शैक्षिक मेला रोकेवापत १५ करोड क्षतिपूर्ति मागेको हिसानसँग महानगरले क्षतिको स्रोत माग्यो

Advertisement

काठमाडौं । उच्च माध्यमिक विद्यालयहरुको संगठनले शैक्षिक मेला रोकेको विरोधमा काठमाडौं महानगरपालिकासँग १५ करोड रुपियाँ क्षतिपूर्ति माग गरेको छ । 

यसअघि मेला आयोजना गर्न झण्डै एक करोड रुपियाँ खर्च भएको बताउँदै आएको हिसानले शैक्षिक मेला रोक्दा आफूहरुलाई १५ करोड रुपियाँ नोक्सान भएको भन्दै उक्त बराबरको क्षतिपूर्ति मागे पछि महानगरले उक्त १५ करोड रुपियाँको स्रोत मागेको छ । हिसानले उच्च अदालत पाटनमा क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । 

Advertisement

एसईई परीक्षाको नजिता नआउँदै हिसान एडु फेयर (शैक्षिक मेला)का नाममा विद्यार्थीहरुलाई भर्ना गरेर पैसा अशुल्ने लगायतका अवैध गतिविधि भएपछि महानगर प्रमुख बालेन शाहले मेला बन्द गराइदिएका थिए । मेला सुरु भएको पहिलो दिन जेठ ३२ गते नै बन्द गराइदिएपछि निजी क्षेत्रका उच्च माध्यमिक सञ्चालकहरु रुष्ट भएका थिए । उनीहरुले एसईईको नजिता नआउँदै धेरै विद्यार्थीहरु भर्ना गरेर गैरकानुनी कार्य गर्दै आएको पनि खुल्दै आएको छ । 

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले हिसानले मुद्दा दायर गरेसँगै हिसानसँग आफूहरुले १५ करोड रुपियाँको स्रोतको खोजी गरेको जानकारी दिए । उनले अवैध ढंगले सञ्चालित मेलामा पहिला एक करोड पनि खर्च नभएको ठाउँमा अहिले १५ करोड क्षति भयो भनेर क्षतिपूर्ति माग्ने कुरा बदनियतपूर्ण देखिएकाले क्षतिको स्रोत खाजेको बताए । 

कोइरालाले एसईईको नतिजा प्रकाशित नभईकन कलेजहरुले प्रतिस्पर्धाको नाममा सिधै विद्यार्थी भर्ना सुरु गर्ने होडबाजी गरेको बताए । उनले यसरी गैरकानुनी भर्ना गर्न तम्सिने कुनै पनि कलेजलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपियाँसम्म जरीवाना र दर्ता खारेजीसम्म कारबाही गर्नसक्ने चेतावनी दिए छ । 

यता हिसानले भने विद्यार्थीहरुको शैक्षिक हितका लागि मेला आयोजना गरेको जिकिर गर्दै मेलामा महानगरले हस्तक्षेप गरेर बन्द गराएको बताएका छ । 

Advertisement

Advertisement