खरायोको मासुको माग बढेपछि एक करोड लगानी थपेका एक खरायो व्यवसायीको अनुभव

Advertisement

काठमाडौं । धादिङका उज्वल चापागाईंले आठ लाख रुपियाँ लगानी गरेर खरायो पालन गर्न थालेको १३ बर्ष भयो । ‘द हिमालयन र्याबिट फार्म’मार्फत खरायोको मासु बिक्री गर्दै आएका उनले आफूले मासु खाने हुने प्रजातीको खरायो पाल्दै आएको बताउँछन् । 

समय बित्दै जाँदा उनको फार्म खरायोको मासुका लागि प्रख्यात बन्दै गएको छ । बजारमा खरायोको मासुको माग बढेसँगै आफूले छ बर्षअघि एक करोड रुपियाँ लगानी थप गरी आधुनिक प्रविधिको फार्म बनाएर खरायो पालनलाई अघि बढाएको उनले बताए । 

Advertisement

आफूले उत्पादन गरेको खरायोको मासु प्रतिकिलो एक हजार रुपियाँ र एउटा जिउँदो खरायो एक हजार आठ सयमा बिक्री गर्दै आएको चापागाईंले बताए । उनले यस व्यवसायबाट वर्षमा १५ लाखसम्म आम्दानी हुने सुनाए । 

हाल फार्ममा छ सय जतिको खरायो रहेको चापागाईंले जानकारी दिए । तीन जनाले रोजगारी पाएको ‘द हिमालयन र्याबिट फार्म’को खरायो २० वटा जिल्लामा बिक्री हुने गरेको छ । केही होटल र रेष्टुरेन्टहरुले पनि यो फार्मबाट मासु लाने गर्छन् । 

खरायोको मासुमा निकै पौष्टिक हुने हुँदा माग बढिरहेको चापागाईंको भनाई छ । उनका अनुसार खरायोको मासु सेतो हुन्छ, जुन मानव स्वास्थ्यका लागि रातो मासुभन्दा निकै स्वास्थ्यकर मानिन्छ । खरायोको मासुमा प्रोटिनको मात्रा बंगुर, कुखुरा र खसीको भन्दा बढी हुन्छ । चिल्लोपना पनि अन्यको तुलनामा कम हुन्छ । 

कोलस्टोर, क्यालोरीको मात्रा अन्य मासुमा भन्दा खरायोमा कम हुने दावी गर्दै चापागाईंले यसबाट मधुमेह, मुटुरोगी, दम तथा कुपोषण भएका बिरामीका लागि अति उपयुक्त हुने बताए । वृद्धवृद्धा, गर्भवती, खेलाडी, सुत्केरीका लागि खरायोको मासु निकै पोषिलो हुने उनले बताए । 

नेपालमा खरायो पालनको राम्रो सम्भावना भएर पनि व्यवसायिक विकास हुन नसकेको बताउँदै चापागाईंले खरायो पालनका लागि कुनै सहयोग नगरेको, नीतिगत व्यवस्था पनि नगरेको सुनाए । यस व्यवसायलाई ग्रामीण पर्यटनसँग जोडेर अघि बढाउने सोचमा उनी छन् । 

पर्यटकीय गाउँ र ठाउँहरुमा खरायो पालन गर्न सकिए पर्यटकले नयाँ स्वादका रुपमा यसलाई उपयोग गर्नसक्ने चापागाईंले बताए । खरायोको मासु सुकुटी बनाएर पनि राख्न सकिने उनले बताए । चापागाईंले भने, ‘खरायो पालनका लागि ठूलो प्राविधिक ज्ञान आवश्यक पर्दैन् । जानकारी र परामर्श दिए पुग्छ । यसको आहाराका लागि दाना तथा घाँस मात्र भएकाले खाली जग्गा भएको स्थानमा घाँस खेती गरेर खरायो पाल्न सकिन्छ ।’

खरायोले एक पटकमा ६ देखि ११ वटासम्म बच्चा जन्माउने हुँदा यसलाइ पटक, पटक खरिद गर्नै नपर्ने उनले बताए । खरायोको खोरमा तातो र चिसोको मात्रा ठिक्क हुनुपर्ने चापागाईंले बताए । 

Advertisement

Advertisement