काठमाडौं महानगरको नीतिले शहर सुन्दर बन्दै, तर न्युरोडका व्यापारी भने रुष्ट

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका विश्वकै प्रदुषित शहरमध्ये एकमा पर्दैआएको थियो । महानगरमा नयाँ राजनीतिक नेतृत्व आएपछि सुन्दर र सफा महानगर बनाउने अभियान चलिरहेको छ । 

महानगरपालिकाको मेयरमा बालेन शाह आएपछि उनले यस अभियानअन्तर्गत काठमाडौंका केही प्रमुख शहरहरुमा पुराना संरचनाहरु हटाएर नयाँ संरचना बनाउने, नयाँ डिजाइन र शैली निर्माण गर्ने, सजावट गर्ने काम गर्दै आएका छन् । उनले नयाँ सडक, वसन्तपुर, विशालबजारलगायतकै क्षेत्रको पनि रुप फेरेको यहाँका व्यापारीहरु बताउँछन् । तर तिनै व्यापारीहरुमध्ये केही भने बालेनको नीतिबाट सन्तुष्ट छैनन् । 

Advertisement

रुपेन्द्र क्षेष्ठले विगत ५० वर्षदेखि पश्मिनाको पुर्ख्यौली व्यवासाय गर्दै आएका छन् । उनले महानगरले फुटपाथ व्यवसाय हटाउन लगाएको कारण आफूहरुलाई व्यवसाय गर्न निकै कठिन भएको बताउँछन् । श्रेष्ठले  महानगरको निर्णय व्यापारीहरुको लागि खासै राम्रो नीति नभएको बताए । 

कोरोना महामारीपछि भर्खर बामे सर्न लागेको आफ्नो व्यापारमा केही सुधार होला भन्ने लागे पनि झनै महानगरले असहजता थपिदिएको बताए ।

त्यस्तै, विगत १५ वर्षदेखि घडी तथा चस्माको व्यवासाय गर्दै आएका  अमर कार्कीले पनि व्यापार नहुँदा पसल भाडा तिर्न मुस्किल भएको सुनाए । उनले महानगरले सडकमा बार बार्दा सुन्दरता थपे पनि ग्राहकहरुलाई पसल आउने निकै घुम्नु परेको तर्क गरे । महानगरले गर्दा आफ्ना ग्राहकहरु भड्किएको कार्कीले तर्क गरे । व्यापारीहरुले विभिन्न समस्या झेल्नुपरेको उनले गुनासो गरे । 

देवांश अग्रवालले विगत २५ वर्षदेखि न्युरोडमा कम्मेटिक सामग्री बेच्दै आएका छन् । तर, पछिल्लो समय थोक ग्राहकको संख्या घटेको भन्दै उनले कस्मेटिकमा खुद्रा बिक्री गर्न बाध्य भएको बताए । अग्रवालले कुनै दिन बोहनी गर्न समेत हम्मेहम्मे हुने गरेको अनुभव सुनाए । महानगरले लगाएको बारकै कारण आफ्नो व्यापार घटेको उनको गुनासो छ । 

विगत २९ वर्षदेखि सुट तथा कोटा सिलाएर बिक्री गर्दै आएका राजु खड्काले महानगरको नयाँ नीतिले आफूहरुलाई व्यवसाय गर्न  केही कठीन भएको बताए । उनले महानगरले नयाँ कार्ययोजना ल्याउनु ठिक भए पनि अरुलाई असर नपर्ने गरी मात्र ल्याउनुपर्ने बताए । 

खड्काले शहरमा सुन्दरता भएको पक्कै पनि राम्रो भए पनि सवारी साधन राख्न पार्किङ स्थलको अभाव हुनु व्यापारी र ग्राहक दुवैलाई ठूलो बाधाको विषय बनेको बताए । 

आयुष रौनियारले न्यूरोडमा विगत चार वर्षदेखि कुर्था सुरुवालको व्यवासाय गर्दै आएका छन् । उनले महानगरले लगाएको बारबाट व्यापार गर्न निकै सकस भएको प्रतिक्रिया दिए । रौनियारले दिउसो एक समयमा मात्रै राम्रो व्यापार हुने भए पनि साँझपख मान्छेले मान्छे थिच्चे जस्तो  भिड्भाड हुने गरेको बताए । 

रौनियारले आर्थिक मन्दीको ठूलो र प्रत्यक्ष मार खेप्नु परेको बताउँदै महानगरले कडाई गर्दा झन ठूलो मार परेको बताए । 

Advertisement

Advertisement