अन्जन श्रेष्ठ भन्छन्– बैंकहरुले ब्याजदरमै २० प्रतिशतभन्दा बढि नाफा खाए

Advertisement

कपिलवस्तु । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन् । कपिलवस्तु स्थित चन्द्रौटामा सोमबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक ?’ कार्यक्रममा उनले समस्यामा परेको अर्थतन्त्र सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए ्।

सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए । उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग गरे ।

Advertisement

श्रेष्ठले भने, ‘उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाईने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानून लागु गरेर दुख दिईन्छ । तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन् ।’ 

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी समेत रहेका श्रेष्ठले निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको बताए । आफूले लुम्बिनीमा लगानी बिस्तार गरिरहेको पनि उनले बताए । श्रेष्ठले पूर्वाधार क्षेत्रमा आफूले लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको बताए । 

उनले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब आफूले नेतृत्व गर्ने पालो आएको बताए । श्रेष्ठले भने ‘म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ । यसले मलाई परिपक्क बनाएको छ र सोहि अनुभवको आधारमा आफूले नेतृत्वमा दाबी गरेको हुँ ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले सरकारले अर्थतन्त्रलाई सुदृढ गर्नका लागि आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने बताए । उनले राजस्व र साधारण खर्चमा मात्र हेर्न नहुने बताए । अहिले सरकारहरुसँग ३५१ अर्ब रुपियाँ रहेको र यो रकमबाट सरकारले खर्च गर्न सक्छ भन्दै थापाले अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सकिने बताए । 

महासंघको जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले निजी क्षेत्रको माग र समस्यालाई सम्बोधन गर्न र आन्दोलनको रुपमा अगाडि बढाउन पनि अन्जन श्रेष्ठको नेतृत्व आवश्यक भएको बताए । 

Advertisement

Advertisement