लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै समस्या समाधान हुने राष्ट्र बैंकको धारणा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् । 

सोमवार नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा उनले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए । रेवती नेपालले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताए । 

Advertisement

उनले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गरे । रेवती नेपालले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताए । उनले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताए । 

रेवती नेपालले स्थानीयस्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीयस्तरमा समस्या बढी बढ्दै गएको बताए । नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरे । 

उनले लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम न लाग्ने बताए । रेवती नेपालले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई आग्रह गरे । 

लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको कार्यकारी निर्देशक नेपालले बताए । उनले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गरिने बताए । 

उनले पछिल्लो समय केही शेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप लगाए । रेवती नेपालले कोरोना माहामारी र तरलता अभावको कारण पनि लघुवित्तहरुमा समस्या आएको बताए । उनले पछिल्लो समय लघुवित्तहरुमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको बताए । 

Advertisement

Advertisement