बीमा क्षेत्रमा बेथिति, अभिकर्ताले १५ करोडसम्म ऋण लिएको खुलासा, त्यो पनि धितोबिना

Advertisement

काठमाडौं । बीमा अभिकर्तालाई ऋण दिन नेपाल बीमा प्राधिकरणले प्रतिवन्ध लगाए पनि अभिकर्ताहरुले बीमा कम्पनीबाट १५ करोड रुपियाँसम्म ऋण लिएको पाइएको छ । त्यो पनि धितोबिना । 
  
अभिकर्ताहरुले जथाभावी ऋण लिने गरेको पाइएपछि गत बर्षदेखि नै ऋण दिन प्रतिवन्ध लगाउनुका साथै लिएको ऋण यथासिध्र अशुलउपर गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । तर अहिले पनि धेरै अभिकर्ताले ऋण चुक्ता गरेका छैनन् । प्राधिकरणले खोजी र अध्ययन गर्दा १५ करोडसम्म ऋण दिएको पाइएको हो । 

यति धेरै ऋण लिने व्यक्ति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता जीएस खड्का हुन् । कम्पनीहरुले ऋण दिने क्रम रोक्किए पनि अशुली गर्ने कुरा भने उनीहरुका लागि ‘भालुको कम्पट’ भएको छ । बिना धितो यति मोटो रकम कम्पनी व्यवस्थापनले कसरी स्वीकृत गर्यो ? गम्भीर प्रश्नको विषय पनि बनेको छ । 

Advertisement

प्राधिकरणले अभिकर्ताहरुलाई दिएको ऋण अशुलउपर गर्न निर्देशन दिए पनि अभिकर्ताहरुले भने तिर्न अटेर गर्दै आएको पाइएको प्राधिकरणका एक कर्मचारीले बताए । सर्वसाधारण जनताको लगानी रहने बीमा कम्पनीहरुको पैसा तोकिएको समयभित्र अशुल नगरे प्राधिकरणले  कारवाही गर्ने चेतावनी पनि दिएको थियो । तर यति लामो समय भइसक्दा पनि दोषीउपर कारवाही प्रक्रिया अघि बढाएर ऋण अशुल गर्न प्रक्रिया अघि बढाइएको छैन् । 

अभिकर्तालाई १५ करोडसम्म ऋण दिएको र अहिलेसम्म अशुलउपर नभएको विषयमा सोध्दा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले पैसा अशुली गर्न प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘हामीले निर्देशन जारी गर्नुअघि नै खड्काले लोन लिएको हो । उसले लिएको लोन प्रत्येक महिनामा तिर्दै जान्छ । मोटो  रकमको ऋण लिएको भए पनि हाम्रो निर्देशन जानु भन्दा पहिले नै उसले ऋण लिइसकेको थियो । अब असुली गर्न त हामीले प्रक्रिया सुरु गरिसकेको अवस्था छ ।’

खड्कालाई के कारबाही हुन्छ ? भन्ने प्रश्नमा सिलवालले भने, ‘के कारबाही गर्ने नि ? त्यति बेला त ऋणको केही प्रावधान नै थिएन । अब पैसा उठाउनु नै ठूलो कुरा हो । कम्पनीको सबै पैसा जस्ताको त्यस्तै चाहियो ।’ अभिकर्ता खड्कालाई ऋण चुक्ता गर्न समय दिइएको बताउँदै सिलवालले प्राधिकरणले थाहा पाइसकेको विषयमा कोही पनि ऋण नतिरी उम्किन नपाउने दाबी गरे ।

बीमा कम्पनीहरुबाट करोडौं रुपियाँ ऋण लिएर नतिर्नेमा जीएस खड्का मात्रै नभएर अरु थुप्रै छन् । खड्का प्रतिनिधि पात्र मात्रै भएको र जथाभावी ऋण दिने र ऋण नतिर्ने प्रवृत्ति ठूलो समस्या बनेर बसेको आफूहरुलेको अध्ययनका क्रममा देखेको प्राधिकरणका कर्मचारीले बताए । कम्पनीमा कुनै पनि कर्मचारीले नपाउने ऋण अभिकर्ताले चाहिं कसरी पाए ? त्यो पनि करोडौं रुपियाँमा ? त्यो पनि बिना धितो ? आफूहरुलाई आश्चर्य लागेको उनले बताए । 

Advertisement

Advertisement