मधेसको जटिल समाजलाई छिचोल्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल ‘नायक’

Advertisement

काठमाडौं । शकुन्तला नायक मधेसकी मात्रै नभएर नेपालकी एक सफल छोरी हुन, जसले नेपाललाई समेत अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भइसकेकी छन् । 

मधेसको एक जटिल समाजमा हुर्किएर पनि उच्च शिक्षासम्म हासिल गर्न सफल उनले साइन्स इन वायोटेक्नोलोजीमा स्नाकोत्तर अध्ययन गर्दैछिन् । तर नायकको कार्यक्षेत्र र रुची भने फरक विधामा छ । 

Advertisement

उनी कस्टोमर सर्भिस (ग्राहक सेवा)मा कार्यरत छिन् । नेपालीहरु कमैको रुची रहने यो क्षेत्रमा नायकले आठ बर्ष बिताइसकेकी छन् भने चार पटक अन्तर्राष्ट्रिय अवार्डहरुसमेत हात पार्न सफल भइसकेकी छन् । उनले बंगलादेश, इण्डियालगायतका मुलुकमा भएका सम्मेलन तथा कार्यक्रमहरुमा कस्टोमर केयरमा गरेको कामको आधारमा यी पुरस्कारहरु हात पार्न सफल भएकी हुन् ।

नायक भन्छिन्, ‘यस क्षेत्रमा लाग्नुका कारण मलाई आमसञ्चार निकै मनपर्ने विषय हो ।’ धनुषाको सबैला भन्ने ठाउँमा जन्मिएकी नायकको परिवार अहिले जनकपुरमा बस्दै आएको छ । विशेषगरी मधेसी समाज महिलाहरुप्रति अनुदार भएकोमा उनी चिन्तित देखिन्छिन् । 

नायक भन्छिन्, ‘हाम्रो समुदायका कस्तो हुन्छ भने छोरीको जातलाई बढी विभेद नै हुन्छ । पहाडी समुदायमा त्यस्तो कमै हुन्छ । अहिले चेतना, जागरण र सुचना प्रविधिको विकासले केही कम गरेको छ । पढेलेखेका मानिस पनि बढ्दै गए । तर पनि छोरीचेलीप्रतिको विभेद कायमै छ । दाइजो दिनुपर्ने र लिने कुराबाट यो समस्या सुरु हुन्छ । छोरीहरुको हत्या, आत्महत्या, विवाहपछि दुःख दिएका घट्नाहरु हरेक दिनजसो आइरहेका हुन्छन् । कतिपय घट्ना त बाहिरै आउँदैन् ।’  

छोरीहरु पढेलेखेर अघि बढेको नरुचाउने समाजबाट आएर पनि अध्ययन र कार्यक्षेत्रमा सफल बनेकी उनले आफू अहिलेको अवस्थामा सजिलै आएको होइन् भन्छिन् । नायकले थपिन, ‘छोरी भन्ने बित्तिकै टाउकोमा बोझ थपिए जस्तो सोच्ने र व्यवहार गर्ने समाजबाट अहिलेको अवस्थामा आउन सकेको हो । छोरीप्रति विभेदपूर्ण व्यवहार गरिने समाजबाट आएको हुँ । आफैले पनि देखेको छु । त्यही समाजबाट हुर्किएर काठमाडौं शहरसम्म आएर यति पढ्नसक्नु मेरो लागि निकै ठूलो उपलब्धी र सफलता हो ।’ 

शकुन्तला नायकलाई कार्यप्रगतिप्रति मात्रै गर्व छैन्, आफ्नो समाजका लागि, विशेषगरी महिलाहरुलाई केही गर्नुपर्छ भन्ने हुटहुटी पनि छ । उनी भन्छिन, ‘अब मैले आफू हुर्किएको समाजलाई सुधार्न केही गर्न सकिन भने मेरो डिग्रीको के महत्व ?’ 

कस्टोमर केयरमा करियर
कुनै पनि कर्पोरेट हाउसमा कस्टोमर सर्भिस डिपार्टमेन्ट भनेको मास कम्युनिकेशन, सुचना प्रविधि र व्यवस्थापनको कुराको संयोजन हो भन्ने नायकको विश्लेषण छ । यो क्षेत्रमा काम गर्दाका चुनौति र फाइदा दुवै रहेको सुनाउँदै उनले यस क्षेत्रमा आफू उदाहरण बन्ने लक्ष्यका साथ काम गरिरहेको बताइन् । 

प्रवेशिका परीक्षा (एसएलसी) पास भएदेखि नै काम गर्दै पढ्न थालेकी नायकले सुरुवाती चरणमा घरमै ट्युशन पढाएर आयआर्जनको सुरुवात गरेकी थिइन् । त्यसपछि केही समय बजार प्रवर्द्धनको काममा लागिन् । उनले त्यतिबेला अनामनगरमा कार्यालय रहेको लारिबेरी हर्बल केयर (इण्डियन ब्राण्डको कम्पनी)मा मार्केटिङको काम गरिन् । 

कम्पनीले तालिम दिएर मार्केटिङका कर्मचारीहरुलाई फिल्डमा पठाउँथ्यो । त्यस क्रममा नायक ब्युटि पार्लरहरुमा गएर लारिबेरीका श्रृंगारका सामानहरु बेच्ने गर्थिन । उक्त कम्पनीको सामान बिक्री गर्न जनकपुरबाट १० किलोमिटर भित्रका ग्रामीण क्षेत्रसम्म पुगेको उनले अनुभव सुनाइन् । 

स्नातकसम्मको अध्ययन धनुषामै गरेर स्नाकोत्तर अध्ययन गर्न सात बर्षअघि काठमाडौं आएकी शकुन्तला नायकले पढ्दै पार्टटाइम (आंशिक रोजगारी) गर्ने सोच बनाएकी थिइन् । तर पढाईका क्रममा प्रयोगशालामा धेरै समय बिताउनुपर्ने र कडा मेहनत गर्नुपर्ने हुँदा उनले सोचेजस्तो भएन ।  

नायकले भनिन्, ‘काठमाडौं आएपछि मैले सोचजस्तो भएन् । आर्थिकरुपमा मेरो परिवार कमजोर हो । त्यही भएर काम नगरी मलाई पढ्न गाह्रो थियो । पढ्न र काम गर्न त परिवारले मलाई रोकतोक गरेन् । त्यो हिसावमा मधेसमा हाम्रो परिवार राम्रै हो । तर आर्थिकरुपमा खर्च जुटाउन गाह्रो भएकाले म कम्पनीहरुमा कस्टोमर सर्भिसको काम सुरु गरें ।’ 

मधेसको समुदायबाट आएर मानिसहरुसँग बोलेर जागिर खाने भनेको ‘नट अ जोक’ भन्दै नायकले यो निकै चुनौतिपूर्ण काम भएको बताइन् । उनी भन्छिन्, ‘हामी जस्तो छोरीहरु काठमाडौं आउनु नै ठूलो कुरा हो । त्यसमाथि कम्पनीको कस्टोमर सर्भिस डिपार्टमेन्टमा रहेर ग्राहक भनौं वा उपभोक्तासँग बोलेर, उनीहरुलाई बेखुशी हुन नदिई जागिर खाने कुरा निकै नै चुनौतिपूर्ण काम हो । हाम्रो बोल्ने र व्यवहार गर्ने सानो गल्तीले पनि कम्पनीलाई असर पर्छ । ग्राहकहरुको गाली खानुपर्ने हुन्छ । कम्पनीको म्यानेजरदेखि सञ्चालकसम्मको गाली खानुपर्ने हुन्छ ।’ 

तर राम्रोसँग काम गर्न सक्दा कस्टोमर सर्भिसमा निकै रमाइलो पनि हुने नायकले बताइन् । अहिलेसम्म आधा दर्जन कम्पनीमा कस्टोमर सर्भिसको अनुभव हासिल गरिसकेकी उनले कम्पनीअनुसार यो विधामा काम गर्ने शैली र नियम फरक पर्ने बताइन् । भारतीय ब्राण्डको महिन्द्राको कस्टोमर सर्भिस डिपार्टमेन्टदेखि अहिले भोज डिल्समा काम गरिरहेकी नायकले ग्राहकका गुनासोलाई कसरी हुन्छ छिटो छरितो सम्बोधन गर्ने ? कसरी उनीहरुलाई खुशी बनाएर सेवा दिने ? भन्ने कुरा कस्टोमर केयर भएको बताइन् । उनी भन्छिन्, कस्टोमर जुनसुकै मुडमा पनि आउनसक्छ । कसैले ताली पनि दिनसक्छन् । कसैले गाली पनि दिन्छन् ।’ 

Advertisement

Advertisement