कठोर यातना दिएर काट्न ल्याइने पशुचौपायाहरुको के गरिन्थ्यो र बीमा ?!

Advertisement

काठमाडौं । राजमार्गहरुमा कहिले काहीं यात्रा गर्दा भैंसीहरुलाई चरम यातना दिएर ढुवानी गरेको देखिन्छ । ब्रोइलर कुखुरादेखि खसीबोकालाई यातना दिएर गरिने ढुवानी पनि कम हुँदैन् । 

यसरी ढुवानी गर्दैगर्दा कहिले दुर्घटनामा, कहिले चरम यातना सहन नसकेर पशुपंक्षी मर्छन् । विशेषगरी भैंसीलाई चल्नैनसक्ने गरेर बाँधेर, निर्मम ढंगले झुण्याएर, एउटामाथि अर्को खाँदाखाँद गरेर ल्याउने गरेको देख्छौं । तर यस्ता पशुपंक्षीको कहिल्यै बीमा गरिएको हुन्न । काट्न लागेलाई किन बीमा गर्ने ? भन्ने सम्वद्ध व्यवसायीहरुको कठोर जवाफ हुने गर्छ । 

Advertisement

पशुपंक्षी ढुवानी गर्दा त्यसको जोखिम बहन गर्न बीमा कम्पनीहरु तयार छन् । तर ढुवानी गर्नेहरुले नै कहिल्यै बीमा नगर्ने भएकाले यस्तो बीमालेख भए पनि अर्थहीन बन्न पुगेको छ । पाल्नकै लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि बीमा हुने गरेको देखिन्न ।

अर्कोतर्फ बीमा कम्पनीहरुले जोखिम बहन गरे पनि वा नगरे पनि पशुहरुलाई कष्ट नहुनेगरी यात्रा गराउनुपर्ने सरकारी नियम छ । यसको समेत कुनै पालना गरिएको छैन् । यस नीतिबारे जानकार हुँदाहुँदै पनि अनुगमन र कारवाही फितलो हुँदा पशुपंक्षीमाथिको अत्याचार रोकिन सकेको छैन् । 

विदेशबाट यस्ता पशुपंक्षी आयात गर्दा बीमा गरेर ल्याइने गरे पनि स्वदेशमा भने ढुवानी गर्दा बीमा गर्ने गराउने कुरामा कसैको चासो गएको छैन् । पशुपालक किसानदेखि ढुवानी गर्ने र खरीद बिक्री गर्नेले स्वदेशी पशु ढुवानी गर्दा बीमा सुविधामा चासो देखाउने नगरेको नेपाल बीमा प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले अरु मुलुकमा एक ठाउँबाट अर्को ठाउँँमा पशुहरु लैजाँदा बीमा गर्ने गरेको देखिए पनि नेपालमा भने सो कुरा हुन नसकेको स्वीकार गरे । उनले भने, ‘मेरो घर गोरखाबाट तनहुँसम्म पशुपंक्षी ओसारपसार हुनेगरेको देखेको छु । नजिकै भए पनि त्यसरी ढुवानी गर्दा जोखिम हुन्छ । किसानहरुले अहिलेसम्म त्यस्तो बीमामा चासो देखाएको अवस्था छैन ।’ 

पौडेलले थपे, ‘काठमाडौंमा देशका विभिन्न ठाउँबाट राँगा भैंसी आउँछन् । त्यस्ता राँगा भैंसी ल्याएर मःमः बनाइन्छ । अब यस्तो देशमा मार्न लगेका राँगा भैंसीको बीमा कस्ले गर्दिने ?’ बीमा नगरे पनि कम्तिमा पशुपंक्षीमाथिको यातना भनेर रोकिनुपर्ने उनको जोड छ । 

पशुहरुको ढुवानी मापदण्ड २०६४ अनुसार ढुवानीमा निकै सावधानी अपनाउँनुपर्ने कुरा कानुनी रुपमा नै प्रष्ट छ । पशुहरुलाई ढुवानी गर्दा हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्याधिक चिसो वा तातोबाट बचाइ, एक आपसमा ठोक्किएर अंगभंग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्छ । 

त्यस्तै, चालकले सवारीको गति एकनासको हुनेगरी र पशुलाइ अप्ठ्यारो नपारिकन हाँक्नुपर्ने व्यवस्था गरिएको छ । तर, पशु ढुवानी गर्दा पशुमा तनाव हुने, सास फेर्न गाह्रो हुने, डाम पार्ने, हृदयघात, धपेडी, घाममा अत्यधिक जलन हुने, पेट ढाडिने, विषाक्तपन, शिकार, जलवियोजन, थकावट, घाउचोट, पीडा, जुध्ने र अंगभंग हुने अवस्था सिर्जना भएमा त्यसलाई पशुप्रति असावधानी व्यवहार भएको ठहरिने प्रावधान छ ।

प्रवक्ता पौडेलले भारतबाट पशुहरु आयात गर्दा तिनलाई क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने व्यवस्था भएकाले पशुचौपायाको बीमा हुने गरे पनि आन्तरिकरुपमा भने बीमा हुन नसकेको बताए । नेपालमा मोटर बीमा र पशु बीमा फाट्टफुट्ट हुने गरे पनि यात्राको क्रममा छुट्टै बीमा हुन्छ भन्ने बारेमा सम्वन्धित पक्ष जानकार हुनुपर्ने उनले बताए । 

Advertisement

Advertisement