कांग्रेसबाट पूर्णबहादुर उपप्रधान र रक्षामन्त्री, महतलाई अर्थ मन्त्रालय

काठमाडौं । दश दलीय गठवन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । खड्काले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पाउने छन् । 

शुक्रबार हुने भनिएको सपथग्रहणमा कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् भने धनराज गुरुङ सामान्य प्रशासन मन्त्री, एनपी साउद शहरी विकास मन्त्री, सीता गुरुङ भूमि ब्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने निर्णय भएको कांग्रेस नेता योगराज कंडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

Advertisement

आज बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा ढिलाई भएको हो । अब शुक्रबार दिउसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण हुनेछ । 

गृह र सञ्चार मन्त्रालय माओवादी केन्द्रले लिने टुंगो लागेको छ भने बाँकी मन्त्रालयका हकमा दलहरुको आन्तरिक विवाद मिलाउन बाँकी छ । 

Advertisement

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले आठ, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले दुई–दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने समझदारी यसअघि नै भएको छ । गठवन्धनका दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएका छन् । 

Advertisement