भन्सार एजेन्टहरुद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना, कारण– एजेन्टको व्यवस्था खारेज

Advertisement

काठमाडौं । भन्सार एजेन्ट दुई दिनदेखि भन्सार विभागमा धर्नामा  छन् । भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा आयोजित धर्ना आईतवारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि सुरु भएको हो । 

संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाइ राज्यले उचित व्यव्स्थापन गर्नु पर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए । 

Advertisement

देशभर कार्यरत तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गरेका हुन् । भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा तीनसय जनाको रोजगारी खोसिएको बताए । 

उनले तीन सय जनाको रोजगारीको ग्यारेण्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको बताए । कार्कीले आन्दोलनमा व्यवसायी संस्थाहरु सबैको साथ सहयोग रहेको बताए । उनले सरकारले आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । 

धर्नामा मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक भन्सार एजेन्टका रुपमा काम गर्ने पाउने व्यवस्था खारेज गरेको बताए । उनले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेर सरकारले तीन सय जनालाई सडकमा ल्याएको बताए । त्यस्तै धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद्का अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारी माथि लात हानेको बताए । 

उनले २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएको बताए । भन्सार प्रतिनिधिहरुले पटक पटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाई गर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । 

राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरुले कामकाज गर्नबाट बञ्चित भएको बताए । धर्नामा हाम्रो रोजगारीको सुनिश्चित गर, संविधान प्रदत्त अधिकार कायम गर्,हान्यो वाण प्रतिनिधि जत्थामा, अन्धो सरकार बस्या छ सत्तामा, विभेदकारी ऐन संशोधन गर् भन्ने नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।  
 

Advertisement

Advertisement