृष्णलालले मकैको खेती पुस्तकमा किरा नहटाएसम्म उत्पादन बढ्दैन भनेजस्तै यी परजीवीहरूबाट शासनमुक्त नभएसम्म देश बन्दैन । यो सत्य हो। मस्तिष्कमा राष्ट्र प्रेम, दुरदर्शिता, उदारवादी राजनीति सुझबुझ नभएसम्म यस्ता घट्नाक्रम भइरहन्छन । मलजल गर्ने हामी छँदैछौं । कलाकारिता हामी थाहा नै पाउँदैनौ । अहिलेका विवादहरू मात्र नाफा र घाटाका विवाद हुन् । इमान्दार, कुशल राजनीतिज्ञ र पेसाविदहरूको विवाद यस्तो हुँदै हुँदैन । दुवै शासन प्रणालीलाई भजाएर बाँच्न चाहन्छन् । आजसम्मको हाम्रो शासन प्रणालीको दुर्गती यही हो ।

लेखकको फेसबुक अकाउन्टबाट साभार

Advertisement

Advertisement