दर्ता नभएका व्यवसायलाई ‘दर्ता गर’ भन्दा ‘कर तिर्न आउ’ भनेको जस्तो सोच्छन्ः सुनिता डंगोल

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् । 

मंगलवार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको वार्षिक साधारण सभामा उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताइन् । महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै डंगोलले औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन् । 

Advertisement

उनले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन् । व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको डंगोलको भनाई छ । उनले दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन् । 

डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको पाँच हजार जति रहेको पाइएको पनि बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको बताइन् । 

डंगोलले भनिन्, ‘व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिक रुपमा व्यापार व्यवसाय गरिरहनुभएको छ । औपचारिक दायरामा आउनुभएको छैन् । व्यवसायीहरुले महाननगरभित्र व्यवसाय गर्दा व्यवसाय दर्ता गर्नुभएको छैन् भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहान्छु । धेरैलाई लाग्नसक्छ व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्नसक्छ । करको दायरामा आउनु भनेको करको दायरा फराकिलो बनाउँदै जाँदा दर पनि घटाउँदै जानसक्छौं । त्यो राम्रो पक्ष छ ।’ 

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए । उनले  राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सकारको अदूरदर्शी नीति भएको बताए । ग्रिल तथा स्टिल व्यवसायीहरु आफैले स्टील व्यवसायलाई उचित सम्मान दिन नसकिएको कटुवालको भनाई छ । 
 

Advertisement