पैसा नभएपछि अर्थले कर्मचारीको उपदान, संचित विदा र औषधि उपचारको रु. ३२ अर्ब पनि रोक्यो

Advertisement

काठमाडौं । अर्थमन्त्रालयले पेन्सन पाकेका (सेवा निवृत्त) कर्मचारीहरुको उपदान, औषधि उपचार खर्च र संचित बिदाको रकम रोकेको छ । 

राजश्व लक्ष्यअनुसार नउठेर सरकारी खातामा दबाब बढ्न थालेपछि तीन वटा शीर्षकको रकम रोक्का गरिएको हो । अर्थ मन्त्रालयले आम्दानीभन्दा खर्च धेरै भएको भन्दै तत्कालका लागि तीन शीर्षकको रु. ३२ अर्ब ‘भुक्तानी रोक्नु’ भनेको छ । मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई यसका लागि पत्राचार गरिसकेको छ । राजश्व संकलन घटेपछि यसअघि सचिव तोयम रायले अर्थमन्त्री प्रकाशशरण नियुक्ति भएर आउनुअघि नै चैत १२ गते प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदानको दुई खर्ब ४० अर्ब ८९ करोड रुपियाँ रोक्का गर्ने निर्णय गरेका थिए । 

Advertisement

मन्त्रालयले रोकेको रकममध्ये बजेट उपशीर्षक नम्बर ६०१०००१२ मा उपदान रहेको छ। यो शीर्षकमा नियमित पेन्सन प्राप्त नगर्ने योगदानको आधारमा रकम प्राप्त गर्नेहरु पर्दछन्। यो शीर्षकमा दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । 

यस्तै, बजेट उपशीर्षक नम्बर ६०१०००१३ मा सञ्चित बिदा पर्छ।  यो शीर्षकमा चालु आर्थिक वर्ष १४ अर्ब रुपियाँ विनियोजन गरेको छ । यो शीर्षकमा कर्मचारीहरुले आफ्नो बाँकी बिदाको रकम प्राप्त गर्नेछन् । यसैगरी बजेट उपशीर्षक नम्बर ६०१०००१६ मा विनियोजित १६ अर्ब रुपियाँ पनि रोक्न गर्न भनिएको छ । यो शीर्षकमा सेवा निवृत्त कर्मचारी औषधि उपचार वापतको रकम प्राप्त गर्नेछन् ।   

मन्त्रालयले यस्तो रकम माघ मसान्तसम्ममा दिने योजना बनाएको थियो । तर राज्यकोषमा रकम नभएपछि फागुन ८ मा पत्र लेख्दै चैत १५ गतेसम्म भुक्तानी दिनु भनेको थियो। चैत १५ गतेसम्म पनि सरकारी खातामा सुधार नआएपछि २०८० साल असार २० गतेसम्म भुक्तानी दिन कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्राचार गरिएको छ।

कार्यालयको एक कर्मचारीले कर्पोरेट नेपासँग भने ‘सरकारी खातामा आएको दबाबको कारण सेवा निवृत्त कर्मचारीहरुको सेवा सुविधा रोक्का गरिएको हो । यो आर्थिक वर्षमा भुक्तानी दिन नसके सरकारले अर्को वर्षमा भाखा सार्न समेत सक्छ ।’

चालु वर्ष सरकारको खाता आम्दानी भन्दा एक खर्ब ९२ अर्ब बढी खर्च भइसकेको छ । चैत महिना अग्रिम आयकरको ३० प्रतिशत रकम करदाताले दाखिला गर्नुपर्ने व्यवस्था छ । तर सरकारले अपेक्षित रुपमा कर संकलन गर्न सकेको छैन् । यो महिना सरकारले ८३ अर्ब आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement