‘रेटिङ’ के हो ? नै नबुझ्नेहरुले ‘रेटिङ’को विषय जोडेर मविरुद्ध गलत प्रचार गर्दैछन्ः हमाल

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ‘रेटिङ’ के हो ? भन्ने कुरा नै नबुझेकाले ‘रेटिङ’ गराएर आफ्नो कम्पनीका लागि ऋण लियो भनेर गलत प्रचार गर्ने काम गरेको गुनासो गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूविरुद्धको प्रचार बदनियतपूर्ण तरिकाले भइरहेको भन्दै गलत कुरासँग आफू कुनै पनि हालतमा सम्झौता नगर्ने अडान लिएका छन् । हमालले भने, ‘म गलत काम गर्दिन र स्पष्ट मान्छे हो भन्ने कुरा मलाई चिन्नेहरुलाई थाहा छ । गलत प्रचार गरेपछि यसलाई प्रभावित पार्न सकिन्छ ? फाइदा लिन सकिन्छ ? भन्ने कसैले पनि नसोचे हुन्छ । सही र नियमअनुसारको काममा म आफै अग्रसर भएर छिटोछरितोरुपमा काम गराउँछु । गरिरहेको पनि छु । मैले पुँजी बजारमा सुधार गर्न गरेका कामहरुबाट अहिले यो क्षेत्रका प्रायः सबै खुसी नै हुनुहुन्छ ।’ 

Advertisement

नेपालमा भने प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्दा रेटिङ अनिवार्य भए पनि बैंकहरुले ऋण प्रवाह गर्दा ‘रेटिङ’ गर्ने चलन भने छैन् । विदेशमा जस्तो नेपालमा ऋण दिँदा ‘रेटिङ’ हेर्ने पद्दतीको अझै विकास हुन् सकेको छैन् । बैंकहरुले ठूला कम्पनीहरुसँग ‘रेटिङ’ माग्ने गरे पनि त्यो हेरेर उनीहरुले ऋण दिने होइनन् । 

नेपालमा तीन वटा ‘रेटिङ’ कम्पनी छन् । सबै कम्पनीमा इण्डियन कम्पनीको ५१ प्रतिशत लगानी छ भने बाँकी स्वदेशी व्यवसायीको छ । नेपालसँग ‘रेटिङ’ गर्ने विज्ञता अहिलेसम्म नभएकाले इण्डियन कम्पनीहरुले उतैबाट गर्दै आएका छन् । यस्तो ‘रेटिङ’मा नेपालीले प्रभाव पार्नसक्न संभावना नै नहुने हमालको भनाई छ । 

अध्यक्ष हमालको १५ प्रतिशत लगानी रहेको (सञ्चालक होइनन्) ओमस्टोन एसिया क्यापिटल (नेपाल) प्रालिले ऋण लिन ‘रेटिङ’ कम्पनीलाई प्रभावित पारेको आरोप उनीमाथि लगाइएको छ । पचासी प्रतिशत विदेशी लगानी रहेको यो कम्पनीले ती बर्षअघि रेटिङ गराएको थियो । सोही रेटिङ देखाएर कम्पनीले सानिमा बैंकको सहवित्तीयकरणमा राष्ट्रिय बाणिज्य बैंकसँग मिलेर ऋण लिएको हो । 

हमालले भने, ‘आफैले हमालको लगानी रहेको कम्पनीको ‘रेटिङ’ राम्रो छैन् भने, फेरि मैले प्रभावित पारेर ऋण लिन ‘रेटिङ’ गरायो भन्ने ? ‘रेटिङ’ के हो भन्ने कुरा नै नबुझ्नेले ‘रेटिङ’को कुरा गर्दा त दुनियाँ हाँस्छ । मैले प्रभावित पर्ने भए त ट्रिपल ए आउँथ्यो होला । अर्को कुरा ऋण लिन ‘रेटिङ’ चाहिन्न भन्ने थाहा नहुनेले ‘रेटिङ’को कुरा जोडेर मेरो आलोचना गर्दा यस्तो गलत प्रचार गर्नेहरुको स्तर पनि जाँचिन्छ । मलाई यसले केही फरक पर्दैन् । किनकी म गलत काम गर्दा पनि गर्दिन ।’ 

अर्को कुरा बजारको अवस्था फेरिने भएकाले ‘रेटिङ’ हरेक दुई बर्षमा अद्यावधिक गर्नुपर्छ पनि भन्ने कुरा मेरोविरुद्ध प्रचार गर्नेलाई ज्ञान रहेनछ भन्दै हमालले भने, ‘रेटिङ गराएर मलाई कुनै फाइदा हुने होइन् । फेल हुनुभएन । त्यत्ति हो । ऋण लिनुपर्यो भने बैंकले नै फलानो कम्पनीसँग रेटिङ गराउनु भन्छ । उसले भनेको कम्पनीबाट रेटिङ गराएपछि मात्रै ऋणको फाइल अघि बढ्ने हो । तर रेटिङ ट्रिपल ए भए पनि माइनल डी भए पनि यसले बाहिर जस्तो नेपालमा ऋण लिने कुरा र ब्याजदरमा कुनै असर पर्ने होइन् । 

‘मैले तीन बर्षअघि ‘रेटिङ’ गराएर ऋण लिएकोमा एक बर्षअघि बोर्डको अध्यक्ष हुन आएको मान्छेले कसरी प्रभावित पार्नसक्छ’ भन्दै उनले, ‘यो मेरो पहिलेदेखिको लगानी हो । होटल बन्दैछ । यो भनेको दीर्घकालिन लगानी पनि हो । बन्दाबन्दैको बीचमा मैले शेयर कहाँ लगेर मिल्काउने ? कस्लाई बेच्ने ? बेच्न मिल्छ मैले ? अर्को कुरा बोर्डमा आउनुअघि नै मैले सञ्चालकबाट राजीनामा दिएर आएको हो । म संलग्न पनि छैन् । फेरि म माइन्योरेटी हो । मेरो निर्णायक भूमिका पनि हुँदैन् । यदि सञ्चालक भएको भए पनि ‘रेटिङ’लाई मेरो उपस्थितिले कुनै फरक पर्दैन् ।’

बाहिर के छ व्यवस्था ? 
विदेशमा कम्पनीहरुको मात्रै नभएर व्यक्तिको पनि ‘रेटिङ’ हुन्छ । त्यो ‘रेटिङ’अनुसार त्यस्ता व्यक्ति र कम्पनीले लिने कर्जाको ब्याजदर निर्धारण हुन्छ । जति रेटिङ राम्रो भयो, त्यति ब्याजदर कम पर्छ । बाहिर बीमामा पनि त्यही खालको प्रयोग छ । जस्तो थाइल्याण्डमा गाडीको बीमा गर्दा बीमाको अवधिमा कुनै पनि दावी परेन भने अर्को बर्ष बीमा गर्दा बीमाशुल्क १० प्रतिशतले कम पर्छ । फेरि दावी गर्न थालेपछि बीमाशुल्क बढ्छ । 

रेटिङमा पनि ट्रिपल ए सबैभन्दा राम्रो मानिन्छ । एप्पल, गुगल जस्ता कम्पनीहरु पर्छन् । यस्ता कम्पनीलाई सहजै ऋण प्राप्त हुन्छ र ब्याजदर सस्तो पर्छ । किनभने यस्ता कम्पनीको नगद प्रवाह निकै राम्रो हुन्छ । त्यसकारण आफ्नो कम्पनीको सुशासन, संभाव्यता, बैंकको लागि बनाउने डकुमेन्ट जति राम्रो भयो, कम्पनीलाई जति स्वास्थ्य र दीर्घकालिन बनाउन सक्यो, त्यति रेटिङ राम्रो हुने भएकाले विदेशमा मानिसहरु आफै ‘रेटिङ’ गराउँछन् । यसबाट उनीहरुले सञ्चालन खर्चमा धेरै बचत गर्न सक्छन् । 

Advertisement

Advertisement