चीनले आफ्ना लगानीकर्तालाई भन्यो– नेपालमा विदेशी प्रभाव बढ्यो, थप लगानी नगर्नुस्

Advertisement

काठमाडौं । चीन सरकारले आफ्ना ठूला चिनियाँ लगानीकर्तालाई तत्काल नेपालमा लगानी नगर्न र गर्न लागेको लगानी ‘होल्ड’ गर्न सुझाव दिएको छ । 

नेपालको राजनीतिमा बाह्य शक्तिको प्रभाव बढेको भन्दै चीनले नेपालमा लगानी होल्ड गर्न आफ्ना लगानीकर्तालाई भनेको हो । पछिल्लो समय नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण बढिरहेको बेला चीन सरकार आफैले लगानी रोक्न भनेको छ । 

Advertisement

उद्योग विभागको तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै लगानी अहिले चीनबाट भित्रिएको छ । चीन सरकारले आफ्ना लगानीकर्ताहरुलाई सुझबुझपूर्ण लगानी गर्न निर्देशन दिएको एक चिनियाँ लगानीकर्ताले बताए । 

उनले भने ‘नेपालले एमसीसी (नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन) पास भएपछि लगानी गर्दा सोचेर लगानी गर्नु भनेर चीनले सचेत गराइरहेको छ ।’ नेपालमा भारतीय र अमेरिकीको बढ्दो चलखेलबाट चिनियाँ लगानीकर्ता समेत प्रभावित हुनसक्ने भन्दै आफ्नो सरकारले सचेत गराएको ती लगानीकर्ताको भनाई छ । 

नेपालमा लगानीको विषयमा गत फागुन १४ गते नेपाल–चीन बिजनेस फोरमले एक कार्यक्रम गरेको थियो। नेपाल उद्योग परिसंघसँगको सहकार्यमा भएको सो कार्यक्रम नगर्न भारतीय दूतावासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई चर्को दबाब दिएको थियो । कार्यक्रम गरिहाले पनि कार्यक्रममा चिनियाँ झन्डा र चिनियाँ राष्ट्रिय गानको प्रयोग नगर्न मुख्य सचिव शंकरदास बैरागीलाई दूतावासाले दबाब दिएपछि झण्डा पन राखिएन् र चिनियाँ राष्ट्रिय गान पनि बजेन् । 

बैरागीले आयोजकलाई चिनियाँ राष्ट्रिय गान नबजाउन निर्देशन दिएका थिए । चिनियाँ लगानीकर्ताले जलविद्युत र उत्पादनशील उद्योगमा लगानी बढाइरहेका छन् । यस्तै, साना लगानीकर्ताहरुको समेत नेपालमा आकर्षण बढिरहेको छ । पछिल्लो समय सिमेन्ट उद्योगमा चिनियाँ लगानीकर्ताले धेरै लगानी गरेको छ । नेपालमा होङसी सिमेन्टपछि हुवासिन सिमेन्टले उत्पादन सुरु गरेको छ । चीन सरकारको निर्देशन आएसँगगै पछिल्लो समय नेपालमा चिनियाँ लगानीकर्ताहरुको चहलपहल घट्न थालेको छ।

लगानी ल्याउनै कठिन
नेपालमा उद्योग सुरु गरेका चिनियाँ लगानीकर्ताहरुलाई थप लगानी ल्याउन कठिन हुन थालेको छ । नेपालमा विदेशी लगानी स्वीकृति गराएर चीनबाट लगानी ल्याउन कठिन भएको हो । मकवानपुरमा सेनन हर्बल उद्योग निर्माण गरिरहेका चिनियाँ लगनीकर्ता यीङ हु सुआनले लगानी ल्याउन कठिनाई भइरहेको बताए । 

उनका अनुसार अहिले चीन सरकारले एक पटकमा ५० हजार अमेरिकी डलर मात्रै उद्योगमा लगानी लैजान सुविधा दिएको छ । त्यति लगानी ल्याउन पनि झन्झटिलो कागजी प्रक्रियाको व्यवस्था गरिएको छ । सुआन भन्छन्, ‘उद्योग सुरु गर्नका लागि पैसा ल्याउन निक्कै असहज भइरहेको छ अहिले  । धेरै लगानीकर्ताले सुरुमा युरोप लगानी पठाउने र यसपछि मात्रै नेपालमा लगानी भित्र्याउने प्रयास गरिरहेका छन् ।’ यसो गर्दा खर्च बढ्ने उनको गुनासो छ । सुआनले उद्योगमा दुई अर्ब लगानी गर्ने तयारी गरेका छन् । 

नेपालमा चिनियाँ लगानीकर्ताले लगानी ल्याउन असहज महसुस गरिरहेको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले पनि स्वीकार गरे । उनले भने, ‘सिधै लगानी ल्याउन असहज भएको, घुमाएर लगानी ल्याउनुपरेको गुनासो सुनिन थालेको छ । यसमा थप अध्ययन गरेर बुझ्ने प्रयास गर्दैछौं ।’

कति छ नेपालमा चिनियाँ लगानी ?
उद्योग विभागको तथ्यांक अनुसार हालसम्म दुई हजार ३६ चिनियाँ लगानीले स्वीकृति पाइसकेका छन् । स्वीकृत लगानीबाट दुई खर्ब १७ अर्ब लगानीको प्रतिबद्धता आएको छ ।

यो लगानी प्रस्ताव उसले अन्य मुलुकमा गरेको भन्दा निक्कै धेरै हो । नेपालमा फाइभजीको विस्तार नै चिनियाँ कम्पनी हुवावेले गरिरहेको छ। यस्तै होटल तथा रेष्टुरेन्ट क्षेत्रमा साना तथा ठूला लगानी गरिरहेको छ।

सिमेन्ट उद्योगमा पनि चिनियाँ लगानीकर्ताले लगानी बढाएका छन्। देशकै सबैभन्दा ठूलो उद्योग होङसी सिमेन्टले १५ अर्ब भन्दै धेरै लगानी गरेको छ।

यस्तै हुवासिन सिमेन्ट उद्योगमा पनि १४ अर्ब लगानी रहेको छ। नेपाली राजनितिमा अमेरिका र भारतको हस्तक्षेप बढ्न थालेपछि चिनियाँ सरकारले आफ्नो देशको लगानीकर्ताको लगानी असुरक्षित देख्न थालेको हो। 

Advertisement

Advertisement