दुई वर्षभित्रमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउँछौंः मानव सेवा आश्रम

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । 

शनिबार बिहान  बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेर उनले सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका हुन् । श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज–भोली नै गराउने पनि बताए । 

Advertisement

उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । मानवीय सेवा महान सेवा भएकोले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागिपर्ने श्रेष्ठको भनाई छ । 

उनले भने, ‘जसरी तपाईंहरुले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको मान्छेको रुपमा आफ्नो पहिचान बनाउनु भएको छ, त्यस्तै गरी म कामद्वारा नै तपाईंहरुको यो उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु । त्यसको निम्ति आज नै म प्रधानमन्त्रीज्यूसँग पनि यसबारेमा कार्यसूची बनाएर छलफल गर्नेछु । प्रधानमन्त्रीज्यूको पनि अहिले देशमा जे जति राम्रा कामहरु छन, सबैलाई हामीले आत्मासात गरौं, सबैलाई स्थापन दिऊ, सबैको सम्मान गरौं र, त्यसमार्फत हामीले जे–जे गर्नुपर्छ, त्यो कामलाई निरन्तरता दिन जे–जे सहयोग गर्नु पर्छ । त्यो गरौं भन्ने दृष्टिकोण र धारणा रहेको छ ।’ 

श्रेष्ठले थपे, सरकारको तर्फबाट यो मानव सेवा आश्रमलाई जीवित राख्न, यसलाई संचालनमा ल्याईराख्न र यो सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्पूर्ण प्रयत्न सरकारको तर्फबाट गर्ने पनि म विश्वास दिलाउन चाहन्छु ।’ 

उनले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए । श्रेष्ठले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने बताए । 

आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अबको २ वर्ष भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी दिए । 

Advertisement

Advertisement