फोन–पेमा प्राविधिक समस्या र सुरक्षा ‘थ्रेट’ बढेपछि बैंकहरुले आफ्नै स्विच प्रयोग गर्न थाले

Advertisement

काठमाडौं। प्रविधि कम्पनी एफवान सफ्टको प्रणालीसँग कनेक्ट गरेर कारोबार गर्दा सुरक्षा थ्रेट महशुस गर्दै बैंकहरुले उससँगको सम्झौता तोडेर आफ्नै प्रणालीबाट कारोबार गर्न प्रक्रिया अघि बढाउन थालेका छन् । 

एफवान सफ्टको ई–सेवा र फोन–पेलाई बैंकको सिस्टमसँग कनेक्ट गरेर अनलाइन बैंकिङ सुविधा दिँदै आएका बैंकहरुले प्राविधिक त्रुटीसँगै सुरक्षा थ्रेट समेत देखेपछि आफ्नै स्विच राख्ने प्रक्रिया थालेका छन् । 

Advertisement

एफवान सफ्टले हाल फोन–पेको माध्यमबाट अधिकांश बैंकहरुलाई प्रविधि बिक्री गरेको छ । सो प्रविधिले राम्ररी काम नगर्दा र सुरक्षा जोखिम पनि बढ्दा बैंकहरुले हैरानी खेप्नु परेको छ । एफवान सफ्टको भगिनी संस्था फोन–पेमा समस्या आउँदा आफ्नै स्विच राख्नुपर्ने बाध्यता सिर्जना भएको बैंकरहरुको गुनासो छ । 

अनामनगरको किम्ची रेस्टुरेन्टमा खाजा खान बसेका भक्तपुरका एक दम्पत्तिले एक हजार चार सय रुपियाँ बिलको भुक्तानी क्यूआर कोडबाट गरे । तर भुक्तानी सफल भएन् । यसपछि उनीहरुले एटिएमबाट झिकेर नगद नै भुक्तानी दिएर घर गए ।

तर एक दिनपछि भुक्तानीकर्ताको मोबाइलमा रकम काटिएको म्यासेज आयो । रकम फिर्ता माग्न उनी  हतारिँदै किम्ची रेष्टुरेन्टमा पुगे । तर रेष्टुरेन्टका एकान्टेन्टले चेक गर्ने भनेर आधा घण्टासम्म कुराएर राखे । 

बैंकलाई गाली गर्दै ती पीडितले कर्पोरेट नेपाललाई भने, ‘क्यूआरबाट पेमेन्ट भएन भनेर क्यास दिएर गएको, खाताबाट पनि फेरि काट्यो । काम छोडेर फेरि जानुपर्यो । सिस्टमले यसरी दुःख दिन थालेपछि कसरी कारोबार गर्ने ? कसरी विश्वास गर्ने ?’ 

यो एउटा प्रतिनिधि घटना मात्रै हो । विद्युतीय भुक्तानीमा यस्ता समस्या र झन्झट उपभोक्ताले धेरै व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । फोन–पे सुरु हुँदा उद्योगी व्यवसायीहरुले खुशी हुँदै ‘वि आर एसेप्ट क्यूआर पे’ राख्न थालेका थिए । तर समस्या बढ्न थालेपछि व्यवसायीले फोन–पेको क्यूआर सेवाको विकल्प खोज्न थालेका छन् । 

सम्झौता तोड्दै बैंकहरुः 
बैंकहरुले एफवान सफ्टसँग लिएका प्रविधिको सम्झौता रद्द गर्न सुरु गरेका छन् । एफवान सफ्टको फोन–पे प्रणालीले धोखा दिन थालेपछि बैंकहरु आफ्नै प्रणाली विकास गर्न थालेका हुन् । 

एनआईसी एशिया बैंकका एक उच्च व्यवस्थापकले फोन–पेको स्विचले गर्दा धेरै खालको समस्या आउन थालेको र सुरक्षाको कुरा पनि भएकाले ग्राहकहरुलाई आफ्नै स्विचमार्फ सेवा दिन लागेको बताए । 

यस्तै झन्झट र जोखिम महशुस गर्दै एनएमबी बैंकले यसअघि नै आफ्नो स्विच प्रयोगमा ल्याइसकेको छ । एनआइसी एशिया बैंकले स्विच खरिद गरिसकेको छ । एफवान सफ्टसँग कारोबार गर्दै आएका अरु बैंक वित्तीय संस्थाले पनि सुरक्षालाई दृष्टिगत गर्दै आफ्नै स्विच प्रयोगमा ल्याउने तयारी थालेका छन् । 

एफवान सफ्टको स्विच प्रयोग गर्दा बैंकका साथै ग्राहकहरुको समेत अधिकांश सूचना जाने गरेको देखेर पनि बैंकहरु शतर्क बनेका हुन् । यस्तो सूचनाको एफवान सफ्टका सञ्चालक र कर्मचारीहरुबाट दूरुपयोग हुनसक्ने र त्यसले बैंकप्रतिको विश्वसनीयतामा नै प्रश्न उठ्नसक्ने भएपछि सबै बैंकहरुले आफ्नै स्विच राखेर सेवा दिने प्रक्रियाको थालनी गरेका हुन् । 


यस विषयमा नेपाल बैंकर एशोसियशनमा समेत पटक पटक स्रोतले जानकारी दियो । छलफलमा अब सबैले आफ्नै प्रणाली विकास गर्दा राम्रो हुने धारणा राखेका थिए । सोहीअनुसार ग्लोबल आइएमई बैंक, नबिल बैंकलगायतले पनि आफ्नै प्रणाली राख्न प्रक्रिया सुरु गरिसकेका छन् । 

एक बैंकरले भने, ‘एफवान सफ्टको सिस्टम प्रयोग गर्दा दुई वटा घाटा छ बैंकलाई । पहिलो त सूचना कै कुरा भयो । अर्को गुणस्तर पनि कमजोर भयो । ग्राहकहरुबाट पनि बारम्बार धेरै गुनासोहरु आइरहेका छन् । आफ्नो सिस्टम भएपछि अरुलाई बैंकको इन्फरमेशन चोरेर दुरुपयोग गर्ला कि भन्ने पनि भएन् ।’

पछिल्लो समयमा फोन–पे प्रणालीको विषयमा बैंकका कर्मचारी र एफवान सफ्टका कर्मचारीबीच दैनिक विवाद हुने गरेको छ । फोन–पेमा गम्भीर समस्या आउँदा पनि नियामक नेपाल राष्ट्र बैंकले भने कुनै कुनै अनुगमन र निर्देशन दिएको छैन् । 

बजारमा एकाधिकार जस्तै कायम गर्न सफल भएको फोन–पेलाई बैंकहरुको कदमले ठूलो धक्का लाग्ने अवस्था सिर्जना भएको छ । एफवान सफ्ट समूहले राष्ट्र बैंकमार्फत बैंकहरुलाई दबाब दिएर आफ्नो प्रणाली प्रयोग गर्न बैंकहरुलाई बाध्य भएको थियो । प्रारम्भिक चरणमा सेवाग्राहीको पनि आकर्षण यसमा धेरै थियो । तर प्राविधिक समस्या र सुचनाको गोपनियताको जोखिम बढेसँगै बैंकहरु विकल्पको खोजीमा लागेका हुन् । एफवान सफ्टको प्रणाली प्रयोगवापत बैंकहरुले चर्को शुल्क पनि उसलाई तिर्दै आएका छन् । 

Advertisement