राष्ट्रिय बीमा कम्पनीको अध्यक्ष भएर आउँदा लथालिंग थियो, कार्यकक्ष पनि थिएनः उपाध्याय

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले आफूले कम्पनीमा प्रवेश गर्दा आफ्नो कार्यकक्ष नै फेला नपारेको गुनासो गरेका छन् । 

कम्पनीको बुधबार सम्पन्न आर्थिक बर्ष २०७१–७२ को बार्षिक साधारणसभामा उनले केही महिनाअघि आउँदा कम्पनी लथालिङ्ग अवस्थामा रहेको बताए । तर आफू अरु अध्यक्ष जस्तो भाग्न नभई समस्या समाधान गर्न उभिएको उपाध्यायको भनाई छ । 

Advertisement

उनले आफूले काम सुरु गर्न सानो कोठा नै छनोट गरी कार्यकक्ष बनाएको बताए । आफ्नो कार्यकक्षको ठेगान लागेपछि आफूले कम्पनीका ठूला समस्या समाधान गर्न अर्थमन्त्रालयदेखि विभिन्न सचिवहरुकहाँ धाएको उपाध्यायको भनाई छ । 

उनले भने, ‘सबैभन्दा अचम्म त म अनि हाम्रो सीईओ शेखर बराल सर अर्थमन्त्रालय जाँदा मन्त्रालयका सचिवहरुले हामीलाई बीमाको मान्छे भनेर राम्रो नजरले हेरेनन् । सचिवहरुले बीमाको मान्छेलाई हेर्ने नजर नै राम्रो रहेनछ । लामो समयसम्म हिसाब किताब बिगारेकाले पनि त्यस्तो हुनसक्छ । अब चाहिं हामी त्यस्तो हुन दिन्नौं । पछिल्लो समय सबैसँग सम्बन्ध राम्रो हुँदै गएको अवस्थामा छ ।’ 

उपाध्यायले आफूहरु परिआए अब सरकारका कुनै पनि अंगमा गएर कुरा गर्न तयार रहेको बताए । राष्ट्रिय बीमा कम्पनीको विषय लिएर आफूहरु सिधै प्रधानमन्त्रीकोमा जान समेत नहिच्किचाउने उनले बताए ।

अध्यक्ष उपाध्यायले राष्ट्रिय बीमा कम्पनीमा बिग्रिएको कुराहरु गरेर मात्रै बस्ने भन्दा पनि अबको नयाँ बाटोको बारेमा सोच्नुपर्ने बताए । उनले कम्पनीमा अब शेयरधनीहरुकै राय सुझावअनुसार एक आर्थिक वर्षमा छलफल कार्यक्रमहरु पनि चलाउने बताए । सरकारले पनि बीमा कम्पनीलाई लाभांश वितरणमा रोक लगाउने, लगानीकर्ताको मनलाई निराश बनाउने जस्ता कार्य गर्न भन्दा पनि आवश्यक टिप्पणी दिएर सुधार गर्न जरुरी रहेको उपाध्यायले बताए । 

उनले अबको बीमा बजारमा बजारीकरणको ठूलो महत्व रहेकोले पनि सबै सरोकारवाला निकायहरु सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण र अन्य बौद्धिक व्यक्तित्वहरुले राष्ट्रिय बीमा कम्पनीको खेदो खन्ने भन्दा पनि रचनात्मक सुझाव दिएर यसलाई सुधारको गतिमा लग्नु पर्ने बताए । 

उपाध्यायले अब राष्ट्रिय बीमा कम्पनीले पनि इमान्दार कर्मचारीहरुको इमान्दार प्रयासलाई सधै उच्च स्थान दिने बताए । उनले विगतको जस्तो साधारणसभा नभएको कम्पनीको कर्मचारीहरु भनेर कसैले पनि मुख लुकाउनुपर्ने अवस्था सिर्जना नहुने विश्वास दिलाए ।

विगतमा फरफारक नभएका हिसाबका लागि  बलिया लेखापरीक्षकहरु खटाउने बताउँदै उनले यसअघिका अध्यक्ष, सीईओ जस्तो कामै छाडेर नभाग्ने प्रतिवद्धता जनाए । उपाध्यायले आफूहरुलाई होस्टेमा हैसे गर्ने साथ चाएिको बेलामा अनावश्यक टिप्पणीको पनि खासै अर्थ नहुने बताए । 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउन कम्पनीलाई ताकेता गरिरहेको बेलामा आगामी असार महिनाभित्रै पुँजी योजना बनउने अन्तिम तयारी भइरहेको उनले बताए । उपाध्यायले अब सरकारी कम्पनीले पनि निजी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न २६ शाखाबाट आफ्ना शाखा बिस्तारको योजना समेत अघि सार्ने बताए । 

तर, उक्त सिमित शाखाबाटै पनि अहिले अत्याधुनिक वित्तीय प्रणालीबाट सेवाको कार्य अघि बढिरहेको उनले सुनाए । प्राधिकरणको स्वीकृति बेगर आफूहरु अघि बढ्न नसक्ने भएकाले, सरकारी संस्थाको नाताले आफ्ना लेखापरीक्षकका पनि केही पद्धतीहरु सरकारी निकायबाटै छनोट गर्नुपर्दा कतिपय अवस्थामा लामो समय लाग्ने र प्रक्रिया झन्झटिलो हुने उपाध्यायले सुनाए । 

उनले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको जग्गा आफ्नो हुन नसकेको बेलामा उक्त जग्गाको लागि पनि तुरुन्तै पहल गर्ने बताए । साथै, आगामी पुस मसान्तसम्म आफ्ना बाँकी रहेका सबै साधारण सभा सम्पन्न गर्ने योजना निश्चित भइसकेकाले अब लगानीकर्ताहरुलाई लाभांशका लागि पनि विगतको जस्तो लामो समय कुर्नुनपर्ने उपाध्यायको दावी छ । 

Advertisement

Advertisement