‘गृहमन्त्री, उपप्रधानमन्त्री नै मानव तस्करी गरेर ठगीमा लाग्छ भने देश कसरी विकास हुन्छ ?’

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् । 

मंगलवार राजधानीमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए । 

Advertisement

रावलले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गरे । उनले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको बताए । रावलले नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताए । 

उनले भने, ‘अर्को गृहमन्त्री नक्कली भूटानी शरणार्थी बनाउने, अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने, हाम्रा राज्यका मानिसहरुले यी कुरालाई गम्भीर रुपमा हेर्नुपर्छ । अहिले जुन भूटानी शरणार्थी सम्बन्धी मुद्दा छ, यो केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो, यो राष्ट्र बिरोधी कुकृत्य पनि हो । यो ठगी हो, अनैतिक काम हो । त्यसैले संविधानको धारा ५ मा यो कठिन रुपमा राखेका हौँ, कतिपयले मानेका थिएनन् । त्यसमा नेपालको राष्ट्रिय हीतको परिभाषा गरेको छ । राष्ट्रिय हीत विपरितको आचरण र काम कानूनको निमित्त दण्डनीय हुनेछ भनेको छ । हेर्नुस् त कानून नै ल्याउँदैनन् । किन नल्याएको ? यस्तै आचरणलाई छुट दिनका लागि । नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउने, प्रहरीलाई दबाब दिने, यस्ता गतिविधि भइरहेका छन् भन्ने बाहिर आएको छ । प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईहरुलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ ।’

नेता रावलले काँडेतारको साहित्यिक अर्थ नबुझ्ने व्यक्ति सञ्चार मन्त्रालयमा भए तत्काल मन्त्रालय छोड्नुपर्ने बताए । 

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशभक्त चलचित्र निर्माण गर्दा राज्य नै बिरोधमा उत्रिएको बताए । उनले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन स्वयं राज्य सत्ता नै लागेको आरोप लगाए । खड्काले सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफूहरुको रहेको बताए । 

Advertisement