बीमा कम्पनीहरुको तथ्यांक लिने प्रणालीमा समस्या, प्रणाली परिवर्तन गर्दै प्राधिकरण

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुले पठाउने तथ्यांक एकद्धार प्रणालीबाट संचालन हुनुपर्ने निश्कर्षमा नेपाल बीमा प्राधिकरण पुगेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसँग मागेको तथ्यांक पठाउने व्यक्तिमा एकरुपता नहुँदा नयाँ समस्या उब्जिएको हो ।

प्राधिकरणका निर्देशक दिनेशलाल कर्णका अनुसार बीमा कम्पनीहरुको तथ्यांक विगतको तुलनामा समयमा नै प्राप्त हुन थाले पनि उक्त तथ्यांक जोड्न कम्पनीका सम्बन्धित फाँटभन्दा भिन्न फाँटका कर्मचारीलाई खटाउन थालेपछि समस्या सिर्जना भएको छ । 

Advertisement

उनले कर्पोरेट नेपालसँग भने, ‘बीमा प्राधिकरणले बीमा ऐनले निर्धारण गरे जस्तै बीमा कम्पनीहरुसँग सात दिनभित्रै उनीहरुका तथ्यांक मासिक रुपमा माग्दै आएको छ । प्राधिकरणले माग गरेअनुसार कम्पनीहरुले पनि ढिलोचाँडो आफ्ना तथ्यांक पठाईरहेको अवस्था छ । केही कम्पनीले आफ्ना प्राविधिक कठिनाईका कारण तथ्यांक पठाउन ढिला गर्दा हामीले उनीहरुसँग त्यसको कारण पनि सोध्दै आएका छौं । तर, यसमा समस्या चाहिं कहाँ देखियो भने बीमा कम्पनीहरुले पठाएको तथ्यांक फरक–फरक विभागका कर्मचारीहरुले पठाउँछन् । तथ्यांक जस्तो महत्वपूर्ण विषय पालैपालो जुन पायो त्यही कर्मचारीले पठाउँदा तथ्यांकमा समेत एक रुपता देखिएको छैन् । त्यसका लागि हामीले छिट्टै छलफल गरेर कम्पनीहरुलाई परिपत्र नै गर्छौं ।’

कर्णले बीमा कम्पनीहरुबाट आएका विभिन्न समस्याहरुको आफूहरुले अध्ययन विश्लेषण गरेर सोही आधारमा नयाँ नीति निर्देशन समेत तयार गर्ने बताए । बीमा कम्पनीहरुको वित्तीय सुशासन र पारदर्शीताको मापन गर्ने ऐनाको रुपमा नै तथ्यांक रहेको स्वीकार गर्दै उनले बीमा कम्पनीले एक जना कर्मचारीलाई तथ्यांक फाँटको जिम्मा दिनुपर्ने बताए । 

त्यसरी मनलाग्दी तथ्यांक पठाउँदा यस क्षेत्रको विश्वसनीयता धमिलिने खतरा बढेको कर्णको भनाई छ । प्राधिकरण बीमा क्षेत्रका हरेक तथ्यांकमा शुद्धता खोजेको र त्यस्तो शुद्धताका लागि तथ्यांकको जिम्मा लिने भरपर्दो व्यक्तिको खोजी रहेको बेला हाल ठूलो अभाव खड्किन थालेको छ । 

तथ्यांक बीमा कम्पनीबाट जुनसुकै व्यक्तिले पठाउने परिपाटी बढ्दा पछिल्लो समय दोषारोपण हुन थालेको छ । केही दिनभित्र बीमा प्राधिकरणले सबै कम्पनीहरुलाई परिपत्र गर्ने र आगामी आर्थिक वर्षको सुरुबाट तोकिएका तथ्यांक अधिकारीबाहेकले पठाएको तथ्यांकलाई सही नमान्ने तयारी गरेको छ ।
 
हाल बीमा कम्पनीका जोखिमांकन विभाग, लेखा विभाग र दाबी भुक्तानी विभागका कर्मचारीहरुले तथ्यांक पठाइरहेका छन् । सोही कारण एक पटकमा पठाएको तथ्यांक सही नभएर प्राधिकरणले पटक पटक माग्नुपर्ने, तथ्यांक फरक फरक हुँदा जिम्मा लिने व्यक्ति नहुने, कम्पनीको तथ्यांकका कारण प्राधिकरणकै विश्वसनीयता घट्ने अवस्था सिर्जना भएको कर्णले बताए । 

बीमा क्षेत्रको तथ्यांक संकलन र सार्वजनिक गर्ने प्रणालीका विषयमा कर्पोरेट नेपालले प्रश्न उठाएपछि प्राधिकरणमा यस विषयमा छलफल समेत भएको थियो । प्राधिकरणले तथ्यांक प्रणालीलाई सकेसम्म छिटो छरिता र व्यवस्थित बनाउन आफूहरु तयार रहेको बताएको थियो । 

Advertisement

Advertisement