व्यापारको नवीन शैलीः सगरमाथा आधार शिविरमा समेत ‘स्पा’ सेवा सुरु

Advertisement

खुम्बु । मानिसहरुले व्यापार व्यवसायका लागि नयाँ खोज र नवीन शैली अपनाउने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा समेत ‘स्पा’ सेवा सञ्चालनमा ल्याइएको छ ।

समुन्द्र सतहबाट पाँच हजार ३६४ मिटर उचाईमा रहेको आधार शिविर (बेसक्याम्प)मा यो सेवा सञ्चालनमा ल्याइएको हो । तर यो सेवा आधार शिविर पुग्ने सबैले उपभोग गर्न पाउँदैनन् । ट्याग नेपाल ट्रेक्स नामक कम्पनीले आरोहण र पदयात्रमा आउने आफ्ना ग्राहक पर्यटकलाई मात्रै उपलब्ध गराउने गरी सञ्चालनमा ल्याएको हो । 

Advertisement

शरीर र दिमागलाई आराम दिन गरिने स्पाबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभ लिन सहयोग गर्ने थेरापिष्टहरु बताउँछन् । ट्याग नेपाल ट्रेक्सका निर्देशक गोविन्द गुरुङले आफ्ना ग्राहकहरुको अनुरोधका कारण आफूहरुले यो सेवा सुरु गरेको बताए । 

स्थायी टेन्टहरु खडा गरी सुरु गरिएको स्पा सेवा सञ्चालन गर्न कति खर्च लाग्यो भन्दै गुरुङले बताउन चाहेनन् । उनले यो सेवा आरोहण र पदयात्राका लागि आउने विशेषगरी आफ्ना महिला ग्राहकलाई प्रदान गर्छन् । सेवा दिने पनि महिला नै हुन्छन् । 

गुरुङले भने, ‘स्पाको सेवा दिन अनुभवी र प्रशिक्षित मसाज थेरापिस्ट महिला हुनुहुन्छ । यो सेवा हामीले सुरु गरेको दुई हप्ता मात्रै भयो । हप्तामा ३ देखि ४ जना क्लाइन्टलाई सेवा दिने गरेका छौं ।’ स्पा सेवा पर्यटकको प्याकेजमै समावेश हुने उनले बताए । गुरुङले यो सबैभन्दा धेरै उचाईमा सञ्चालित स्पा सेवा भएको पनि बताए । 

निर्देशक गुरुङले एक्स्पेडिशन (साहसिक अभियान) भनेको हिमाल चढ्ने पनि हुन्छ । आकाशमा उड्ने पनि हुन्छ । यस्ता एक्स्पेडिशन कठिन कार्य हो मान्छेको लागि । त्यस क्रममा उनीहरु शारीरिक र मानसिकरुपमा थकित हुन्छन् । उनीहरुलाई थप आराम चाहिन्छ । राम्रो खाना, राम्रो आराम, राम्रो प्रेरेणा चाहिन्छ । आराम गर्ने बेलामा अझ् राम्रो आराम होस् भनेर यो थेरापी दिन थालेको हो । उनले आरोहण गर्दा, पदयात्रा गर्दा वा स्की खेल्दा ज्यान थकिने हुने र त्यो बेला स्पा सेवा पाए पर्यटकले आराम महशुस गर्ने बताए । गुरुङले पर्यटकको अभियानलाई सफल बनाउने उद्देश्यले यो सेवा आधार शिविरमा सुरु गरेको बताए । 

तर अरु कम्पनीका ग्राहकले जतिसुकै पैसा तिरेर सेवा लिन्छु भने पनि आफूहरुले नदिने उनको अडान छ । गुरुङले भने, ‘यो पैसा कमाउन गरेकै होइन् । हाम्रो कम्पनीको ग्राहकको सुविधाको लागि गरेको हो । 

कसरी सुरु भयो सेवा ?
सगरमाथा आधार शिविरसम्म सात फिटको बेड लैजान निकै गाह्रो भएको स्मरण गर्दै निर्देशक गुरुङले यस ठाउँमा काम गर्ने थेरापिस्ट पाउन निकै मुस्किल परेको बताए । उनले भने, ‘हामीले चुनेका थेरापिस्टले यत्तिको उचाइमा गएर काम गर्न सक्छ वा सक्दैन ? भन्ने थियो । काम गर्न सक्नेले पनि घरबाट त्यहाँ गएर काम गर्न मिल्ने हो कि होइन् ? भन्ने अर्को चिन्ता थियो । पहिला त थेरापिस्ट भेट्टाउन नै गाह्रो भयो । हामीले यहाँ दुई जना थेरापिस्ट ल्याउने योजना बनाएका थियौं । तर एक जना मात्र महिला भेटियो । उनले नै अहिले काम गरिरहेको छ ।’ 

गुरुङले अहिलेको वसन्त सिजनमा आफ्नो कम्पनीबाट ३० जनाभन्दा बढी आरोहीले आरोहण गरेको सुनाए । गुरुङले नेपालको पर्यटनले विश्वमा लग्जरी (विलासिता)को परिचय दिन नसकेको अवस्थामा नेपालमा पनि विश्वसतरको सुविधाहरु छ भनेर देखाउन र विश्वका लक्जरी पर्यटकहरुलाई आकर्षण बढाउन स्पा सेवा सुरु गरेको बताए । 

स्पाको सेवा दिने पालमा क्विन साइज बेड, इलेक्ट्रिक ब्ल्याङकेट, हिटिङ, स्याटलाइट टेलेभिजन, एन स्विट बाथरुम रहेको छ ।

 

Advertisement

Advertisement