Advertisement

काठमाडौं । पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा भएको अनियमितताले नाटकीय मोड लिएको छ । जलहरीमा १० किलो सुन कम गरेर पित्तल राखिएको ठाउँमा अहिले सुन नै रहेको दावी गर्दै पशुपति विकास कोषका सदस्य सचिव मंगलबार एक कार्यक्रममा रोएका छन् । 

मंगलबार संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव मिलनकुमार थापाले  जलहरीमा दश किलो सुन कम नरहेको बताए । उनले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको भन्दै रोएर सहानुभूति बटुल्ने प्रयास गरेका छन् । 

Advertisement

तत्कालिन केपी ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी  निर्णय गरेको थियो । त्यस क्रममा लगाइएको नयाँ जलहरीमा १० किलो सुन गरेर पित्तल राखेको पाइएपछि महालेखापरीक्षकको कार्यालयले बेरुजू औंल्याएको थियो । 

तर आज थापाले भने पित्तल भनेको ठाउँमा सुन नै रहेको दावी गरे । पित्तल रहेको ठाउँमा कसरी एकाएक सुन आयो ? निकै रहस्यमय र अर्थपूर्ण देखिन्छ । यस विषयमा संसदमा एक साँसदले प्रश्न उठाएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद नै अवरोध गरेर विरोध जनाएको थियो । पछि सत्तारुढ गठवन्धनसँगको बैठकपछि सभामुख देवराज घिमिरेले जलहरीमा भएको अनियमिततासम्वन्धी विषय रेकर्डबाट हटाउने काम भएपछि एमाले खुशी भएको थियो । 

थापाको भनाईसँगै जलहरी प्रकरण भित्रभित्रै मिलाउने काम भएको सहजै अनुमान गर्न सकिन्छ । उनले आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै उनले गहँभरी आँशु झारे । 

थापाले आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पनि पोखे । उनको प्रश्न छ, ‘राज्यको नीति यहीं हो ?’ थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । 

यस प्रकरणमा थापा दोषी भए पनि नभए पनि जलहरी राख्ने क्रममा १० किलो सुन कम गरिएको कुरा तथ्यले पुष्टि गर्दछ । उनले यो प्रकरणमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको पनि हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राखे । 

थापाले भने, ‘राज्यको पनि कहिलेकाहीं मलाई लाग्छ– कान मात्रै हुँदोरहेछ । आँखा हुुँदोरहेनछ कि जस्तो लाग्छ । मैले यो क्षमासाथ भने । मलाई दुःख लाग्छ । जहाँसम्म यो सुनको जलहरीको कुरा हो । म एउटा आध्यात्म सेक्टरमा लागेको व्यक्ति । भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरि सदस्य सचिव बन्ने मौका पाएँ । मेरो प्रोफेशनल स्किल आफ्नै छ । र, मलाई धेरै जनाले सायद चिन्नु पनि हुन्छ होला । मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन् । खाँदिन । मेरो दुई वटा सन्तान छन् । र, धनी र गरिव मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति । मैले यति बुझेको छु । यो भन्दा धेरै बुझेको छैन् ।’ 

उनले थपे, ‘चाहे महलमा बसे पनि, छाप्रोमा बसे पनि काल त एउटै हो नि । कोही छिटो मर्छन । कोही अलि ढिलो मर्छन । त्यसले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्माहत्या गर्नुपर्ने हो ? म यो सुनको जलहरी समितिको संयोजक हो । यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौं– १०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो । राज्यका प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ?’ 

थापाले तत्कालिन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको निर्देशनअनुसार आफूहरुलाई शिवरात्री भरीमा जलहरी राख्ने काम सकाउनु भनिएको र आफूहरुले सकाएको सुनाउँदै भने, ‘नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने ? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्यूटीमा रहेको भिजियोल अहिले यदाकथा अनलाईनमा आईरहेको छ । सेनालाई विश्वास गर्ने कि नगर्ने ? यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिए यो विषयमा । हो, यो गलत भएको हो– त्यहाँ लेख्ने कुरामा त्रुटिपूर्ण भएको हो । म आयोगमा बयान दिन जाँदाखेरी पनि सबै जनाले बयानमा जोख्नुस, जोख्नुस भन्दाखेरी सबैको एकमत छ जोख्नुपर्छ भनेर । यति त्रुटिपूर्ण भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दैगर्दा हाम्रो सांसद नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनु भयो । ९६ किलो ८२२ ग्राम सुन तयार भईसकेको छ । दश केजी भएको छैन् भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो । दश केजी सुन शिवले पहिरिएर राख्नु भएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी होल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । आज मेरो गाउँभरी बेइज्जत भयो । अन्यथा नलिनु होला । म कमजोर होइन । तर राज्यले कमजोर बनायो । आयोगले छानविन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाउन । यो च्यालेन्ज हो । पुगेन पनि फाँसी देऊ भनेको । तर हाम्रा पत्रकार साथीहरुले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ । मेरा दुईटा बच्चा छन । मेरो बच्चाको भविष्य अन्धकार बनाई दिने ? राज्यको त्यही नीति हो ?’

जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने थापाले बताए । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दावी छ । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

Advertisement

Advertisement